स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्छौं : मन्त्री ज्वाला

हिमाल प्रेस ७ साउन २०८० ११:५४
6
SHARES
स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्छौं : मन्त्री ज्वाला

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधनको स्मार्ट लाइसेन्ससम्बन्धी समस्या चाँडै समाधान गर्ने बताएका छन्।

काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधनमा ड्रेस तथा परिचय पत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

स्मार्ट लाइसेन्स कार्ड छपाइमा हाल प्राविधिक कारणले ढिलाइ भइरहेको भन्दै उनले अब यस्तो समस्या धेरै दिन नरहने जनाए।

स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको पनि उनले जानकारी दिए।

यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको उनले उल्लेख गरे।

सार्वजनिक यातायातमा ड्रेस तथा परिचय पत्र वितरण र सरसफाई अभियान सुरु हुनु सार्वजनिय यातायातका क्षेत्रमा महत्त्वपूर्ण कदम भएको उनले बताए।

चालक, सहचालकहरूले राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुसी हुने भन्दै उनले यात्रुहरूलाई सेवा दिनु नै सार्वजनिक यातयातको पहिलो काम भएको उल्लेख गरे।

‘लाइसेन्स स्मार्टकार्डबारे धेरै गुनासाहरू छन्। हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौं,’ उनले भने।

चालक, सहचालकहरूको बोलीका कारण पनि कतिपय यात्रुहरूले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए।

यस्तै इम्बोस्ड नम्बर प्लेट जडानमा पनि बेवास्ता गर्नु नहुने बताउँदै उनले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =