भारतीय राजदूत सिंहलाई दिइएको नेपाल तारा अस्वीकृत हुनुको भित्री कुरा

सन्तोष खडेरी १८ असार २०८० ५:५७
1.1k
SHARES
भारतीय राजदूत सिंहलाई दिइएको नेपाल तारा अस्वीकृत हुनुको भित्री कुरा राजदूत सर सीपीएन सिंहलाई नेपालले दिएको तक्मा स्वीकृत नभएको विषयमा १३ अक्टोबर १९५२ को गोरखापत्रमा प्रकाशित समाचार र राजा त्रिभुवनका साथमा  सिंह। तस्बिर स्रोत : इलुस्ट्रेड लन्डन न्युज

सन् १९४७ अगस्टमा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र हुनुभन्दा करिब २ महिनाअगाडि नेपाल र भारतबीच दौत्य सम्बन्ध स्थापना भएको हो। तत्कालीन प्रधानमन्त्री एवं श्री ३ महाराज पद्मशमशेर जबराको विशेष पहलमा भारतसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सन् १९४७ को जुन १३ मा नेपाल र भारत दुवै मुलुकले परस्परमा राजदूत स्तरमा सम्बन्ध स्थापना राख्ने निर्णय गरेका थिए।

नेपालका तर्फबाट सोही अगस्ट अन्त्यमा भारतका लागि पहिलो नेपाली राजदूतमा कमान्डिङ जनरल सिंहशमशेर जबरा नियुक्त भएका थिए। त्यसै महिना भारतबाट नेपालका लागि पहिलो राजदूतमा सरदार सुरजितसिंह मजेठिया नियुक्त भए। सोही १० डिसेम्बरमा मजेठियाले काठमाडौँमा राजा त्रिभुवनसमक्ष र सिंहशमशेरले ३१ डिसेम्बरमा दिल्लीमा गभर्नर जनरल माउन्ट ब्याटनसमक्ष ओहदाको प्रमाणपत्र पेस गरी आआफ्नो जिम्मेवारी सम्हालेका थिए। (भारतीय परराष्ट्र मन्त्रालयका सन् १९४७ को जुन, अगस्ट र डिसेम्बरका विभिन्न प्रेस विज्ञप्ति-राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)

राजदूत मजेठियाको कार्यकाल १८ महिना मात्र रह्यो। सन् १९४९ को १८ मेमा भारतले सर चन्द्रेश्वरप्रसाद नारायण (सीपीएन) सिंहलाई राजदूत नियुक्त गरेर काठमाडौँ पठाएको थियो। सीमावर्ती राज्य विहारका सिंह नेपालका लागि दोस्रो भारतीय राजदूत हुन्। सन् १९४५ देखि पटना विश्वविद्यालयका उपकुलपति रहेका सिंहले नेपाललाई राम्रोसँग बुझेका थिए।

दरबार हाइस्कुल र त्रिचन्द्र कलेज पटना विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालनमा थिए। त्यसले पनि सिंहलाई नेपालसँग जोडेको थियो। विहारको मुजफ्फरपुरबाट प्रारम्भिक शिक्षा र कलकत्ता साइन्स कलेजबाट सन् १९२५ मा एमए उत्तीर्ण सिंह लगत्तै सार्वजनिक सेवामा प्रवेश गरेका थिए। सन् १९२६ मा मुजफ्फरपुरको डिस्ट्रिक्ट बोर्डको चियरम्यान रहेका सिंह लगातार ११ वर्षसम्म त्यही जिम्मेवारीमा थिए।

विहार र उडिसाको विधानसभा सदस्यसमेत भएका सिंह सन् १९३७ मा ब्रिटिस सरकारबाट भारतका प्रान्तले स्वायत्तताको अधिकार पाएपछि विधानसभामा प्रतिपक्षी नेता निर्वाचित भएका थिए। सन् १९४५ मा पटना विश्वविद्यालयका उपकुलपति नियुक्त उनी नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी नसम्हाल्दासम्म त्यही जिम्मेवारीमा थिए। (सिंह राजदूत नियुक्त हुँदा भारतीय परराष्ट्र मन्त्रालयले जारी गरेको संक्षिप्त जानकारी- राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)

सन् १९४९ जुन १२ मा रक्सोलबाट प्रस्थान गरेका सिंह एक रात सिसागढीमा बिताएर १३ जुनको अपराह्न ४ बजे थानकोट आइपुगेका थिए। उनलाई थानकोटमा परराष्ट्र मामिला डाइरेक्टर जनरल विजयशमशेरले स्वागत गरेका थिए। त्यहाँ उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। छाउनीबाट १९ तोपको सलामी दिइएको थियो। सिंहले राजा त्रिभुवनसमक्ष पेस गर्ने ओहदाको प्रमाणपत्र आउन ढिला भएको र राणा परिवारका सदस्यको निधनमा शोक रहेकाले उनले सोही ३ जुलाईमा मात्र ओहदाको प्रमाणपत्र पेस गरेका थिए। (राजदूत सिंहले ओहदाको प्रमाणपत्र पेस गरिसकेपछि आफ्नो यात्रा वर्णन समेत समेटेर भारतीय परराष्ट्र मन्त्रालयमा पठाएको पत्र- राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)

राजदूत सिंहले आफूलाई नेपालमा राजदूतका रूपमा नभई औपनिवेशिक शासन व्यवस्थाअनुरूपको भाइसरायजस्तो हस्तक्षेपकारी भूमिका निर्वाह गरे। सन् १९५० को नेपाल-भारत मैत्री एवं शान्ति सन्धि र २००७ सालको राजनीतिक परिवर्तन भयो। ती दुवैमा उनको उल्लेख्य भूमिका थियो। जसले गर्दा आजसम्म भारतलाई नेपालमा निर्णायक शक्तिमा रूपमा स्थापित गरिरहेको छ।

नेपालमा २००७ सालयताका राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष भूमिका रहँदै आएको छ। २००७ सालमा राणाशासनविरुद्ध कांग्रेस र राजा त्रिभुवनलाई भारतको साथ थियो। २०४६ सालमा पञ्चायती शासनविरुद्ध बहुदल पक्षधरलाई भारतको साथ थियो। २०६२-०६३ मा समेत राजा ज्ञानेन्द्रविरुद्ध लागेका दलहरूलाई भारतकै साथ थियो। यी मुख्यमुख्य राजनीतिक परिवर्तनमा तत्कालीन सत्ताले भारतको भूमिकालाई हस्तक्षेपका रूपमा लियो।

२००७ सालमा राणा सरकारले भारतको भूमिकालाई हस्तक्षेपका रूपमा लिएको थियो। राजा त्रिभुवन र नेपाली कांग्रेसले भारतीय सदासयता मानेका थिए। नेपालमा भविष्यमा समेत त्यस्ता किसिमका कुनै राजनीतिक परिवर्तन भए त्यसमा भारतको भूमिका रहन्छ नै। आफ्नो पक्षमा हुनेले सदासयता र विपक्षमा हुनेले हस्तक्षेपका रूपमा चित्रण गर्नु स्वाभाविकै हो। ठूला राजनीतिक परिवर्तनमा मात्र होइन, नेपालमा सूक्ष्म तहमा समेत भारतीय हस्तक्षेप रहन्छ र त्यसलाई आफ्नो पक्षविपक्षमा हुनेले त्यहीअनुसार चित्रण गरिरहनेछन्।

नेपालमा २००७ सालमा राजा त्रिभुवन नारायणहिटी राजदरबार छाडेर शीतलनिवासमा शरण लिन जानु पूर्वनिर्धारित योजना थियो। राजालाई पहिले दूतावास र पछि दिल्लीमा राखेर भारत सधैँका लागि निर्णायक शक्तिका रूपमा उभिन सफल भयो। त्यसमा नेपालका लागि तत्कालीन भारतीय राजदूत सर सीपीएन सिंहको महत्त्वपूर्ण भूमिका थियो।

राजा त्रिभुवन र नेपाली कांग्रेसले २००७ सालको राजनीतिक परिवर्तनमा सीपीएन सिंहको भूमिकालाई नेपालमा प्रजातन्त्र स्थापनामा योगदानका रूपमा चर्चा गर्दथे। तर पछि सिंहको हस्तक्षेपकारी भूमिकालाई कांग्रेसका नेताहरूले रुचाएका थिएनन्। नेपालमा उनको ठूलै विरोध भयो। नेपालमा भारतको छवि धूमिल हुँदै गएपछि सन् १९५२ को सेप्टेम्बरमा भारत सरकारले उनलाई फिर्ता बोलायो। अनि बालचन्द्र कृष्ण (बीके) गोखले राजदूत नियुक्त भए।

राजदूत सर सीपीएन सिंहलाई नेपालमा प्रजातन्त्र ल्याउनमा गरेको योगदानस्वरूप तत्कालीन राजा त्रिभुवनले नेपाल तारा पहिलो दर्जाको तक्मा दिने घोषणा गरेका थिए। नेपालमा त्यसअघि ब्रिटिस रेजिडेन्ट/इन्भ्वाय/मिनिस्टरहरुलाई तक्मा प्रदान गरिन्थ्यो। वीरशमशेरको पालामा गोर्खा दक्षिण बाहु तक्माको सुरुवात भएको हो।

प्रथम विश्वयुद्धपछि चन्द्रशमशेरका पालामा सन् १९१७ देखि नेपाल ताराको तक्मा प्रदान गर्न सुरु गरियो। नेपाल तारा तक्मामा चारवटा दर्जा थिए। पहिलो दर्जाको नेपाल ताराको तक्मालाई सुप्रदीप्त मान्यवर नेपाल तारा भनिन्थ्यो। राजदूत सीपीएन सिंहलाई राजा त्रिभुवनले सोही  तक्मा दिने घोषणा गरेका थिए।

विदेशी राजदूत/प्रतिनिधिलाई तक्मा प्रदान गर्ने निर्णय गरेपछि सहमतिका लागि उनीहरूको मुलुकमा पठाउने प्रचलन थियो। एउटा मुलुकले कुनै विदेशी प्रतिनिधिलाई दिएको मानपदवी र दर्जा उसको मुलुकले स्वीकार गर्‍यो भने मात्र औपचारिक रूपमा प्रदान गरिन्थ्यो। सन् १९३० र ४० को दशकमा नेपालमा तक्मा लिएर आउने विदेशी कूटनीतिक मिसन र नेपालबाट तक्मा लिएर विदेश जाने कूटनीतिक मिसनमा यस्तो प्रचलन थियो।

नेपाल सरकारले पनि भारतलाई यस्तो जानकारी पठायो। तर राजा त्रिभुवनले भारतीय राजदूतलाई प्रदान गर्ने भनेको नेपाल ताराको तक्मा भारतीय संविधानअनुसार उनले स्वीकार गर्ने अवस्था थिएन। भारतीय संविधानको भाग ३ को धारा १८ को उपधारा २ मा ‘भारतका कुनै पनि नागरिकले कुनै विदेशी राज्यबाट कुनै उपाधि स्वीकार गर्ने छैन’ भनी उल्लेख थियो।

तक्मा स्वीकृत नभएपछि १३ अक्टोबर १९५२ को गोरखापत्रले ‘भारतको थिति बमोजिम स्वीकृत भएन राजदूतलाई दिएको तक्मा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। भारतको नयाँदिल्लीस्थित पीटीआईको स्रोतबाट जसमा यस्तो लेखिएको थियो-

‘नेपालमा प्रजातन्त्र ल्याउनको निम्ति नेपालस्थित भूतपूर्व राजदूत श्रीचन्द्रेश्वरनारायण सिंहले पनि गर्नुभएको सदसेवाको निम्ति उक्त राजदूतलाई श्री ५ महाराजाधिराजबाट सुप्रदीप्त मान्यवर नेपाल ताराको सम्मानपूर्ण तक्मा बक्सिएकोमा भारतको नयाँ थितिबमोजिम त्यो तक्मा किन नहुने ठहर्‍यो भनी आज यहाँको सरकारी क्षेत्रमा अर्थ्याइयो। भारतीय विधानको अठारौँ दफामा ‘कुनै पनि भारतीय नागरिकले विदेशबाट प्रदान गरिएको दर्जा ग्रहण गर्न हुँदैन’, भन्ने लेखिएको हुनाले श्री चन्द्रेश्वर नारायणले स्वतन्त्र देश नेपालबाट प्रदान गरिएको यो दर्जा ग्रहण गर्नमा पनि अप्ठ्यारो पर्‍यो। यो शंका श्री ५ महाराजाधिराजबाट पनि लिइबक्सेर अस्ति नै हुकुम भएको थियो, ‘भारतको रितिथिति बनोजिम, मेरो यो इच्छा पुग्नमा कसो होला कुन्नि निधो छैन।’

सन् १९४९ को २३ अप्रिल काठमाडौँ गौचर हवाईअड्डामा पहिलोपटक विमान अवतरण भएको थियो। विमानका चालक नेपालका लागि भारतीय राजदूत रहेका सरदार सुरजितसिंह मजेठियाका भतिजा स्क्वार्डन कमान्डर दलिप सिंह मजेठिया थिए। पाइलट सिंहको योगदानको कदर गर्दै नेपालका तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले राजदूत सुरजित सिंहसमक्ष नेपाल ताराको तक्मा प्रदान गर्न चाहेको उल्लेख गरेका थिए। तर भारतको संविधानको मस्यौदामा भारतका कुनै पनि नागरिकले कुनै विदेशी राज्यबाट कुनै उपाधि स्वीकार गर्ने छैन भन्ने व्यवस्था रहेकाले स्वीकार गर्न मिल्दैन भन्ने जवाफ राजदूतले प्रधानमन्त्रीलाई दिएका थिए। (नेपालस्थित भारतीय राजदूत सुरजितसिंह मजेठियाले भारतीय परराष्ट्र मन्त्रालय दिल्लीमा पठाएको सन् १९४७ अप्रिलको मासिक प्रतिवेदन, राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)

त्यस्तै अर्को प्रसंग भारतका तत्कालीन प्रधानसेनापति केएम करिअप्पासँग सम्बन्धित छ। सन् १९५२ नोभेम्बरमा नेपाल भ्रमणमा आउन लागेका स्थलसेनाका प्रधानसेनापति केएम करिअप्पालाई नेपालले नेपाल ताराको तक्मा र नेपाली सेनाको मानार्थ जनरलको उपाधि प्रदान गर्न चाहेको थियो।

ब्रिटिस समयदेखि नै नेपालले ब्रिटिस भारतका प्रधानसेनापतिहरूलाई नेपालमा आमन्त्रण गरी नेपाल ताराको प्रथम दर्जाको तक्मा र नेपाली सेनाको मानार्थ जनरलको उपाधि एकैसाथ दिने प्रचलन थियो। तर स्वतन्त्र भारतका प्रधानमन्त्री जवाहर नेहरूले भारतीय सेनाको प्रधानसेनापतिका हकमा नेपाली सेनाको मानार्थ जनरल स्वीकार गरे पनि नेपाल ताराको तक्मा स्वीकार गरेनन्। उनले नेपाल ताराको तक्मा अस्वीकार गर्दा राजदूत सीपीएन सिंहले पनि अस्वीकार गरेकाले त्यही नजिर कायम रहने भन्ने उल्लेख गरेका थिए। (भारतीय स्थलसेनाका प्रधानसेनापति केएम करिअप्पाको नेपाल भ्रमणसम्बन्धी फाइल, राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)

राजदूत सिंहलाई नेपाल ताराको तक्मा प्रदान नगरे पनि उनी र उनको परिवारका सदस्यहरूलाई नेपालले थुप्रै व्यक्तिगत उपहारसहित बिदा गरेको थियो। उनी, उनका छोरीहरू र छोराहरूलाई सुन, चाँदी, तामाका डबल असर्फी, चाँदीका जडाउ पानस, नयाँ पुराना नेपाली हुलाक टिकट, खुकुरी, नेकलेस, ब्रासलेटलगायतका किम्ती-किम्ती उपहार प्रदान गरिएको थियो।

राजदूत सिंहले नेपाल ताराको तक्मा अस्वीकार गरे पनि उनी र उनको परिवारका सदस्यहरूलाई नेपालले सुन, चाँदी, तामाका डबल असर्फी, चाँदीका जडाउ पानस, नयाँ पुराना नेपाली हुलाक टिकट, खुकुरी, नेकलेस, ब्रासलेटलगायतका किम्ती-किम्ती उपहार प्रदान गरेर बिदाइ गरेको थियो।

तीन वर्षसम्म नेपालमा राजदूत भएर प्रजातन्त्र ल्याउन सघाएका सिंहको सम्मानमा सिंहदरबारस्थित ग्यालरी बैठकमा २९ डिसेम्बर रात्रिभोज आयोजना गरिएको थियो।

३ अक्टोबरमा सिंह नेपालको गौचर हवाईअड्डाबाट भारत फिर्ता भएका थिए। उनलाई बिदा गर्न शाही परामर्शदाता जनरल केशरशमशेर, जनरल महावीरशमशेर, खड्गमान मल्ल, केही भूतपूर्व मन्त्रीहरू, कमान्डर इन चिफ किरणशमशेर लगायतका लब्धप्रतिष्ठित नागरिक त्यहाँ पुगेका थिए। उनलाई हवाईअड्डामा राष्ट्रिय सेनाको एक टुकुडीले गार्ड अफ अनर र विमान उडेपछि छाउनीबाट १९ तोपको सलामी प्रदान गरिएको थियो। (गोरखापत्र, १० अक्टोबर १९५१)

https://himalpress.com/2023/02/34973/

बीपीको स्वदेश फिर्तीमा भारतीय चलखेल र अमेरिकी चासो


प्रतिक्रिया

One thought on “भारतीय राजदूत सिंहलाई दिइएको नेपाल तारा अस्वीकृत हुनुको भित्री कुरा

  1. It may be “Chisapani Gadhi” not ” SishaGadhi” where the ambassador spent a night before arriving in Kathmandu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =