१०३ वर्षअघि यसरी अन्त्य भयो सती प्रथा

सन्तोष खडेरी २५ असार २०८० १९:०६
2.0k
SHARES
१०३ वर्षअघि यसरी अन्त्य भयो सती प्रथा नेपालमा सती प्रथा अन्त्यबारे बेलायतको प्रसिद्ध टाइम्स पत्रिकामा सन् १९२० जुलाई २७ को अंकमा प्रकाशित समाचार अंश र श्री ३ चन्द्रशमशेर। तस्बिर : मदन पुरस्कार पुस्तकालय

आज २५ असार ‘सती प्रथा’ अन्त्य गरिएको दिन। वि.सं. १९७७ सम्म नेपालमा ‘सती प्रथा’ कायमै थियो। पतिको मृत्यु हुँदा जीवित पत्नी दिवंगत पतिसँगै चितामा जल्नुपर्ने त्यो कुप्रथालाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले १०३ वर्षअगाडि आजैका दिन अन्त्य गरेका थिए।

सती प्रथा एकैपटक अन्त्य भएको भने होइन। त्यसका लागि चन्द्रशमशेरका पूर्ववर्ती प्रधानमन्त्रीहरू रणोद्वीप सिंह, वीरशमशेर, जंगबहादुर राणाले आआफ्नो कार्यकालमा केही न केही पहल गरेका थिए। चन्द्रशमशेरको पालामा आएरमात्र त्यसले सार्थक रूप लिएको हो। उनी ऐन नै बनाएर सती प्रथा अन्त्य गर्न सफल भएका थिए।

जहानियाँ राणा शासनका संस्थापक जंगबहादुर श्री ३ महाराज हुनुअघि नै सती प्रथाविरोधी थिए। माथवरसिंह थापाको पालामा जंगबहादुर राणाका दाइ नाता पर्ने देवीबहादुरलाई कुनै अभियोगमा भारदारी सभाले मृत्युदण्ड दिएको थियो।

जंगबहादुरले देवीबहादुरको प्राणहरण हुनबाट जोगाउन प्रधानमन्त्री माथवरसिंहसमक्ष हरसम्भव प्रयास गरेका थिए। तर उनी सफल हुन सकेनन्। त्यस्तै उनले देवीबहादुरकी पत्नीलाई सती जानबाट रोक्न पनि सम्झाइ–बुझाइ गरे। देवीबहादुरकी पत्नीले मानिनन् र उनी सती गइन्। (लाइफ अफ महाराजा सर जंगबहादुर राणा बाइ पद्मजंग राणा) यसबाट जंगबहादुर त्यतिबेला पनि सती प्रथाका विरोधी थिए भन्ने स्पष्ट हुन्छ।

जंगबहादुर राणा प्रधानमन्त्री भएपछि उनका भान्जा र एक कप्तानको निधन हुँदा उनीहरूका पत्नी सती जान चाहँदा जंगबहादुरले सम्झाएर जोगाएका थिए। (नेपालमा सतीप्रथा– सूर्यविक्रम ज्ञवाली, गोर्खा संसार साप्ताहिक, सन् १९२७ फेब्रुअरी ०८ र १५, गोर्खा लिगको मुखपत्र देहरादून)

१९१० सालमा जारी मुलुकी ऐनमार्फत पनि जंगबहादुर राणाले सती प्रथालाई निरुत्साहित गर्न विभिन्न प्रयास गरेका थिए। उक्त मुलुकी ऐनमा १६ नपुगेका, कान्छो छोरो १६ वर्ष र कान्छी छोरी पाँच वर्षका नभएका, एकभन्दा बढी पुरुषसँग विवाह गरेका र गर्भवती स्त्रीलाई सती नपठाउनू भन्ने प्रावधान थियो।

त्यस्तै चितामा आगो लगाएपछि पीडा सहन नसकी भाग्ने महिलाले चाहेमा पतिया दिलाएर घर फिर्ता पठाउने व्यवस्था पनि समेटिएको थियो।

सन् १८५७ मा प्रधानमन्त्रीसमेत रहेका जंगबहादुरका भाइ बमबहादुरको निधन भयो। उनले बमबहादुरकी पत्नीलाई सती जान दिएनन्। (लाइफ अफ महाराजा सर जंगबहादुर राणा बाइ पद्मजंग राणा)

त्यसको केही समयपछि सन् १८६३ मा उनका अर्का भाइ कृष्णबहादुरको निधन भयो। जंगबहादुरले कृष्णबहादुरकी पत्नीलाई पनि सती जान दिएनन्। त्यस्तै एक छोरी ज्वाइँको निधन हुँदा पनि जंगबहादुरले छोरीलाई सती जानबाट रोके।

यी उदाहरणबाट सती प्रथा अन्त्य गर्न जंगबहादुरले निकै प्रयास गरेको देखिन्छ। उनको पालामा राजपरिवार, राणापरिवार, उच्च पदस्थ भाइभारदारका परिवार कसैलाई सती जान दिएको भन्ने विवरण उपलब्ध छैन। उनले सती प्रथा अन्त्यका लागि ठूलो पहल गरेका थिए। सती प्रथा नियन्त्रण गर्न धेरै प्रयास गरेका थिए। तैपनि पूर्णतः उन्मूलन भने गर्न सकेनन्। सती प्रथालाई निरुत्साहित गर्ने जंगबहादुरको निधनपछि उनका तीन रानी सती गए। यसबाट उनी कुप्रथा हटाउन पूर्ण रूपमा सफल नभएको स्पष्ट हुन्छ।

सन् १८७७ को फेब्रुअरी २५ गोविन्द द्वादशीका दिन पत्थरघट्टामा जंगबहादुरको निधन भएको थियो। निधनपछि उनको जीवनी लेख्ने उनका छोरा पद्मजंगसमेत काठमाडौँबाट त्यहाँ पुगेका थिए। पद्मजंगका अनुसार तीन रानीमध्ये जेठी महारानी जंगबहादुरको शिर आफ्नो काखमा राखेर सती गइन्। अन्य दुई रानीसमेत उनीसँग सती गएका थिए।

जंगबहादुर  र उनीसँगै तीनजना रानी सती गएको जनाउने फ्रेन्च अखबार भोइर ला क्रोनिकले प्रकाशित गरेको स्केच।

जंगबहादुरको निधनमा उनका तीन रानी सती गएको खबर ब्रिटिस महारानी भिक्टोरियासमक्ष पुगेपछि उनी गम्भीर भइन्। आफैँले भेटेका जंगबहादुरको निधनमा आफूजस्तै महिला जिउँदै जलेर खरानी भए भन्ने घटनाले सायद उनलाई स्तब्ध बनाएको हुनुपर्छ।

त्यसपछि नेपालमा कोही पनि सती नजाऊन् भनी उनले गहिरो चासो लिएकी थिइन्। त्यसका लागि महारानीले कलकत्तास्थित गभर्नल जनरल र नेपालस्थित ब्रिटिस रेजिडेन्टलाई चनाखो रहन निर्देशन दिएकी थिइन्।

पशुपति आर्यघाटमा चिता जल्दा कोही सती गयो कि गएन भनी ब्रिटिस रेजिडेन्टले कलकत्तास्थित गभर्नर जनरललाई पत्र पठाउँथे। राजा वा कुनै उच्च पदस्थ अधिकारी गम्भीर बिमारी भएर पशुपतिस्थित आर्यघाटतर्फ चलाएपछि नेपालस्थित ब्रिटिस रेजिडेन्टले निगरानी बढाउँथे।

कोही मानिस गम्भीर बिरामी भयो र उसको बाँच्ने सम्भावना त्यति देखिएन भने उसलाई घाटचलान गर्ने चलन थियो। त्यस्ताको बाँकी उपचार घाटमा हुने गर्दथ्यो। उच्च पदस्थ पुरुषको निधन भएमा उनीहरूका पत्नी सती नजाऊन् भनेर प्रधानमन्त्रीलाई सल्लाह दिन नेपालस्थित ब्रिटिस प्रतिनिधि सक्रिय हुन्थे।

त्यस्तै उनीहरूले महारानी भिक्टोरियाको चासो र चिन्ता नेपालका श्री ३ महाराजा प्रधानमन्त्रीलाई स्मरण गराउने काम पनि गर्दथे। तत्कालीन समयका ब्रिटिस दस्तावेज अध्ययन गर्दा ती सबैको निधनमा अब कोही पनि सती नजाऊन् भनी आफ्ना प्रतिनिधिमार्फत ब्रिटिस महारानी भिक्टोरियाको चासो थियो भन्ने देखिन्छ।

जंगबहादुरपछि प्रधानमन्त्री भएका रणोद्वीप सिंहको आठ वर्ष लामो कार्यकालमा राजा राजेन्द्रविक्रम, सुरेन्द्रविक्रम र एक जना युवराज त्रैलोक्यको निधन भयो। त्यस्तै दुई जना प्रधानमन्त्रीपछिका दोस्रो वरीयताका कमान्डर इन चिफ जगतशमशेर र धीरशमशेर पनि बिते। ती सबैको निधनमा उनीहरूका पत्नीलाई सती जानबाट जोगाउन प्रधानमन्त्री

रणोद्वीप सिंहले उल्लेखनीय भूमिका निर्वाह गरे। सती प्रथा उन्मूलनका लागि रणोद्वीप सिंहको त्यो पहल एउटा कोसेढुंगा थियो।

तत्कालीन समयमा पतिको निधन हुँदा श्रीमती सती जान आफैँ अगाडि सर्थे। त्यतिबेलाका नेपालस्थित ब्रिटिस रेजिडेन्ट र नेपालका प्रधानमन्त्री महाराजबीचको पत्राचार एवं संवाद हेर्दा महिलालाई सती जानबाट रोक्नु असाध्यै चुनौतीपूर्ण थियो भन्ने देखिन्छ। तर तत्कालीन नेपालको सत्ता राजनीतिको सबैभन्दा उच्च पदमा रहेकाहरूका पत्नी सती नजाँदा त्यसले तल्लो तहका नागरिकमा पक्कै पनि सकारात्मक सन्देश पुगेको हुनुपर्छ।

वीरशमशेरको कार्यकालमा हत्या गरिएका प्रधानमन्त्री रणोद्वीप, जर्नेल जगतजंग (जंगबहादुरका जेठा छोरा एवं ज्वाइँ) र नाति जर्नेल युद्धप्रताप जंग (जगतजंगका छोरा) का रानी पनि सती गएनन्।

वीरशमशेरले मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ जारी गरे। जसमा गर्भ रहेको एक महिनामात्रै भएको अवस्थामा पतिको मृत्यु भएमा सती जान नदिनू, बच्चा जन्मेपछि सती जान्छु भनेमा जान नदिनू जस्ता प्रावधान थिए। उनको कार्यकालमा उनका भाइ तत्कालीन कमान्डर इन चिफ रणशमशेरको निधन हुँदा उनकी पत्नी सती गइनन्।

जंगबहादुरदेखि वीरशमशेरको पालासम्म आउँदा सती प्रथाबारे चेतना फैलिसकेको थियो। राजा, युवराज, प्रधानमन्त्रीदेखि उच्च पदस्थ सैनिक जनरलसम्मको निधनमा उनका श्रीमती सती नजानुले जनमानसमा कुप्रथाबारे जागरुकता फैलिएको थियो। ठूलाबडाका पत्नीले सती जान छाडेपछि आममानिसमा श्रीमती पनि सती नजाने वातावरण बन्यो।

नेपाल र भारतमा रहेको सती प्रथाको अवस्था चित्रण गर्ने तस्बिर। स्रोत : द स्पेहरर, सन् १९०८ जुन १३ को अंक।

चन्द्रशमशेरले ऐन बनाएर सती प्रथाको औपचारिक अन्त्य गर्नुअगावै त्यो अन्त्य गर्न सक्ने आधार तयार भइसकेको थियो। चन्द्रशमशेरले पहिलो सुधारवादी कामअन्तर्गत सन् १९२० जुलाई ८ (१९७७ असार २५) का दिन ऐन जारी गरी सती प्रथालाई पूर्ण रूपले प्रतिबन्ध लगाएका थिए। त्यही ऐनमा सती जान उक्साउने र जिउँदो नारीलाई पोल्न मद्दत गर्नेलाई ज्यानमाराको सजाय हुने व्यवस्था गरिएको थियो। (नेपालमा सती प्रथा– फर्केर हेर्दा, दुर्गादेवी कार्की, रोलम्बा भोलुम ८, नम्बर ४ सन् १९८८)

गुरुपुरोहित, भाइभारदार र पण्डितको उपस्थितिमा भारदारी सभाबाट शास्त्रहरू हेरी छलफल गर्दा सती जानेले जुन पुण्य प्राप्त गर्छन् सोही पुण्य ब्रह्मचर्यमा रही सती व्रतमा रहनेले पनि प्राप्त गर्छन् भन्ने टुंगो लागेको थियो।

यसरी चन्द्रशमशेरले भारदारी सभामा शास्त्रार्थ छलफल गराई सती प्रथा उन्मूलनसम्बन्धी ऐन जारी गरेका थिए। सत्ता पाउन र अपुताली सम्पत्ति खानका लागि समेत सती प्रथाको दुरुपयोग गर्ने चलनसमेत उतिखेर समाजमा व्याप्त थियो।

त्यस्तै त्यसको पाँच वर्षपछि अर्को ठूलो सुधारवादी कामअन्तर्गत सन् १९२५ देखि लागू हुने गरी सन् १९२४ नोभेम्बरमा उनले दास प्रथाको अन्त्य गरेका थिए। सती प्रथा र दास प्रथाको अन्त्य ती दुवै सुधारवादी कार्यअन्तर्गत क्रान्तिकारी कदम भएको मान्न सकिन्छ।

चन्द्रशमशेरले समाज सुधारका क्षेत्रमा गरेका तिनै सुधारवादी कार्यको पश्चिमा अखबारले निकै प्रशंसा गरेका थिए। केही अमेरिकी विश्वविद्यालयले उनलाई सुधारवादी र प्रगतिशील राजनीतिज्ञका रूपमा समेत चित्रण गर्दै मानार्थ विद्यावारिधि प्रदान गर्न इच्छा व्यक्त गरेका थिए। सन् १९०८ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उक्त उपाधि पाइसकेकाले हो कि किन हो त्यसमा उनले इच्छा देखाएनन्।

जंगबहादुरको निधनबारे रोयटर्सले ‘ब्रेक’ गरेको समाचार

प्रकाशित: २५ असार २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =