
काठमाडौँ– नेपाली कांग्रेका नेता विमलेन्द्र निधिले कांग्रेसको एजेन्डा ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न जनताको जीवनस्तर रूपान्तरणमा केन्द्रित हुनुपर्ने बताएका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार सम्बोधन गर्दै निधिले भने, ‘सबै वडा र टोलमा बसोबास गर्ने विपन्न जनता, महिला, मजदुर, किसान, युवा जीवनस्तरमा कसरी रूपान्तरण कसरी ल्याउने, त्यो एजेन्डामा बहस गरौँ।’
उनले त्यो एजेन्डाबाट नै पार्टीको पनि रूपान्तरण हुन सक्ने बताए। उनले भने, ‘अब सबैको ध्यान त्यता जानुपर्छ। नेपाली जनताको भरोसा नेपाली कांग्रेसमै छ। अनुहार फेर्नु, नाउँ फेर्नु, पद फेर्नुले मात्रै रुपान्तरणको लक्ष्य पूरा हुन सक्दैन। दृष्टिकोणमा परिवर्तन हुनुपर्छ।’
यस्तै रूपान्तरणको एजेन्डा राजनीतिलाई सामाजिकीकरण कसरी गर्ने भन्ने हुनुपर्ने उनले बताए। निधिले भने, ‘तीनै तहमा रुपान्तरणका काम धेरै गर्न बाँकी छन्। यसका लागि नेपाली कांग्रेसलाई तयार पारौँ। नीति महाधिवेशन गरौँ।’ निधिले अहिलेसम्म जेजति राजनीतिक उपलब्धि प्राप्त भए ती सबै कांग्रेस नेतृत्वमा भएका रूपान्तरणका स्वर्णिम उपलब्धि रहेको बताए। क्रान्ति र परिवर्तन अहिंसात्मक आन्दोलनबाट मात्र सम्भव हुन्छ भन्ने प्रमाणित कांग्रेसले नै गरेको दाबी उनको छ।
नेता निधिले राजनीतिलाई समाजिकीकरण गर्नुपर्नेमा पनि जोड दिए। उनले भने, ‘देश र जनताका काम गर्न जिम्मेवारी सरकारलाई मात्र दिने हो भने राजनीतिको सामाजिकीकरण हुन सक्दैन।’ केही महत्त्वपूर्ण, आधारभूत र न्यूनतम काम मात्रै राज्यले गर्नुपर्ने बाँकी काम समाजले गर्नुपर्ने उनले बताए। त्यस्तो कामको अगुवाइ कांग्रेसले नै गर्नुपर्ने उनको प्रस्ताव छ।
निधिले पाँच वर्षसम्म वर्तमान गठबन्धन कायमै राख्नुपर्ने बताए। उनले भने, ‘त्यसपछि हुने तीनै तहको चुनावमा कांग्रेसलाई जिताउन अहिलेदेखि नै लागौँ।’ यसबीचमा प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने उनको भनाइ छ।