राजा महेन्द्रले अमेरिकामा भव्य सत्कारसहित मानार्थ विद्यावारिधि उपाधि पाएको त्यो क्षण

सन्तोष खडेरी २ असार २०८० २१:२७
1.3k
SHARES
राजा महेन्द्रले अमेरिकामा भव्य सत्कारसहित मानार्थ विद्यावारिधि उपाधि पाएको त्यो क्षण फादर स्टेनरबाट मानार्थ विद्यावारिधि ग्रहण गर्दै राजा महेन्द्र र ब्याटल क्रिक मिसिगनको २४ मे १९६० को अंकमा प्रकाशित समाचार अंश। तस्बिर स्रोत : हिस्टोरिक इमेज

विदेशबाट सबैभन्दा पहिला मानार्थ विद्यावारिधिको उपाधि पाउने उच्च पदस्थ नेपाली राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर हुन्। चन्द्रशमशेरले सन् १९०८ मा बेलायत भ्रमणका क्रममा ‘अक्स्फोर्ड विश्वविद्यालय’ बाट  उक्त उपाधि पाएका थिए। सन् १९०८ को जुन २४ मा अक्स्फोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष समारोहमा विश्वविद्यालयका कुलपति लर्ड कर्जनले चन्द्रशमशेरलाई ‘डाक्टर अफ ल’ को मानार्थ डिग्री प्रदान गरेका हुन्।

मित्र मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई विश्वविद्यालयका तर्फबाट मानार्थ विद्यावारिधि उपाधि दिने चलन संसारभरि नै छ। नेपालका सरकार प्रमुख र राष्ट्र प्रमुखले पनि बेलाबेलामा यस्तो उपाधि पाउँदै आएका छन्। प्रस्तुत आलेखमा तत्कालीन राजा महेन्द्रले अमेरिकाको एउटा विश्वविद्यालयबाट प्राप्त गरेको मानार्थ विद्यावारिधि उपाधिबारे चर्चा गरिएको छ।

शाहवंशीय राजाहरूको इतिहासमा राजा महेन्द्रको विशेष स्थान छ। नेपाली राजनीतिमा उनका प्रशंसक जति छन् त्यति नै मात्रामा आलोचक पनि छन्। करिब १७ वर्ष राजा भएका उनले एक दशकभन्दा बढी अवधि आफैँले प्रत्यक्ष शासन गरे। तीव्र शासकीय महत्त्वाकांक्षा भएका राजा महेन्द्र संवैधानिक राजाका रूपमा मात्र सीमित रहन सकेनन्।

जननिर्वाचित सदनसहित दुई तिहाई बहुमतका जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्दै उनले आफ्नै प्रत्यक्ष नेतृत्वमा नेपालको शासन व्यवस्था सम्हाले। सोही कारण उनी नेपाली राजनीतिक इतिहासमा निरंकुश शासकका रूपमा चित्रित छन्। कतिपयले भने सच्चा राष्ट्रभक्त भनी महेन्द्रको प्रशंसा गर्छन्।

राणाकालभर र राणाशासन अन्त्यपछि राजा त्रिभुवनको समयसम्म बाह्य संसारका लागि बन्दजस्तै मुलुकलाई राजा महेन्द्रले संसारका लागि खुला गर्दै विश्वमञ्चमा उभ्याएका थिए। राणाकालमा बेलायत, अमेरिका, भारत र फ्रान्ससँग नेपालको दौत्य सम्बन्ध स्थापना भइसकेको थियो। महेन्द्र राजा र बीपी कोइराला प्रधानमन्त्री भएका बेला पनि अन्य मुलुकसँग दौत्य सम्बन्ध स्थापना हुने क्रम बढ्यो। यस क्रममा चीन, रुस, इजिप्ट, जापान, स्विट्जरल्यान्ड, श्रीलंका र जर्मनीसँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो। साथै इजरायल र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना गर्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिको सन्देश दिने गरी अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने श्रेय बीपी कोइरालालाई जान्छ। झन्डै डेढ वर्ष अवधिमा कोइराला सरकारले थप १५ वटा मुलुकसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो।

नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यतासहित चीनसँग सम्बन्ध स्थापना गरी राजा महेन्द्रले भारतवेष्टित नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ आयाम दिएका थिए। मुलुकको सन्तुलित वैदेशिक सम्बन्ध सञ्चालन र विस्तारमा महेन्द्रको महत्त्वपूर्ण भूमिका थियो।

नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा काठमाडौँमा मैत्री तथा वाणिज्य सन्धिमा हस्ताक्षर भएसँगै औपचारिक रूपमा सम्बन्ध सूत्रपात भएको थियो। त्यसको अर्को वर्ष १९४८ फेब्रुअरीमा दुवै मुलुकले एकअर्को देशमा मिनिस्टर तहमा राजदूत खटाउने घोषणा गरेका थिए। अमेरिका र नेपालबीच सम्बन्ध स्थापना भएको करिब १३ वर्षपछि सन् १९६० मा नेपालका तर्फबाट पहिलोपटक राष्ट्राध्यक्ष तहबाट अमेरिकाको राजकीय भ्रमण भएको थियो।

अमेरिकाका राष्ट्रपति ड्वाइट डेभिड आइजनआवरको निमन्त्रणामा राजा महेन्द्रले सन् १९६० को अप्रिल २५ देखि १२ मे सम्म १८ दिन लामो अमेरिकाको राजकीय भ्रमण गरेका थिए। त्यस्तै उनले १३ मे देखि १ जुनसम्म थप २० दिन अमेरिकाको निजी भ्रमण गरेका थिए। नेपालका तर्फबाट दुई पटक राजा महेन्द्र (सन् १९६० र १९६७) र राजा वीरेन्द्रले सन् १९८३ मा अमेरिकाको राजकीय भ्रमण गरेका थिए। नेपालका तर्फबाट पहिलो राजकीय भ्रमण गर्ने राजा महेन्द्रलाई वासिङ्टन विमानस्थलमा राष्ट्रपति आइजनआवर आफैँले स्वागत गरेका थिए। त्यस्तै राजा महेन्द्रले २७ अप्रिलमा अमेरिकाको सिनेट र कांग्रेसको संयुक्त सभालाई सम्बोधन गरेका थिए। अमेरिकाको संयुक्त सदनलाई नेपालका तर्फबाट सम्बोधन गर्नेमा राजा महेन्द्र एक्ला नेपाली हुन्।

राजा महेन्द्रको साथमा रानी रत्न, सवारीमन्त्रीका रूपमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री जनरल सुवर्णशमशेर, राजाका सैनिक सचिव बृगेडियर जनरल शेरबहादुर मल्ल, राजाका निजी सचिव काजी पुष्पराज, राजाका सचिव सुब्बा ईश्वरीमान सिंह, रक्षासचिव मेजर जनरल शोभागजंग थापा र राजाका निजी चिकित्सक डा. सुशीलचन्द्र हल्दार थिए।

त्यस्तै अमेरिकाबाट त्यहाँस्थित शाही नेपाली राजदूत हृषीकेश शाह र दूतावासका द्वितीय सचिव जगदीशशमशेर जबरासमेत सहभागी थिए। जापानको राजधानी टोकियो हुँदै २५ अप्रिलको दिन बिहान ११:५० मा राजा महेन्द्र अमेरिकाको हवाई राज्यमा अवतरण भएका थिए। राजाले त्यतिबेला वासिङ्टन, न्युयोर्क, क्यालिफोर्निया, फ्लोरिडा, मिसिगन, ओरेगन, मेक्सिकोलगायतका विभिन्न राज्यको भ्रमण गरेका थिए।

राणाविरुद्ध संघर्ष गर्दै पिता त्रिभुवनसँग भारत निर्वासित भएर प्रजातन्त्र ल्याउन मद्दत पुर्‍याएको जस राजा महेन्द्रलाई थियो। त्यतिबेला उनी आफैँले संविधान जारी गरी नेपालमा निर्वाचन सम्पन्न गराएका थिए। त्यसबाट प्रजातन्त्रप्रेमी संवैधानिक राजाका रूपमा त्यतिबेला सारा संसारभर उनको प्रजातान्त्रिक छवि थियो। त्यसैका कारण पनि त्यतिबेला अमेरिकामा उनको भव्य स्वागतसत्कार भएको थियो।

राजा महेन्द्रको औपचारिक भ्रमण १२ मे मा पूरा भएको थियो। अमेरिकी सरकारले जारी गरेको राजा महेन्द्रको भ्रमण तालिकामा २३ मे मा उनलाई डेटरोयट युनिभर्सिटीले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने विषय उल्लेख थियो।

२३ मे मा उनी त्यहाँको मिसिगन राज्यमा रहेको डेटरोयट महानगर पुगेका थिए। डेटरोयट विमानस्थलबाट विश्वविद्यालयका अधिकारीहरूले उनलाई सोझै डेटरोयट विश्वविद्यालयमा पुर्याँएका थिए। डेटरोयट युनिभर्सिटी क्याथोलिक सम्प्रदायिक युनिभर्सिटी हो। उक्त विश्वविद्यालय सन् १८७७ मा स्थापना भएको थियो। सोही दिन अपराह्न ५ बजे विश्वविद्यालयमा राजा महेन्द्रलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न एक विशेष दीक्षान्त समारोह आयोजना गरिएको थियो। विश्वविद्यालयका फादर स्टेनरले राजा महेन्द्रलाई कानुनमा मानार्थ विद्यावारिधि ‘अनेररी डक्टर अफ ल’ को उपाधि प्रदान गरेका थिए। विश्वविद्यालयले राजा महेन्द्रलाई प्रगतिशील राजनीतिज्ञका रूपमा चित्रण गर्दै उक्त उपाधि प्रदान गरेको थियो।

दुई सय वर्षसम्म दुनियाँका लागि बन्दप्रायः नेपालमा पश्चिमा क्रिस्चियन नागरिकलाई नेपालमा खुला गरेकोमा त्यसबाट प्रसन्न हुँदै उनीहरूले उक्त उपाधि प्रदान गरेका थिए। हिन्दू धर्मका रक्षक र भगवान् विष्णुका अवतारका रूपमा रहेका राजाले त्यतिबेला एउटा क्याथोलिक क्रिस्चियन विश्वविद्यालयबाट उनीहरूलाई नेपाल आउन अनुमति दिएकोमा मानार्थ विद्यावारिधि उपाधि स्वीकार गर्नु अलिक अनौठोजस्तो देखिन्छ। तर उनले मानार्थ विद्यावारिधि उपाधिका लागि मात्र त्यो स्वीकार गरेका थिए वा त्यसको अन्य केही पनि कारण थियो भन्नेचाहिँ खोजीकै विषय छ।

उक्त कार्यक्रमपछि विश्वविद्यालयको रेडियोबाट राजाले त्यहाँ सम्बोधन गरेका थिए। राजाले नेपाली भाषामा गरेको सम्बोधनलाई राजदूत हृषीकेश शाहले अंग्रेजीमा उल्था गरिदिएका थिए। त्यस्तै त्यहाँ डेटरोयट प्रेसका सञ्चारकर्मीलाई समेत राजाको अन्तर्वार्ता लिन निम्त्याइएको थियो। राजाको सम्मानमा फादर स्टेनरले विश्वविद्यालयमा रात्रिभोज आयोजना गरेका थिए। (युनिभर्सिटी अफ डेटरोयट न्युजलेटर भोलुम ३०, अंक ३०, १९६१)

राजा महेन्द्रले आफ्नो जीवनकालमा दुईवटा मुलुकका तीनवटा विश्वविद्यालयहरूबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गरे। उनले अमेरिकाको एक र भारतका दुई विश्वविद्यालयबाट त्यो प्राप्त गरेका थिए। डेटरोयट विश्वविद्यालयबाट प्राप्त गरेको विद्यावारिधि उनका लागि पहिलो विद्यावारिधि थियो। अमेरिका र युरोपका केही मुलुकको भ्रमण सम्पन्न गरी भारत फर्किएपछि उनले त्यसै वर्षको जुलाईमा जम्मुकश्मीर पुगेका थिए। जम्मु कश्मीर विश्वविद्यालयबाट उनलाई त्यतिबेला ‘डक्टर अफ ल’ को अर्को मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो।

राजा महेन्द्रले सोही अक्टोबरमा बेलायतको राजकीय भ्रमण गरेका थिए। त्यसअघि चन्द्रशमशेरले प्राप्त गरेझैँ अक्सफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिध पाउन सकिन्छ कि भनी कोसिस गरेका भए पनि त्यो सफल हुन सकेन। सन् १९६५ मा भारत भ्रमणका क्रममा राजा महेन्द्रलाई बनारस हिन्दु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो। उनलाई सन् १९६५ डिसेम्बरमा बनारस हिन्दु विश्वविद्यालयले ‘डक्टर अफ लिटरेचर’ को उपाधि प्रदान गरेको थियो। (एसियन रेकर्डर जनवरी १९६६)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =