‘बाढीले अवरुद्ध सडक, पुल निर्माण कार्य आजैदेखि थालनी गछौँ’

हिमाल प्रेस ३ असार २०८० १३:४९
12
SHARES
‘बाढीले अवरुद्ध सडक, पुल निर्माण कार्य आजैदेखि थालनी गछौँ’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यालाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका हुन्।

सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको उनले बताए। उनले बाढीपहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षति समेत भएको जानकारी दिए।

क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुआत गरेको बताए। १० दिनभित्रमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताए।

‘शनिबार राति हेवाखोलामा आएको बाढीबाट भएको क्षतिको अनुमान गर्दा भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिव ५० करोड क्षति भएको छ,’ उनले भने, ‘हाल क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा बेलीब्रिज बनाउने काम आजैदेखि सुरुआत गरेका छौँ। १० दिनभित्रमा त्यो ठाउँमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएका छौँ।’

बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताए।

बेलिब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको बताए। वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएको जानकारी दिए।

‘वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएका छौँ,’ उनले भने।

प्रकाशित: ३ असार २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =