सीप सिकाउने युट्युब

हिमाल प्रेस २६ असार २०८० ११:१४
10
SHARES
सीप सिकाउने युट्युब

कैलाली- कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन्। महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन्। टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन्।

पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी हुन्।

‘मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु’, उनले भनिन् ‘मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु। मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु।’

सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा कार्यरत छिन्। साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको उनको भनाइ छ।

पुष्पाले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गरेकी छन्। मानिसले बढी खर्च गर्ने भनेकै लाउन र खानमा हो।

नयाँ डिजाइनका पहिरन लगाउन, मीठो खान सबैलाई मनपर्छ। मानिस खानाका विभिन्न परिकार खान्छन्, लगाउने लुगाकपडा तथा गहना, चुरापोतेजस्ता सामान पनि नयाँ फेसनका मन पराउँछन्।

विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपर्थ्यो। तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो। तर पछिल्लो समय परिस्थिति बदलिएको छ। इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरहेका छन्।

टीकापुरकै कृष्णा भण्डारीले केही वर्षअघि केही गरौँ भनी धनगढीमा गएर १० दिन पोते बुन्ने तालिम लिइन्।

‘तालिमपछि मैले पोते बुनेर यहाँकै पसलमा बिक्री गर्न थालेँ, खपत राम्रै हुन थाल्यो’, कृष्णाले भनिन्, ‘केही वर्षअघि सिकेको फेसन आजभोलि चल्दैन, त्यसैले नयाँ डिजाइनका पोते बुन्नुपरेमा टिकटक र युट्युब हेर्ने गरेकी छु।’

सामाजिक सञ्जालको प्रयोगका फाइदा–बेफाइदा दुवै छन्। सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ। चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन्।

मोबाइलको गलत प्रयोग गर्दा दुःख पाएका, समय बर्बाद गरेका पनि धेरै छन्। कुनै पनि प्रविधि वा मोबाइल चलाउँदा आफूलाई चाहिने कुरामात्र हेर्नु आवश्यक छ।

शिक्षक अमर चौधरी इन्टरनेटमा मानिसलाई आवश्यक कुरा हेर्ने र सिक्ने गरेमा जीवनलाई व्यवसायी बन्न सघाउने बताउँछन्।

प्रकाशित: २६ असार २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =