दिक्तेल रूपाकोटमा शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्कृय

हिमाल प्रेस २४ असार २०८० ९:०३
4
SHARES
दिक्तेल रूपाकोटमा शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्कृय

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय गर्ने सहमति भएको छ।

तत्कालीन मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक संघ-संगठन विरोध गर्दै आएका थिए।

दिक्तेल रूपाकोट मझुवागढी मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा शनिबार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)लाई निष्क्रिय गर्ने, आगामी नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने भनी नगरपालिका र शिक्षक संघ-संगठनबीच भएको सम्झौतालाई पूर्ण रूपमा पालना गर्ने सहमति भएको छ।

शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति भएको हो। नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकले बताएका छन्।

छलफलमा मेयर भट्टराई, उपमेयर विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडा १ का वडाध्यक्ष नवराज राई, वडा ५ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दिनेश घिमिरे, शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्मा, नेपाल शिक्षक संघका संघीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मीन दाहाल, नेपाल शिक्षक महासंघ खोटाङका सहअध्यक्ष झम आचार्यको उपस्थिति रहेको थियो।

यस्तै नेपाल शिक्षक संघका उपाध्यक्ष मुना चौलागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष नूरकाजी सैँजू, नेपाल शिक्षक महासंघ नगर अध्यक्ष यादव घिमिरे, नेपाल शिक्षक संघ नगर अध्यक्ष नवराज केसी, प्राविधिक सहायक प्रेम केसी र शिक्षक सुवासचन्द्र राईको पनि उपस्थिति थियो।

वडा १ का वडाध्यक्ष राईले भने सहमतिपत्रमा हस्ताक्षर गरेका छैनन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले लागु गरेको नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ।

उक्त व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै जिल्लास्थित शिक्षकहरूले पटक-पटक विरोध गर्दै आएका थिए।

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक संघ/संगठनले तत्कालीन मेयर रिजाल र उपमेयर राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो।

यसअघि नगरपालिका र शिक्षकबीच भएको छलफल तथा वार्ताका क्रममा गत असार १० गते सम्पन्न नगरसभाबाट उक्त बुँदा संशोधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै शनिबार मेयर भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो।

ज्ञापन पत्र बुझ्नुहुँदै मेयर भट्टराईले शिक्षकसँग भएको सहमति दुवै पक्षले पूर्ण रूपमा पालन गरिने बताए।

ज्ञापनपत्रमा नेपाल शिक्षक संघका संघीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मीन दाहाल, नेपाल शिक्षक संघका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष नूरकाजी सैँजू र नेपाल शिक्षक महासंघ नगर अध्यक्ष यादव घिमिरेले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =