नहरको पानीले पूरा गरिदियो टीकापुरका किसानको सपना

हिमाल प्रेस २ असार २०८० १२:५६
12
SHARES
नहरको पानीले पूरा गरिदियो टीकापुरका किसानको सपना

कैलाली– कैलालीको टीकापुर नगरपालिका-१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुसी छन्। राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरू खुसी हुन्।

आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको हो।

‘सदियौंदेखि परम्परागत सिँचाइ प्रणाली हाम्रा लागि समाप्त भएको छ। वर्षौंदेखि अरूको कुलोको भरोसामा कृषि गर्दै आएका किसानलाई कसैको भर पर्नुपर्ने अवस्था अब रहेन,’ बडघर घर्तीमगर भन्छन्, ‘०५७/०५८ मा बन्द भएको कुलोमा पानी आएपछि किसानमा खुसियाली छाएको मात्रै छैन, सपना पूरा भएको छ।’

उनले किसानले वर्षौंदेखि देखेको सपना पूरा हुने बताए।

आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेत खेतमा पुगेपछि किसानले खुसी व्यक्त गरेका छन्।

किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन्। आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन।

पटक-पटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पुर्‍याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताएका छन्।

यस पटक मूल नहरबाट पानी ल्याई ३ वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको श्रेष्ठले जानकारी दिए। त्यो पानीले १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ हुनेछ।

‘हामीले मूल नहरबाट पानी छोडेर किसानको खेतसम्म ३वटै शाखा कुला र उपशाखा कुलाबाट पुर्याएका छौं,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिएको छ। अब नियन्त्रित रूपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ। यसबाट किसानको खेतमा हुने सिँचाइ प्रणालीमा सहज हुनेछ।’

यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै वर्षेनी रानी जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो। पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने र बर्सातको समयमा बाढी र डुबानजस्ता समस्या किसानले झेल्दै आएका थिए।

हरेक वर्ष कुलाको मुहान खन्न हजारौं किसानले काम गर्नुपर्ने बाध्यता थियो। किसानले वर्षमा २ पटक कुला खन्न जानुपर्थ्यो। हिउँदे खेती लगाउने समयमा र वर्षे खेती लगाउने समयमा करिब १ महिना किसानको कुला खन्न लाग्ने गरेको स्थानीय छेलु चौधरी बताउँछन्।

‘आयोजना सञ्चालन भएपछि बनाइएका संरचनाबाट आवश्यकताको आधारमा पानी ल्याउन सजिलो हुनेछ। जतिबेला आवश्यक पर्‍यो त्यहीँअनुसार पानीको व्यवस्थापन गर्न सकिने भएको छ,’ उनी भन्छन्, ‘हाम्रो खेतसम्म पानी पुगिसकेको छ, अब किसानलाई सिँचाइका लागि सहज हुन्छ। खडेरीका कारण सिँचाइको सहजता नहुँदा हुन नसकेका रोपाइँ अब हुन्छन्।’

झण्डै ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य आयोजनाको रहेको छ। यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो।

कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउँथ्यो भने बाढी घटेपछि कुलामा पानी सुकेर धान खेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो। मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन्।

जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानव चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आमदानी बढ्ने विश्वास व्यक्त गरे।

‘सधैं सहज रूपमा पानी आउने स्थिति यसअघि थिएन। अब १२ महिनै पानी आउने भएको छ।’ उनले भने, ‘किसानलाई व्यावसायिक कृषि खेतीमा पनि सहज हुनेछ। सिँचाइका लागि आपसमा हुने मतभेद पनि अबदेखि किसानमा हुने छैन।’

२७ अर्ब ७० करोड २३ लाख लागत रहेको आयोजनामा १७ अर्ब ५६ करोड ७२ लाख नेपाल सरकार, ९ अर्ब ९५ करोड ५१ लाख विश्व बैंकको ऋण र १८ करोड उपभोक्ता समितिको लगानी भइरहेको छ। आयोजनामा हालसम्म १८ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ।

आउँदो आर्थिक वर्षमा आयोजनाको समयावधि सकिनै लाग्दा पनि हालसम्म आयोजनाको करिब ६० प्रतिशत काम मात्रै सम्पन्न भएको छ।

रानी र कुलरिया कुलोको प्रगति निकै कम छ। जमरा कुलोको प्रगति करिब ७० प्रतिशत प्रगति देखिएको छ।

प्रकाशित: २ असार २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =