पाँचथरका बाढी पहिरोपीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिन मन्त्री ज्वालाको निर्देशन

हिमाल प्रेस १६ असार २०८० १४:०९
12
SHARES
पाँचथरका बाढी पहिरोपीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिन मन्त्री ज्वालाको निर्देशन

पाँचथर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

असार पहिलो साता पाँचथरमा बाढी र पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि शनिबार (आज) पाँचथरको फिदिम आएका उनले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा कुनै पनि प्रकारको ढिलाइ नगर्न पनि उनले आग्रह गरे।

‘राहत, क्षतिपूर्ति र पुनःनिर्माणको काम नियमित कामजस्तो होइन, यसमा ढिलाइ हुनु हुँदैन,’ उनले भने, ‘अहिले सबै स्रोतसाधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ।’

बाढी पहिरोका कारण भएको क्षतिको विवरण संकलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन तथा स्थानीय तहले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए।

यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका ३ जनाको खोजी कार्यलाई नियमित गर्न पनि उनले सुरक्षा निकायलाई निर्देशन दिए।

असार २ गते आएको बाढीले क्षति पुर्‍याएका मेची राजमार्ग, तमोर करिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वालासहितको टोली यहाँ आएको हो । उनले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए।

सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रक्रिया अघि बढाइने पनि उनको भनाइ छ।

बाढीले बगाएको तमोर करिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकिन गरेर कार्य थालिने उनले बताए।।

सो क्रममा पाँचथरका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री वसन्त नेम्वाङले बाढी र पहिराका कारण धेरै भौतिक संरचनामा क्षति पुग्दा नागरिकले समस्या झेल्नुपरेको जनाउँदै पुनःनिर्माण चाँडो अघि बढ्नुपर्ने उनले उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 5 =