साफ च्याम्पियनसिप : पहिलो खेलमा ‘डरायो’ नेपाल

हिमाल प्रेस ६ असार २०८० १९:५०
60
SHARES
साफ च्याम्पियनसिप : पहिलो खेलमा ‘डरायो’ नेपाल

काठमाडौँ- बलियो टिमविरुद्ध खेल्दा रक्षात्मक हुने र विपक्षीको गल्ती पर्खने नै हो। नेपालले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा बुधबार त्यही गर्‍यो। एक गोल पनि गर्‍यो। तर हार टार्न त्यो गोल पर्याप्त भएन। दोस्रो हाफको ६८ औँ मिनेटमा गोल फर्काए पनि आखिरमा कुवेतसँग ३-१ ले पराजित भयो।

बेंगलोरको कान्तिरिभा रंगशालामा बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपालको रणनीति थियो, धैयैपूर्वक रक्षात्मक खेल्ने। रक्षात्मक रणनीति अपनाए पनि नेपाल गल्तीविहीन बन्न सकेन। त्यसैकारण पहिलो हाफमा दुई खायो। दोस्रो हाफमा खाएको तेस्रो गोल पेनाल्टीमा थियो। अन्जन विष्टले आहा भन्न लायकको एक गोल त फर्काए, तर पाएका अरु मौकामा गोल भएन।

साफ च्याम्पियनसिपमा होमिनुअघि नेपालले गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यस खेलमा छानिएको पहिलो एघारले कुवेतविरुद्धको खेलमा पनि निरन्तरता पायो। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, अनुभवी रक्षक रोहित चन्द, लिग च्याम्पियन अनन्त तामाङ, रेलिगेट भएको एपीएफका सनिस श्रेष्ठ र फिलिपिन्ससँगको खेलबाट डेब्यु गरेका विमल पाण्डेलाई रक्षापंक्तिको जिम्मा दिएका थिए।

रक्षापंक्तिलाई सघाउने जिम्मा पुजन उपरकोटी र एरिक विष्टसँगै लाकेन लिम्बुको थियो। लाकेन पनि विमल जस्तै राष्ट्रिय टिमका लागि दोस्रो खेल खेल्दै थिए। तर नेपाली खेलाडीहरु बलियो रक्षात्मक एकाइका रुपमा प्रस्तुत हुन सकेनन्।

खाडी क्षेत्रको कुवेत मध्यम तापक्रम भएको बेंगलोरमा सुरुबाटै तात्तिएको थियो। सुरुवाती २० मिनेटभित्रै कुवेतले आक्रमणका बग्रेल्ती अवसर पायो। तर गोल भने २३ औँ मिनेटमा मात्र गर्न सक्यो। फवाज आरव अलोताइबीले प्रहार गरेको कर्नरमा कप्तान खालेद मेह हाजियले हेडर गोल गरेका थिए।

कर्नरअघि मुभ हमाद अलहार्बीबाट सुरु भएको थियो। उनले मिडफिल्डको मध्यभागबाट मोहम्मद अब्दुल्लाहलाई पास दिएका थिए। जसलाई अब्दुल्लाहले नेपालको बक्सतिर लम्किरहेका शहबाइब अलखाल्दीलाई दिए। अब्दुल्लाहको पासले झण्डै एकै स्थानमा रहेका अनन्त तामाङ र सनिस श्रेष्ठलाई सजिलै छिचोलेको थियो। अलखाल्दीले बल नियन्त्रणमा लिए पनि अनन्तः सनिसले ब्लक गरे, बल बाहिरियो र कुवेतले कर्नर पायो।

कुवेतका अलोताइबीले कर्नर प्रहार गर्दैगर्दा धेरैजसो खेलाडी पहिलो बारमा केन्द्रित भएका थिए। सुरुमा विमलले गोलकर्ता हाजियललाई मार्क गरिरहेका थिए। पुजनको जिम्मामा अलहार्बी थिए। तर पुजन अलहार्बीलाई छाडेर अचानक मिडफिल्डतिर फर्किन थाले, त्यहीबीचमा विमल अलहार्बीतिर केन्द्रित भए। यसो हुँदा हाजियल खुला भए, दोस्रो बारतर्फ अघि बढ्न पाए, त्यही बेला ‘लो बल’ उनी भए ठाउँसम्म आइपुग्यो। जसलाई उनले हेडर गोलमा परिणत गरे।

कुवेतले दोस्रो गोल ४१ औँ मिनेटमा थप्यो। यसपालि गोल शाबाइब अल खाल्दीको नाममा रह्यो। कुवेती लिगमा यो सिजन २० खेलमा १८ गोल गरेका खाल्दीले विमललाई सहजै बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो। यो गोल गर्न कुवेती खेलाडीहरुले कुल पाँच पास खेले। गोलरक्षक अब्दुल रहमानले नजिकै रहेका कप्तान हाजियलाई बल रिलिज गरेका थिए। हाजियले त्यसपछि अलहार्बीलाई, अलहार्बीले अलताइबीलाई, अलताइबीले तीन नेपाली खेलाडीलाई बिट गर्दै अथ्बीआशा सालेहलाई, सालेहले अलखाल्दीलाई पास दिए।

अलखाल्दीलाई विमलले रोक्न प्रयास गरे। विमलले अल खाल्दीलाई ट्याकल पनि गरे। तर विमलको ट्याकले अल खाल्दी रोकिएनन्। त्यसपछि अल खाल्दीले दोस्रो टचमा बल नियन्त्रणमा लिए, र तेस्रो टचमा गोल गरे। विमलबाहेक रोेहित चन्द पनि बक्सभित्र थिए। तर उनको प्रयासले पनि अल खाल्दीको प्रहार ब्लक भएन।

नेपाल ६५ औँ मिनेटमा ३-० ले पछि परेको थियो। हमाद ताकह अलकालाफले लेफ्ट विंगबाट सब्स्टिच्युट सलमान मोहम्मदका लागि दिएको क्रस अनन्तले ब्लक गर्न खाेज्दा ह्यान्ड भएकाे थियाे। त्यसपछि कुवेतले पाएको पेनाल्टीलाई मोहम्मद अब्दुलाहले सजिलै गोलमा परिणत गरे।

तेस्रो गोल खाएको तीन मिनेटपछि नै नेपालले गोल फर्कायो। कुवेती खेलाडीले गरेको खराब क्लियरको फाइदा उठाउँदै अन्जनले गोल गरेका थिए। अनन्तले गरेको लामो क्रस क्लियर गर्न कुवेतका सब्स्टिच्युट रक्षक अब्दुल्लाह अलब्लौसीले हेडर गरे। उनले हेडर गर्दै बल अलहार्बीलाई दिन खोजेका थिए। तर बल अन्जनले भेटे र सजिलै गोल गरे। उनका लागि यो नेपालको जर्सीमा १२ औँ गोल थियो। नेपालका लागि उनीभन्दा बढी गोल गर्ने खेलाडी हरि खड्का र निराजन रायमाझी (१३-१३) मात्र हुन्।

‘पहिलो हाफमा खेलाडी डराए’
साफ च्याम्पियनसिपमा हारबाट डेब्यु गरेका नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले पहिलो हाफमा आफ्ना खेलाडी निकै डराएको प्रतिक्रिया दिए। ‘सेटपिस’ मार्फत आएका बल रोक्न नसक्नु र काउन्टर अट्याकमा गोल खानु हारको कारण बनेको एसिनसको भनाइ थियो।

‘पहिलो हाफमा त हामीले खेल्नै सकेनौँ भन्दा पनि हुन्छ। खेलाडीहरु निकै डराए। उनीहरु अत्तालिए। अनुभवको कमी भयो। विपक्षी टिमका खेलाडी पाका र अनुभवी भएकाले पनि हाम्रा युवा खेलाडीहरुले आफूलाई कमजोर माने। सेटपिसमा गल्ती भयो। त्यसपछि काउन्टरमा गोल खाइयो,’ एनिसले भने।

‘हामीले गल्ती गरेकै हो। हो, कुवेती फरवार्डहरुको मुभमेन्ट लोभलाग्दो थियो। तर हामीले डिफेन्ड गर्नै सकेनौँ। डराइरह्यौँ। दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन गर्‍यौँ। समग्रमा म खुसी छु,’ एनिसले थपे।

भारतीय भूमिमा सुरु साफ च्याम्पियनसिपको समूह ‘ए’ मा छ नेपाल। यो समूहमा नेपाल र कुवेतसँगै भारत र पाकिस्तान पनि छन्। भारत र पाकिस्तान बुधबार साँझ नै भिड्दैछन्। नेपालले आफ्नो दोस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ। भारतविरुद्ध आक्रामक खेल्नुपर्ने एनिसको भनाइ थियो।

‘भारतसँगको खेल फाइनलसरह हुनेछ। नेपाल र भारतबीचको खेल सधै स्मरणीय हुने गरेको छ। त्यसमाथि म भारतका खेलाडीहरुबारे जानकार छु। किनभने यहाँको लिगको अनुभव मसँग छ। आई-लिगमा मैले प्रशिक्षण गराएको टिमले सर्वाधिक गोल गरेको थियो। नेपाले पनि त्यस्तै आक्रामक खेल्नसक्छ र खेल्नुपर्छ,’ एनिसले भने।

उता विजयी टिमका मुख्य प्रशिक्षक रुई फर्नान्डो डा सिल्भा बेन्टोले नेपालले बहादुरीपूर्वक खेलेको बताए। ‘नेपालको खेल व्यवस्थित थियो। जित दर्ता गर्न सजिलो भएन। फेरि दुवै टिममा राम्रा खेलाडी छन्। प्रशिक्षकहरु पनि उम्दा छन्। यस्ता दुई टिम भिड्दा खेल कठिन हुन्छ नै,’ बेन्टोले भने।

बेन्टोले कुवेत योभन्दा गतिलो प्रदर्शन गर्न सक्षम रहेको पनि बताए। ‘नतिजाबाट म सन्तुष्ट छु। र हामी योभन्दा निकै राम्रो खेल्न सक्छौँ। आजको खेलमा हामीले निकै मिसपास खेल्यौँ। मौका पनि खेर फाल्यौँ। मौसमले पनि हाम्रा लागि उपयुक्त थिएन। खैर आगामी प्रदर्शनमा सुधार गर्ने प्रयास रहनेछ,’ सन् २०१६ बाट २०२२ सम्म पोर्चुगलका विभिन्न उमेरसमूहका टिमहरुलाई प्रशिक्षण गराएका बेन्टोले भने।

प्रकाशित: ६ असार २०८० १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =