जंगबहादुरको निधनबारे रोयटर्सले ‘ब्रेक’ गरेको समाचार

सन्तोष खडेरी १३ फागुन २०७९ ८:५३
8.7k
SHARES
जंगबहादुरको निधनबारे रोयटर्सले ‘ब्रेक’ गरेको समाचार जंगबहादुरको निधनसम्बन्धी रोयटर्समार्फत बेलायतबाट प्रकाशित हुने ‘द मर्निङ टाइम्स’को २ मार्च १८७७ को अंकमा छापिएको समाचार अंश,  जंगबहादुर तस्बिर र उनीसँगै तीनजना रानी सती गएको जनाउेन फ्रेन्च अखबार भोइर ला क्रोनिकले प्रकाशित गरेको स्केच।

नेपालमा १ सय ४ वर्षको जहानियाँ राणा शासनको जग जंगबहादुर राणाले बसालेका थिए। एउटा सामान्य सैनिकबाट सुरु भएको उनको यात्रा मुलुकको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीसम्म पुगेको थियो। त्यहाँसम्म पुग्न उनले रक्तपातपूर्ण नरसंहारबाट शक्ति आर्जन गरेका थिए।

जंगबहादुर राणा सन् १८१७ को १८ जुनमा जन्मिएका थिए। सन् १८४६ को सेप्टेम्बर १४को राति राजदरबारमा भयानक घटना भयो। जसलाई नेपालको इतिहासमा कोतपर्व भनिन्छ। त्यस रात राज्यका महत्त्वपूर्ण ओहदामा रहेका उच्च अधिकारीहरूको हत्या भएको थियो।

घटनामा मुलुकका उच्च पदस्थ भाइभारदार मारिएका थिए। रानीका विश्वासपात्र ठहरिएका त्यतिबेलाको मन्त्रिमण्डलका सबैभन्दा शक्तिशाली अधिकारी गगन सिंहको हत्या भएको थियो। त्यतिबेला फत्तेजंग प्रधानमन्त्री भएको भए पनि सात रेजिमेन्ट फौजको तैनाथी, राजदरबारसम्बन्धी मामिलाका साथै सेनाध्यक्षको पदसहित गगनसिंह निकै शक्तिशाली थिए।

सेप्टेम्बर १४ को राति १० बजे गोली हानेर उनै गगन सिंहको हत्या गरिएको थियो। उनको वास्तविक हत्यारा को थियो? अहिलेसम्म यकिनसाथ भन्न सकिन्न। कसैले जंगबहादुर र कसैले लाल झा नामक आपराधिक व्यक्तित्वको नाम लिन्छन्।

उनको हत्यापछि विक्षिप्त र क्रोधित रानीले हत्यारा पत्ता लगाउन बोलाएको भेला कोतमा जम्मा भएको थियो। जहाँ राज्यका उच्चपदस्थ अधिकारीको हत्या भएको थियो। चार जनाको मन्त्रिमण्डलमा गगन सिंहको हत्या भइसकेको थियो।

जंगबहादुर राणाबाहेक अन्य दुई सदस्यमा प्रधानमन्त्री फत्तेजंग र अभिमानसिंह पनि मारिएका थिए। शक्तिशाली भाइहरू र साथमा लगेको फौजको बलमा जंगबहादुर राणा आफ्ना विरोधीको सफाया गर्न सफल भएका थिए।

कोतपर्वको आज पौने दुई सय वर्षपछि पनि त्यो सुनियोजित थियो कि थिएन भन्नेमा देशी-विदेशी इतिहासकारसमेत निर्णयमा पुग्न सकेका छैनन्।

कोतपर्वले जंगबहादुरलाई एउटा शक्तिशाली शासकका रूपमा मात्र उभ्याएन, उनका सन्तान दरसन्तान १ सय ४ वर्षसम्म नेपालको शासनाधिकार आफ्नो पक्षमा पार्न सफल भए। त्यसो त जंगबहादुरको निधनको आठ वर्षभित्रमा उनका कान्छा भाइ धीरशमशेरका छोराहरूले गरेको ‘कू’मा परी जंगबहादुरका सन्तान काटिने/मारिनेदेखि देशबाट निकालासम्म परे। यसरी जंगबहादुरले जग हालेको राणा शासनको वास्तविक उपयोग उनका छोरानातिले गर्न नपाए पनि उनका भाइका छोरानातिले भने भरपूर उपयोग गरे।

जंगबहादुरले बेलायत भ्रमण गर्दा उनले त्यहाँका सञ्चारमाध्यममा विशेष स्थान पाएका थिए। त्यहाँ उनको युवतीसँगको सम्बन्धदेखि दैनिक गतिविधिका समेत समाचार बनेका थिए।

कोतपर्वपछि २९ वर्षको कलिलो उमेरमै जंगबहादुर राणा नेपालका प्रधानमन्त्री एवं नेपाली सेनाका कम्यान्डर इन चिफ नियुक्त भएका थिए।

भण्डारखाल पर्वपछि रानीलाई काशीवास पठाउँदा राजा राजेन्द्रसमेत रानीकै साथमा त्यतैतर्फ लागेपछि उनी झन् शक्तिशाली भए। उनीविरुद्ध राजा राजेन्द्रको असफल सैन्य आक्रमण अलौपर्वपछि भने आफ्ना सबै विरोधीलाई परास्त गरेर उनी झन् शक्तिशाली भएर उदाएका थिए।

३१ वर्षसम्म अनवरत रूपमा नेपालको सर्वेसर्वा बनेका जंगबहादुर राणाको ६० वर्षको उमेरमा सन् १८७७ को २५ फेब्रुअरीमा पत्थरघट्टामा निधन भएको थियो।

सन् १८५० को आफ्नो युरोप यात्रा (बेलायत र फ्रान्सको भ्रमण), सन् १८५५-५६ को नेपाल-भोट युद्ध र सन् १८५७ मा भारतको लखनउ विद्रोहमा अंग्रेजलाई पुर्‍याएको सहयोगका कारण जंगबहादुर सधैँ पश्चिमी अखबारमा चर्चाका पात्र थिए। उनले सन् १८५० मा नेपालका तत्कालीन राजा सुरेन्द्रको राजदूतका हैसियतले बेलायत र फ्रान्सको भ्रमण गरेका थिए। बेलायत भ्रमणका क्रममा सोही १९ जुनमा दिउँसो ३ बजे सेन्ट जेम्स प्यालेसमा ब्रिटिस महारानी भिक्टोरियासँग औपचारिक भेट गरेका थिए। (दी लन्डन गजेट १९ जुन १८५०)

जंगबहादुरले बेलायत भ्रमण गर्दा उनले त्यहाँका सञ्चारमाध्यममा विशेष स्थान पाएका थिए। त्यहाँ उनको युवतीसँगको सम्बन्धदेखि दैनिक गतिविधिका समेत समाचार बनेका थिए।

फ्रान्स जाँदा उनले त्यहाँको पत्रपत्रिकामा राम्रै स्थान पाएका थिए। सन् १८५७ मा उत्तर भारतमा अंग्रेजविरुद्ध सुरु भएको विद्रोहमा अंग्रेजलाई सहयोग गरेपछि पनि पश्चिमा छापामा विशेष चर्चामा थिए। त्यतिबेला अंग्रेजलाई सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा फिर्ता ल्याएका थिए। ती जिल्लालाई नयाँ मुलुकका रूपमा चिनिन्छ।

सुगौली सन्धिपछि संकुचन भएको नेपालको भौगोलिक दायरा विस्तार गर्नमा उनको महत्त्वपूर्ण योगदान छ। ती चार जिल्लाको प्राप्तिपछि पनि ब्रिटिस भारतसँग सीमा कायम गर्दा दुवै पक्षले पानी ढलो सिद्धान्त स्वीकार गरेका थिए। त्यही सिद्धान्तका आधारमा सीमा कायम गर्दा अहिले दाङको कोइलवासको क्षेत्र ब्रिटिस भारतपट्टि पर्न गएको थियो। त्यसलाई नेपाल पक्षतर्फ पार्न गरेको उनको पहल र संघर्षसमेत अर्को प्रशंसनीय कार्य हो।

चार जिल्लाको त्यो विशाल क्षेत्र आफूले पाउँदा पनि त्यो सानो क्षेत्रका लागि उनले करिब १४ वर्षसम्म अनवरत संघर्ष गरिरहे। सन् १८७४ मा कलकत्तामा भाइसराय काउन्सिलमा उनले गरेको सम्बोधन उक्त सीमा समाधानका लागि निर्णायक साबित हुन गयो। त्यसपछि नेपाल र ब्रिटिस भारत दुवै पक्षबाट सम्मिलित संयुक्त कार्यदलले उक्त सीमा विवाद सुल्झाएर कोइलावास क्षेत्रलाई आफ्नो पक्षमा पार्न सफल भयो।

सन् १८५० मा जंगबहादुर बेलायत भ्रमणबाट फर्किएपछि उनीविरुद्ध उनका आफ्नै भाइ बद्रीनरसिंह र राजा सुरेन्द्रका भाइ साहेबज्यू उपेन्द्रलगायत अन्य केही विरोधी षड्यन्त्रमा लागेका थिए। तर आफ्ना अर्का भाइ बमबहादुरमार्फत उनले त्यसको सुइँको पाएपछि त्यसमा संलग्न सबैलाई गिरफ्तार, कैद, भाइ र साहेबज्यूलाई भारतमा निर्वासित गराउन सफल भए।

सन् १८७५ मा दोस्रोपटक उनलाई युरोपको भ्रमण गराउन अंग्रेज तयार भयो। बेलायत जान उनी बम्बई पुगे। त्यहाँ घोडाबाट लडेर दुर्घटनामा परे। त्यसपछि बेलायततर्फ नगई नेपाल फर्किए।

नेपाल-भोट युद्ध र लखनउ विद्रोह दमनपछि उनले फेरि बेलायत जान चाहेका थिए तर अंग्रेज पक्ष तयार भएन। बद्रीनरसिंहले गरेको असफल विद्रोहलाई देखाएर अंग्रेजले उनको अनुपस्थितिमा नेपालको शासनसत्ता चल्न नसक्नेलगायत अनेक बहाना बनाएको थियो। यसरी उनलाई भ्रमणको स्वीकृति दिएको थिएन।

सन् १८६० को दशकको अन्त्यतिर एकपटक अंग्रेज सहमत भएको भए पनि पछि उनी आफैँ जान चाहेनन्। सन् १८७५ मा दोस्रोपटक उनलाई युरोपको भ्रमण गराउन अंग्रेज तयार भयो। बेलायत जान उनी बम्बई पुगे। त्यहाँ घोडाबाट लडेर दुर्घटनामा परे। त्यसपछि बेलायततर्फ नगई नेपाल फर्किए।

त्यही वर्ष उनले बेलायतका राजकुमार ‘प्रिन्स अफ वेल्स’ लाई पश्चिम नेपालमा सिकार गराए। उक्त सिकारदलमा उनी आफैँ सम्मिलित थिए। सिकारबाट काठमाडौँ फर्किएपछि उनी केही समय गोदावरीको पहाडमा आराम गरी बसे।

सन् १८७६ मा त्यतिबेला उनलाई आघात पार्ने गरी उनका दुई छोराको निधन भयो। मे महिनामा नरजंगको र नोभेम्बरमा बबरजंगको निधन भयो। त्यसबाट उनको मनमा निकै चोट पुगेको थियो। बबरजंगको निधनले उनलाई झनै ठूलो चोट पर्‍यो। दुःखका बेला उनको मन बहलाउने साधन भनेको सिकार नै थियो।

थापाथली दरबारबाट सन् १८७६ को ८ डिसेम्बरमा उनी सिकारका लागि तराईतर्फ निस्किएका थिए। उनको सिकारदलमा उनका पाँच महारानी, छोरालगायत अन्य थुप्रै भाइभारदार सहभागी थिए। थापाथलीबाट हिँडेका उनले थानकोट, मार्खु र सुपारीटार हुँदै हेटौँडा पुगेर क्याम्प खडा गरेका थिए। त्यहाँबाट जमुनिया हुँदै उनी सिमरौनगढ पुगे। सिमरौनगढ गढीको निरीक्षण गरी त्यहाँबाट उनी पत्थरघट्टा पुगेका थिए। त्यहाँ नजिकका विभिन्न ठाउँमा सिकार खेले। त्यहीबीच उनको मन परेको हात्ती जंगप्रसादसमेत मर्‍यो। त्यसले जंगबहादुरलाई अर्को ठूलो चोट पर्‍यो।

सन् १८७७ को २५ फेब्रुअरीका दिन गोविन्द द्वादशी परेको थियो। हिन्दूहरूका लागि पवित्र यस दिनमा उनले ब्राह्मणहरूलाई दानदक्षिणा दिए। दोस्रो शिविरका लागि बिगुल फुकिएपछि उनलाई झाडापखाला लाग्यो। हनहनी ज्वरो आयो। एकछिनमा जाडो र एकछिनमा गर्मी हुन थाल्यो। जंगबहादुरको साथमा रहेकी महारानीले उनको स्वास्थ्य अवस्था बिग्रेको महसुस गरेर अमरजंगलाई बोलाउने आदेश दिइन्।

भतिजो अमरजंग पालमा जाँदा जंगबहादुरको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। फलतः उनले आफ्नै भतिजो अमरजंगलाई चिन्न सकेनन्। जेठी महारानीले जंगबहादुरको ओठ फट्याएर चम्चाले अष्टमण्डप नामक उत्तेजक औषधि खुवाउने प्रयास गरिन्। जंगले दाँत बाँधिसकेकाले महारानीले खुवाउन सकिनन्। त्यसपछि बागमतीको किनारा पत्थरघट्टातर्फ जंगबहादुरको अन्तिम यात्रा सुरु गरियो। त्यस्तै अर्कोतिर उनको अवस्थाबारे काठमाडौँमा रहेका रणोद्वीपसिंहलाई जानकारी गराउन त्यतातर्फसमेत मानिस पठाइयो।

पत्थरघट्टातर्फ एउटा पालकी प्रस्थान गर्‍यो। पालकीमा जंगबहादुरसँगै जेठी महारानीसमेत थिइन्। जंगको पालकी पछाडि हजारौँ सर्वसाधारण लाम लागेका थिए।

पालकी बागमती किनारामा पुग्नुअगाडि जंगबहादुरले रक्तवमन गरे। बागमती किनारामा पुर्‍याएर उनलाई सुताइयो। १८७७ को २५ फेब्रुअरी शुक्रबारको महाशिवरात्रीको मध्यरातमा जंगबहादुरले प्राण त्यागे। (जंगबहादुरको जीवन यात्रा, लेखक पद्मजंग राणा, अनुवादक रामबहादुर पहाडी, ओरियन्टल पब्लिकेसन)

पत्थरघट्टामा जंगबहादुरको निधन भइसके पनि उनको अन्त्येष्टिका लागि काठमाडौँबाट उनका भाइछोरा पुगेका थिएनन्। त्यसैले थप केही दिनसम्म शव सुरक्षित राख्ने प्रबन्ध गरियो। त्यतिबेला आजको जस्तो बरफ वा रेफ्रिजेरेटरको सुविधा थिएन। त्यसका लागि एउटा ठूलो रूख काटेर त्यसलाई नाउ जस्तो बनाइयो र त्यसमा खरानी राखेर सुगन्धित तेल, कपुर र अत्तर छरियो। यसरी त्यसैमा उनको शव सुरक्षित राखिएको थियो। उनको निधनको तीन दिनपछि काठमाडौँबाट भाइ धीर शमशेर र छोरा पुगे। सबैभन्दा पहिले पुग्नेमा जंगबहादुरको जीवनी लेख्ने छोरा पद्मजंग राणा थिए।

जंगबहादुरको निधन हुँदा उनका पाँच महारानी साथमा थिए। ती सबै महारानी सती जाने तयारीमा थिए। तर जेठी महारानीले दुईजना महारानीलाई सती जान दिइनन्।

जंगबहादुरको निधन भएपछि काठमाडौँमा कायममुकायम प्रधानमन्त्री रहेका रणोद्वीप सिंह, जगतशमशेर र धीरशमशेरको सल्लाहबमोजिम रणोद्वीपसिंहले जंगबहादुर राणाको स्थान लिए। यसरी २७ फेब्रुअरीका दिन रणोद्वीप सिंह राजा सुरेन्द्रबाट प्रधानमन्त्रीसहित श्री ३ महाराज घोषित भए।

जंगबहादुरको निधन हुँदा उनका पाँच महारानी साथमा थिए। ती सबै महारानी सती जाने तयारीमा थिए। तर जेठी महारानीले दुईजना महारानीलाई सती जान दिइनन्। महारानीहरूलाई सती जानबाट रोक्न छोरा पद्मजंगले पनि सम्झाइबुझाइ गरे तर पनि उनका आमाहरुले मानेनन्। जंगबहादुरको अन्त्येष्टिका लागि बागमती किनारामा तीनवटा चिता तयार पारियो।

चार दिनपछि २८ फेब्रुअरीमा बागमती किनारामा छोरा पद्मजंगले उनको शवमा दागबत्ती दिए। इतिहासकार पुरुषोत्तमशमशेरका अनुसार जंगबहादुरको शिर काखमा राखी बडामहारानी हिरण्यगर्भदेवी चितामा बसिन्। त्यस्तै जंगको टोपी र खराउ काखमा राखी पुतली महारानी दोस्रो चितामा बसिन्। जंगको भोटो र सुरुवाल आफ्नो काखमा राखी मिस्री महारानी तेस्रो चितामा बसिन्। (श्री ३ हरूको तथ्य वृत्तान्त, भाग-०१, पुरुषोत्तमशमशेर जबरा, विद्यार्थी पुस्तक भण्डार)

२७ फेब्रुअरीमा जंगबहादुरको ठाउँमा रणोद्वीपसिंह नयाँ प्रधानमन्त्री भएका थिए। जंगबहादुरको निधनसम्बन्धी खबर २ मार्च १८७७ मा मात्र सार्वजनिक भयो।

जंगबहादुरको निधनको खबर ब्रिटिस न्युज एजेन्सी रोयटर्सले ब्रेक गरेको थियो। रोयटर्सकै उक्त खबर संसारभरका सञ्चारमाध्यमले आ-आफ्ना पत्रपत्रिका छापेका थिए। जंगबहादुरको निधनको खबरमा यस्तो लेखिएको थियो-

‘पछिल्लो ३० वर्षदेखि नेपालका प्रधानमन्त्री रहेका जंगबहादुर राणाको गत २५ फेब्रुअरीमा नेपालको तराईमा अचानक निधन भयो। उनको ठाउँमा रणोद्वीपसिंह प्रधानमन्त्री भएका छन्। तर रणोद्वीप उति परिचित नाम होइन। जंगबहादुर सन् १८५० मा राजदूतको हैसियतमा लन्डन आएका थिए। त्यतिबेला लन्डनमा केही महिना व्यतीत गरेका उनको लन्डन बसाइ चर्चित र लोकप्रिय थियो। सन् १८५७ को विद्रोहको समयमा उनले गोर्खा फौजका माध्यमबाट ब्रिटेनलाई सहयोग गरेका थिए। त्यसको योगदानको कदर गर्दै उनलाई ब्रिटिस राजपरिवारबाट ‘नाइट ग्रान्ड क्रस अफ द अर्डर अफ दी वाथ’ को खिताब प्रदान गरिएको थियो।’ (सिपिङ एन्ड मर्कन्टाइल गजेट ०३-मार्च-१८७७)

२ मार्चमा सार्वजनिक गरिएको समाचारमा जंगबहादुरको निधन, उनको ठाउँमा नेपालको प्रधानमन्त्रीमा रणोद्वीपसिंह नियुक्त भएको भन्ने खबर थियो। त्यसमा जंगबहादुरको छोटो परिचय उल्लेख थियो। त्यतिञ्जेलसम्म जंगबहादुरको निधन हुँदा उनका रानी सती गएकोबारे कुनै उल्लेख थिएन।

१२ मार्च १८७७ मा ब्रिटिस भारतबाट प्रकाशित हुने अखबार ‘द हिन्दू पेट्रोयट’ मा भने जंगबहादुरको निधन हुँदा उनीसँगै उनका तीन रानी सती गएको भन्ने उल्लेख थियो।

त्यसपछि संसारभरबाट छापिने खबरमा प्रमुखताका साथ जंगबहादुरको निधनमा उनका तीनजना रानी सती गएको भन्ने उल्लेख गरिएको थियो। फ्रान्सबाट प्रकाशित हुने फ्रेन्च भाषाको एउटा अखबार भोइर ला क्रोनिकले आफ्ना पाठकलाई जंगबहादुरसँगै उनका तीनजना रानी जिउँदै जलेर सती गएको बुझाउन एउटा स्केच प्रकाशित गरेको थियो।

जंगबहादुर आफैँ सतीप्रथाका विरोधी भए पनि उनको निधनमा तीनजना महारानी सती जानु दुर्भाग्यपूर्ण थियो। जंगबहादुर राणासँगै एउटै चितामा एउटामात्र महारानी जलेकी थिइन्। बाँकी दुई महारानी छुट्टाछुट्टै जलेका थिए। उतिबेला पूरा तथ्यको अभाव र आफ्ना पाठकलाई बुझाउन मात्र फ्रेन्च अखबारले तस्बिर प्रयोग गरेको हुन सक्छ।

प्रकाशित: १३ फागुन २०७९ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =