सुर्खेत- वीरेन्द्रनगर-१ का विष्णु थानीले वषौँदेखि खसीबाख्रा पालन गर्दै आएका छन्। २०७७ मंसिरमा ३० वटा खसीबाट व्यवसाय थालेका उनको खोरमा अहिले ९७ वटा खसीबाख्रा छन्।
केही समयअघि बिक्री गर्नलायक खसीबाख्रा बेचेर फेरि थप गरेको उनले बताए। वार्षिक सात लाख रुपैयाँभन्दा बढीका खसीबाख्रा बेच्दै आएको उनी बताउँछन्।
‘पहिले कृषि र माछापालन पनि गर्थेँ,’ दीपमाला पशु फार्मका सञ्चालक थानी भन्छन्, ‘अहिले खसीबाख्रा पालेरै सन्तुष्टि मिलेको छ।’ मेहनत र दुःख गर्न सके स्वदेशमै बसेर लाखौँ कमाउन सकिने उनको भनाइ छ। उनले आधिकारिक रूपमा फर्म दर्ता गरेर यो व्यवसाय सञ्चालन गर्दै आएका हुन्।
उनले पालेका खसीबाख्रा सुर्खेत, वीरेन्द्रनगर बजार र पश्चिम क्षेत्रमा बिक्री हुन्छन्। बजारमा खसी काटेर बेच्नेहरूले उनकै खोरबाट खरिद गर्दै आएको थानीले बताए। ‘व्यवसायमा समस्या नभएको होइन,’ उनी भन्छन्, ‘कतिपय औषधि बाहिरबाट ल्याउनुपर्दा अलि महँगो पर्छ। घाटा पनि हुने गर्छ।’
पछिल्लो समय कर्णाली प्रदेश खसीबाख्रामा आत्मनिर्भर बन्दै गएको कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयका अधिकारीहरूले जानकारी दिए। केही समयअघिसम्म बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने खसीबाख्रा अहिले निर्यात हुन थालेको छ। कर्णालीका तीनवटा नाका सल्यानको कपुरकोट, हर्रे र जामु कुइनेबाट निर्यात गरिन्छ।
कर्णालीबाट वार्षिक रूपमा दुई लाखभन्दा बढी खसीब्राखा अन्य जिल्लामा निर्यात हुने गरेको पशुपक्षी निर्देशनालयका निमित्त प्रमुख मोहन गिरीले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै काठमाडौँ, पोखरा र बुटवलमा खसीबाख्रा निर्यात हुन्छन्। खसीबाख्रामात्रै होइन अहिले कर्णालीबाट गाईभैँसीको दूध पनि बाहिरी जिल्लामा पठाउन थालिएको छ।
खसीबाख्रा र दूधमा आत्मनिर्भर कर्णाली कुखुरा र अण्डामा भने कमजोर छ। अहिले कर्णालीमा अन्य जिल्लाबाट वार्षिक रूपमा कुखुराको चल्ला २० देखि २५ लाखको आयात हुने गरेको तथ्यांक छ। कर्णालीमा १० प्रतिशतमात्रै अण्डा उत्पादन हुन्छ बाँकी ९० प्रतिशत अन्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको गिरी बताउँछन्।
पालिका आफैँले खरिद गरेर वितरण
कालीकोटको रास्कोट नगरपालिका आफैँले खसीबाख्रा किनेर किसानलाई सहुलियतमा उपलब्ध गराउँदै आएको छ। संघीय सरकारको वित्तीय सःसर्त अनुदानअनुसार मासु उत्पादनका लागि बाख्रा अनुदान कार्यक्रमअन्तर्गत १५ लाख पचास हजार रुपैयाँको बाख्रा खरिद गरिएको रास्कोट नगरपालिका पशुसेवा कार्यालयका शाखा प्रमुख कुलप्रसाद न्यौपानेले जानकारी दिए। यस्तै प्रधानमन्त्री कृषि अनुदान परियोजनाअन्तर्गत २ लाख गरेर १७ लाख ५० हजारको बाख्रा खरिद गरिएको छ।
उनले दीपमाला पशुपन्छी स्रोत केन्द्रसँग समन्वय गरेर कर्णाली सरकारले निर्धारण गरेको मूल्यअनुसार बाख्रा प्रतिगोटाको १५ सय रुपैयाँ र बोकाखसी प्रतिगोटा २५ सय रुपैयाँमा खरिद गरेका हुन्। ती खसीबाख्रा तत्काल किसानलाई उपलब्ध गराइनेछ। नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन खसीबाख्रा सहुलियत अनुदानमा वितरण गरिएको हो।
भुइँघाँस, डाले घाँस, कोसे घाँस र अंकुसे घाँस मिलाएर खान दिएमा बाख्रा छिटो वृद्धि हुने गरेको दीपमाला पशु फार्मका सञ्चालक विष्णु थानीले बताए। उनले भने, ‘खोर व्यवस्थापन, बजार व्यवस्थापनका साथै औषधि उपचारमा ध्यान दिएर काम गरेमा बाख्राबाट छिट्टै आन्दानी हुन्छ।’
पशुपक्षी चिकित्सक डा. नाराणप्रसाद न्यौपाने बोयर जातका बाख्राका पाठापाठीको विकास राम्रो भएको बताए। उनले भने, ‘किसानले यो बाख्रामा लगानी गरिरहनुभएको छ। प्रतिफल पनि राम्रै पाइरहेको देखिन्छ।’ उनका अनुसार प्रदेशका सबै पालिकाका पशु चिकित्सक हुने हो भने थप उत्पादन बढ्नेछ।
भेडाच्यांग्रा निर्यातमा समस्या
कर्णालीको हिमाली जिल्लामा भेडाच्यांग्रा भने प्रशस्त हुन्छ। हिमालमा जडीबुटी खाएर हुर्किएका भेडाच्यांग्राको मासु खाँदा औषधिको काम गर्ने विश्वास छ। भेडाच्यांग्रा निर्यातमा भने समस्या देखिएको छ। माग बढी भए पनि बाटोको समस्याका कारणले निर्यातमा अप्ठ्यारो भएको स्थानीय बताउँछन्।
वार्षिक रूपमा दुई हजारजति भेडाच्यांग्रा जुम्ला, मुगु र डोल्पाबाट निर्यात हुन्छन्। त्यस्तै रुकुम पश्चिम र जाजरकोटबाट पनि केही मात्रामा भेडाच्यांग्रा बाहिरी जिल्लामा निर्यात हुँदै आएको विभागको तथ्यांक छ।