सामान्य प्रशासनमन्त्री माेदीले विराटनगर पुगेर भने- किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ

हिमाल प्रेस ९ साउन २०८० १९:१६
4
SHARES
सामान्य प्रशासनमन्त्री माेदीले विराटनगर पुगेर भने- किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ फाइल तस्बिर।

विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन्। मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने बताए।

सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए। सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको पनि उनले बताए। कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए। कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले किसानलाई पर्याप्त सिँचाइको व्यवस्था गर्न आवश्यक भएको उल्लेख गर्दै नहरमा पानीको व्यवस्था गर्न माग गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कृष्णप्रसाद नेपालले पाँच दशक अघि बनेको यो नहरको संरचनालाई बलियो बनाउन अध्ययन भएको र केही समयभित्रै सुनसरीको सुनसरी खोला र मोरङको लोहन्द्रा खोलाको पानी नहरमा हाल्ने योजना रहेको जानकारी दिए। सुनसरी मोरङ सिँचाइ आयोजनाका निर्देशक भीलानन्द यादवले सन् १९७० मा बनेको उक्त नहरबाट सुनसरीमा ४० हजार हेक्टर र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगिरहेको अवस्थामा यो नहरलाई व्यवस्थित तथा बलियो बनाउन अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेकाे उनले औँल्याए।

जल उपभोक्ता केन्द्रीय समन्वय समिति चतरा मूल नहर सुनसरी मोरङ सिँचाइ आयोजनाका अध्यक्ष तपन दासले किसानको जीवनस्तर बढाउन नहरमा बाह्रै महिना पानी सञ्चालन हुनुपर्ने जिकिर गर्दै नहरलाई व्यवस्थित बनाउन सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने धारणा राखे।

बेलबारी नगरपालिकाका प्रमुख दीलबहादुर राईले नहर र पुल भत्किँदा यहाँ धेरै नागरिकले दुःख पाएको उल्लेख गर्दै निर्माणमा ढिलासुस्ती गर्न नहुने बताए। सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमी सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो।

बाढीले पुल बगाएपछि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन। यातायातका लागि महत्त्वपूर्ण मानिएको सो पुल भएर सवारीसाधन आवागमनमा समस्या भएको थियो।

साइफन र पुलसँगसँगै निर्माण गर्न सुनसरी मोरङ सिँचाइ आयोजनाले ३४ करोड २४ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। उक्त पुलको लम्बाई १५३.३० मिटर र चौडाई साढे सात मिटर तथा साइफनको लम्बाई १९४ मिटर रहेको आयोजनाका डिभिजनल इञ्जीनीयर राजेशभक्त पोखरेलले बताए। रासस

प्रकाशित: ९ साउन २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =