पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालय।
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। पार्टीको आन्तरिक खर्चमा जोडिने गरी शुल्क उठाउन लागिएको माओवादीका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। बैठक साउन १७ गते बस्ने तयारी छ।
केन्द्रीय समिति बैठक बैठक लामो समयपछि बस्न लागेको हो। बैठकमा भाग लिन आउने केन्द्रीय सदस्यले शुल्क तिर्नुपर्नेछ। माओवादी केन्द्रीय सदस्यको संख्या ३६८ जना छ। यीमध्ये वैकल्पिक केन्द्रीय सदस्यको संख्या २०२ जना छ। यस आधारमा एउटा बैठकमा केन्द्रीय सदस्यबाट १ लाख ८४ हजार रुपैयाँ संकलन हुनेछ।
बैठकको तयारीका लागि नेताहरूबीच औपचारिक र अनौपचारिक छलफल जारी रहेको छ। यसै क्रममा बुधबार पनि माओवादीको केन्द्रीय कार्यालय परिसडाँडा (कोटेश्वर) मा पदाधिकारी बैठक बसेको थियो। ‘के के विषयमा छलफल गर्ने हो। छलफल गर्दै गर्नुहोला’ भनेर अध्यक्ष (पुष्पकमल दाहाल ‘प्रचण्ड’) भनेकाले बैठक राखिएको कार्यालय सचिव ढकालले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेन्डा, बैठक सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल हुने गरेको छ।
केन्द्रीय समिति बैठकमा बाबुराम भट्टराईको पार्टीसँग एकता, नयाँ विभाग गठन साथै सरकारको कामको विषयमा छलफल गरिनेछ। यसबारे पार्टीले सबै केन्द्रीय सदस्यलाई परिपत्र (सर्कुलर) गरिसकेको छ।
यस्तै केन्द्रीय समिति बैठकमा महासचिव हेरफेरको एजेन्डा पनि प्रस्तुत हुने सम्भावना छ। माओवादीमा हाल देव गुरुङ महासचिव छन्। अध्यक्ष प्रचण्ड नेत्रविक्रम चन्दलाई महासचिव बनाउने गृहकार्यमा रहेको उनी निकट स्रोतले बतायो।

                                             
                                             
                                             
                                             
                                             
                                             

