विदेशबाट ल्याइएकाे मोबाइलमा नियमअनुसार नै शुल्क लिइएको हाे : विमानस्थल भन्सार

हिमाल प्रेस १७ असार २०८० १८:४२
20
SHARES
विदेशबाट ल्याइएकाे मोबाइलमा नियमअनुसार नै शुल्क लिइएको हाे : विमानस्थल भन्सार फाइल तस्बिर।

काठमाडाैँ- कोरियाबाट आएका एक युवाले ल्याएको मोबाइलमा भन्सार शुल्क लिएको सन्दर्भ जोडेर सामाजिक सञ्जालार्फत सार्वजनिक भएपछि त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले स्पष्टीकरण दिएकाे छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले विदेशबाट आउँदा नियमानुसार छुट सुविधा पाएर पनि बढी ल्याइएको मोबाइलमा मात्रै कर लाग्ने हुँदा ती युवाको हकमा पनि सोही गरिएको जानकारी दिए। कानुनले दिएको सुविधा प्राप्त गरेर पनि बढी मोबाइल ल्याइएको पाइएपछि कानुनले तोकेअनुसार नै कर लिएर पठाइएको उनकाे भनाइ थियाे।

प्रवक्ता खनाले सरकारले तोकेअनुसार दुईवटा मोबाइल ल्याउनका लागि छुट रहेको र त्यसभन्दा बढी ल्याउनेको हकमा मात्रै नियमानुसार भन्सार शुल्क लिइने बताए। ‘राजस्वको कुरा नियमानुसार भएको छ। लगेजको कुरा खासमा हाम्रो क्षेत्रभित्र पर्ने विषय पनि होइन,’ उनले भने।

यसअघि एउटा मोबाइल ल्याउँदा पनि भन्सार लगाउन लागिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा एउटा माेबाइलमा भन्सार लाउने निर्णय रोकिएको थियो।

त्यसपछि दुईवटा माेबाइलसम्म ल्याउन पाउने कानुनी व्यवस्था गरिएको हो।

यस्तो छ नियम

विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल ल्याउँदा भन्सार तिर्नुनपर्ने र श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ। तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै, सुनको हकमा महिलाको हकमा ५० ग्रामसम्मको सुनका गहनामा भन्सार तिर्नुपर्दैन। पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। एकजना व्यक्तिले त्योबाहेक थप दुई सय ग्राम सुनका गहना भन्सार विन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ। तर आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने व्वयवस्था छ।

त्यस्तै टेलिभिजनको हकमा श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारका टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन।

तर श्रम स्वीकृति नलिएकाको हकमा ३२ इन्चसम्मको टेलिभिजन मात्रै ल्याउन पाउने व्यवस्था छ। अन्य अवस्थामा भने नियमानुसार भन्सार लाग्ने प्रस्ट पारिएको छ। यो आर्थिक ऐनले तोकेको र राजपत्रमा प्रकाशित झिटीगुन्टासम्बन्धी आदेशको व्यवस्था भएको खनालले जानकारी दिए। उनले यस्ता विषयमा भन्सार कार्यालय सचेत रहेको पनि बताए। रासस

प्रकाशित: १७ असार २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =