
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले भ्रष्टाचार फाइल कांग्रेसकै तागतले खोलेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार सम्बोधन गर्दैै शर्माले भने, ‘सरकारले फाइल खोल्दै गर्दा तागत दिने र सशक्तीकरण गर्ने काम हामीले गरेका हौँ।’
उनले भ्रष्टाचार आरोपमा कुनै नेताहरू पर्नु स्वाभाविकै रहेको बताए। उनले भने, ‘कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने त हुँदैन। हामीले बनाएको कानुनमा हाम्रै नेताहरू पर्नुभयो भने हामीले कानुन कमजोर बनाउन खोजेनौँ भनेर बुझ्नुपर्छ।
महामन्त्री शर्माले कांग्रेसले गरेको कर्म जनतामाझ बुझाउन सक्नुपर्ने बताए। उनले पार्टी बैठकमा आलोचनाका विषय थुप्रै आएकाले महामन्त्रीमध्ये आफू जेठो भएकाले केही भन्नैपर्ने बताए।
उनले महामन्त्रीले सभापतिलाई गाली गरे भन्ने शब्दावली आएको भन्दै गुनासो गरे। शर्माले भने, ‘गाली र आलोचनाको पृष्ठभूमि बुझ्नुपर्छ। आलोचना र गालीको बीचमा फरक हुन्छ।’ यस्तै शर्माले साथीहरूले केन्द्रीय सदस्यमा मनोनयन गरौँ भन्ने गरेको तर सभापतिले केही नभन्ने गरेको बताए।