कक्षा ११ मा भर्ना पाउनै मुस्किल छ ज्ञानोदयमा

हिमाल प्रेस २६ असार २०८० १६:१४
676
SHARES
कक्षा ११ मा भर्ना पाउनै मुस्किल छ ज्ञानोदयमा २०७९ सालको एसईईमा सहभागी विद्यार्थीलाई मंगलबार सम्मान गरेपछि सामूहिक तस्बिर खिचाउँदै शिक्षक र विद्यार्थी। तस्बिर :  हिमाल प्रेस

काठमाडौँ- काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा ११ कक्षा पढ्न विद्यार्थीको भीड बढेको छ। प्रवेश परीक्षाको पहिलो दिन मंगलबार एक हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्।

विद्यालयले २९ गतेसम्म फाराम भर्ने र प्रवेश परीक्षा लिने कार्यतालिका बनाएको छ। सोहीअनुसार मंगलबार कक्षा ११ मा भर्नाका लागि एक हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले जानकारी दिए।

विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन र कानुन विषयमा पढाइ हुन्छ। सबैमा गरी बढीमा सात सय विद्यार्थीको क्षमता भए पनि प्रवेश परीक्षामा सहभागी विद्यार्थी संख्या अत्यधिक रहने संकेत देखिएको विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेका शिक्षक प्रतिनिधि प्रकाश काफ्ले बताउँछन्।

उनका अनुसार विद्यालयले दिनहुँ प्रवेश परीक्षा लिने व्यवस्था मिलाएको छ। विद्यार्थी भर्नामा विषयअनुसार एसईईमा प्राप्त ग्रेड र प्रवेश परीक्षालाई आधार बनाइनेछ। निकै चाप भएकाले प्रवेश परीक्षामा प्राप्त प्राप्तांकका आधारमा भर्ना लिइने प्रधानाध्यापक महर्जन बताउँछन्।

विद्यालयमा भौतिक सुविधा, गुणस्तरीय शिक्षण सिकाइ र कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्ययममा पढाइ हुने गरेका कारण विद्यार्थीको आकर्षण बढेको हो। यस्तै उत्कृष्ट नतिजाले पनि ज्ञानोदय धेरैको रोजाइमा पर्ने गरेको छ। विद्यालयबाट यस वर्ष पाँच सय विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन्।

यसपटक केही सिट संख्या बढाइएको छ। कक्षा ११ मा सात सय विद्यार्थीले भर्ना गरे पनि एक सय जतिले बिचैमा छाड्ने गरेका छन्। यसरी विद्यालय छाड्नेमा विभिन्न कामले राजधानीबाहिर जाने र केही  वैदेशिक रोजगारीमा जानेसमेत छन्।

अत्याधुनिक आईसीटी ल्याब, आकर्षक विज्ञान प्रयोगशाला, होटल व्यवस्थापन ल्याब , करिब १५ वटा कोठामा प्रोजेक्टरको व्यवस्था छ। प्रधानाध्यापक महर्जन भन्छन्, ‘केही कक्षामा स्मार्ट बोर्ड जडान गरिएको छ। आगामी दिनमा सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने योजना छ।’

लगनशील विषय शिक्षक, चुस्त प्रशासन, राम्रो अभिभावकत्व दिन सक्ने व्यवस्थापन समिति र कुशल प्रधानाध्यापकको समन्वयका कारण विद्यालयले तीन दशकदेखि लोभलाग्दो नतिजा प्राप्त गर्दै आएको पूर्व प्रधानाध्यापक धनञ्जय अधिकारी बताउँछन्।। उनी भन्छन्, ‘सोही कारण विद्यार्थी भर्नाको चाप बढिरहेको छ। विद्यालयलाई थेग्न कठिन भइरहेको छ।’

४ जीपीए ल्याउने दुई छात्रालाई नगद पुरस्कार

विद्यालयबाट २०७९ सालको एसईईमा जीपीए ४ ल्याउने दुई विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ। विद्यालयमा मंगलबार  आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने आयुषाआचार्य र सलिना श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको हो। उनीहरूलाई कामपा जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख सीताराम कोइरालाले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन्।

यस्तै एसईईमा सअभागी चार सयभन्दा बढी विद्यार्थीलाई व्यवस्थापन समितिका पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए।

२०२० सालमा स्थापना भएको ज्ञानोदय तीन पटकसम्म सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट भएर राष्ट्रिय सिल्ड र क्षेत्रीय सिल्ड प्राप्त गरेको छ।

यसैगरी कक्षा १२ मा विज्ञान संकायबाट प्रदेशमा उत्कृष्ट नतिजा ल्याएका कराण सम्मानित भएको छ। विद्यालयले उत्कृष्ट महानगर पुरस्कार र ब्रिटिस काउन्सिलबाट एसए पुरस्कार पनि पाएको विज्ञान विषय इन्चार्ज प्रेम खड्काले बताए। व्यवस्थापन संयोजक विष्णुप्रसाद ज्ञवालीले व्यवस्थापन संकायमा धेरै विद्यार्थीले भर्ना चाहे पनि सीमित कोटा भएकाले भर्ना छनोटमा कठिनाइ भइरहेको बताए।

निरन्तर उत्कृष्ट ज्ञानोदय

प्रकाशित: २६ असार २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast