ताप्लेजुङका पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण गरिने

हिमाल प्रेस १४ साउन २०८० ११:५३ | Sunday, July 30, 2023
ताप्लेजुङका पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण गरिने बाढीले हेवा खोलाको पुल बगाएपछि ड्राइभर्सन बनाइँदै। फाइल तस्बिर

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ। पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो।

३ दिनमा १५ अस्थायी घर निर्माण भइसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

निर्माण तीव्रगतिले अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भई सञ्चालनमा रहेका टोल विकास संस्थाको भूमिका महत्त्वपूर्ण भएकाले सबै टोल विकास संस्थाले आफ्ना सदस्यलाई परिचालन गर्न उनले आग्रह गरे।

विपद्को समयमा एकापसमा सहयोग गरेर पैँचो लगाइराख्न र भोलि आफूलाई पर्दा पनि बिर्सने छैनन् भन्ने सोचका साथ सहयोगमा जुट्न मैवाखोलावासीसँग उनले अनुरोध गरे।

बाढीपहिरो पीडितलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण स्वःस्फूर्त रूपमा सहभागी हुन र सोका लागि टोल विकास संस्थाले जनश्रमदानमा आउँदा अध्यक्षसँग समन्वय गर्न उनले माग गरे।

गाउँपालिकाका अनुसार जोखिममा रहेका ओदक क्षेत्रका ६४ घरपरिवारलाई मैवाखोला गाउँपालिका वडा ३ मा रहेको मदन भण्डारी रंगशालामा अस्थायी एकीकृत बस्ती बनाई स्थानान्तरण गर्ने योजनाका साथ काम भइरहेको छ।

गत असार २ गते राति आएको पहिराका कारण ओदकका घर जोखिममा परेका हुन्। पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिक रूपमा उपलब्ध गराउन आग्रह गरेको छ।

६४ घरपरिवारलाई एकीकृत बस्ती निमार्ण गर्न करिब १ करोड खर्च लाग्ने मैवाखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले बताए। उनका अनुसार अबको करिब १ महिनासम्ममा एकृकीत बस्ती निर्माण सम्पन्न हुने छ।

प्रकाशित: १४ साउन २०८० ११:५३ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast