विश्वप्रकाशको प्रश्न : देशका बारेमा चिन्ता गर्ने कहिले?

हिमाल प्रेस ८ साउन २०८० १६:४२
10
SHARES
विश्वप्रकाशको प्रश्न : देशका बारेमा चिन्ता गर्ने कहिले? नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०९४ सालमा देश कस्तो बनाउने भनेर मिसन बनाउनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा आइतबार जबाफ दिँदै उनले २०८४ को चुनाव जित्ने मिसन बनाउनुभन्दा २०९४ सम्म देश कस्तो बनाउने भनेर मिसन बनाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘चुनावका बारेमा मात्रै चिन्ता गर्ने हो भने देशको विषयमा कहिले चिन्ता? चुनाव जित्नका लागि मिसन ८४ हैन २०९४ सालमा कस्तो देश बनाउने भनेर मिसन बनाउनुपर्छ।’

उनले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संसद्‌मै छलफल भएजसरी विभिन्न विषयमा छलफल भएको बताए। उनले भने, ‘बैठकमा मधेश, कर्णाली, कृषिको मुद्दा उठेको छ। सामुदायिक विद्यालयको कुरा उठेको छ। सहकारीका समस्या र व्यवसायीले भोगेको चर्को ब्याजदरबारे पनि कुरा भएको छ।’

यस्तै युवा रोजगारी, निजी क्षेत्रको कुरा, सुशासनको खोजीको कुरा, स्वास्थ्यको कुरा पनि बैठकमा उठेको उनले बताए। यी सबै समस्यामा सरकारलाई ध्यानाकर्षण गराउने काम भएको शर्माले बताए।

महामन्त्री शर्माले भने, ‘यो बैठक सक्दै गर्दा मिसन ०८४ को घोषणा गर्नेछैन। कतिपय दलले गरेका छन्। ०८४ मा सात सालमा जस्तो कुनै परिवर्तन हुनेछैन, २०४६ वा २०६२/६३ मा जस्तो पनि केही हुने छैन।’

यस्तै संविधान लेख्न कांग्रेसको नेतृत्वमा सफलता भएजस्तै २०८४ सालमा केही पनि नहुने उनको भनाइ छ। उनले भने, ‘चुनवाका बारेमा छलफल गर्नैपरे ०८३ मा गरौँला।’

प्रत्यक्ष प्रसारणको प्रभाव अन्य दलमा पनि पर्छ

महामन्त्री शर्माले बैठकमा केन्द्रीय कार्य समितिमात्रै सहभागी नभएर लाइभमार्फत धेरै जोडिएको बताए। उनले भने, ‘जजसले निरन्तर हेरिरहनुभएको छ। त्यसका लागि सम्मान व्यक्त गर्दछु।’

केही साथीहरूलाई लाइभ गर्दा मनको कुरा गर्न नपाइने भन्ने लागेको बताउँदै शर्माले भने, ‘कुनै पनि दल कार्यकर्ताको मात्रै हुँदैन। सबैको हुन्छ। त्यसैले कांग्रेस जस्तो छ जे छ फूलबुट्टा नभरी लाइभ देखाइदिएको छ।’

बैठक लाइभ हुँदै गर्दा सभापतिका, महामन्त्रीका, पदाधिकारीका कमजोरी यस्ता, एउटाले अर्कामाथि प्रहार भए भनेर समाचार गएको शर्माले बताए। उनले भने, ‘मिडियाकर्मी साथीहरूले लेख्न छुटेका कुराहरू भिडियो हेरेर  फेरि सुनेर लेख्न सक्नुहुनेछ।’ शर्माले पार्टी बैठकको प्रत्यक्ष प्रसारणको प्रभाव अन्य पार्टीमा पनि पर्ने बताए। उनले भने, ‘कांग्रेसमा जस्तै प्रहार गर्ने र प्रश्न गर्ने क्षमता अरूमा कहाँकहाँ छ भन्ने देखिन्छ अब।’

प्रकाशित: ८ साउन २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast