प्रदेश अस्पताल कालागाउँमा दोस्रो पटक मृगौला प्रत्यारोपण सम्पन्‍न

हिमाल प्रेस २९ असार २०८० १२:१६
10
SHARES
प्रदेश अस्पताल कालागाउँमा दोस्रो पटक मृगौला प्रत्यारोपण सम्पन्‍न

सुर्खेत– प्रदेश अस्पताल कालागाउँमा दोस्रो पटक मृगौला प्रत्यारोपण बिहीबार साँझ सम्पन्न भएको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रमअन्तर्गत अस्पतालको तर्फबाट डा. डम्बर खड्का र केन्द्रको तर्फबाट डा.पुकारचन्द्र श्रेष्ठले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गर्नका लागि ०७८ चैत्र १० गते गर्न भएको सम्झौताबमोजिम यस अस्पतालमा ०७९ माघ २१ गते पहिलो प्रत्यारोपण सेवा सुरु गरिएको थियो।

प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा सञ्‍चालन गर्ने योजनाअनुरूप सम्पूर्ण कानुनी तथा व्यवस्थापकिय प्रक्रिया पुरा गरेपश्चात ०८० असार २८ गते दोस्रो पटक रोल्पा नगरपालिका वडा २ निवासी ४४ वर्षिय आमाले ३७ बर्षिय छोरालाई मृगौला दान गरेकी थिइन्।

‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र अस्पतालका निर्देशक डा.डम्बर खड्काको टिमद्वारा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको छ,’ प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले भने।

मृगौला प्रत्यारोपण कार्यमा चिकित्सकहरू, ओ.टी इन्चार्ज तथा ओटी. र आईसीयु.मा कार्यरत नर्सिङ कर्मचारीहरू साथै प्रयोगशालाकर्मीलगायत कर्मचारीहरू सम्लग्न रहेका थिए।

आगामी दिनहरूमा प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा सञ्‍चालन गर्ने योजना रहेको छ।

त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा नियमित सेवा सुरु गर्न प्राविधिक सहयोग गरेको छ र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले पश्चिम नेपालको इतिहासमै दोस्रोपटक मृगौला प्रत्यारोपण सम्पन्न भएको बताए।

‘अब पश्चिम नेपालका मृगौला रोगिले काठमाडौँ धाउने दिन अन्त्य भएको छ।’ उनले भने, ‘अब नियमित रूपमा मृगौला प्रत्यारोपण हुन्छ। अस्पतालका संरचना उत्तम छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =