मकवानपुरमा २९६ जनाले लिए प्राथमिक शिक्षकको नियुक्ति

सुरेश श्रेष्ठ ३२ जेठ २०८० १२:५७
8
SHARES
मकवानपुरमा २९६ जनाले लिए प्राथमिक शिक्षकको नियुक्ति नियुक्तिपत्र बुझेपछि सामूहिक तस्बिर खिचाउँदै नवनियुक्त शिक्षकहरू। तस्बिर : सुरेश श्रेष्ठ

हेटौँडा- शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण भएका ३ सय ४ जनामध्ये २ सय ९६ जनाले प्राथमिक तहको शिक्षकका रूपमा नियुक्ति लिएका छन्। आयोगको परीक्षामा उत्तीर्ण उम्मेदवारलाई शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरले हेटौँडामा बुधबार एक समारोहका बीच नियुक्तिपत्र वितरण गरेको हो।

परीक्षामा सफलमध्ये ८ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइकी अधिकृत उन्नति ढकालले जानकारी दिइन्। उनीहरूलाई कार्यालयमै नियुक्तिपत्र वितरण गरिनेछ।

मकवानपुरमा प्राथमिक तहमा ३ सय ३५ जना शिक्षक नियुक्तिका लागि आयोगले परीक्षा लिए पनि ३ सय ४ जना मात्रै परीक्षामा उत्तीर्ण भएका थिए। यसअघि गत चैत २० गते नियुक्तिपत्र वितरण गर्ने तयारी गरे पनि चैत १४ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो।

आयोगको परीक्षामा सहभागी परीक्षार्थी सावित्री सञ्जेललाई आयोगले अयोग्य घोषित गर्दै नियुक्त गर्न नसक्ने जनाएपछि सञ्जेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। खुला र महिलातर्फ परीक्षा दिएकी सञ्जेलको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले खुला र महिलाबाहेकलाई नियुक्ति दिन अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चको अन्तरिम आदेशपछि खुला र महिलातर्फ सफल अन्य उम्मेदवारले एउटै परीक्षामा उत्तीर्ण उम्मेदवारहरू फरकफरक मितिमा नियुक्त हुँदा आफू प्रभावित हुने भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा नियुक्ति प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए। उच्च अदालतले चैत १९ गते नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो।

जेठ २४ गते सर्वोच्च अदालतले सावित्री सञ्जेलले दर्ता गरेको मुद्दा खारेज गर्ने निर्णय गर्‍यो। यसले गर्दा करिब अढाई महिनापछि प्राथमिक तहका शिक्षकले नियुक्तिपत्र बुझ्न पाएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमको अध्यक्षता तथा जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा नियुक्तिपत्र वितरण गरिएको हो। नियुक्तिपत्र वितरणपछि एकाइ प्रमुख गौतमले प्राथमिक तहमा नियुक्त शिक्षकहरूलाई शपथ गराएका थिए।

नियुक्तिपत्र बुझेका शिक्षक अब सम्बन्धित पालिकामा सम्पर्क गरी विद्यालयमा पुग्नेछन्। आयोगबाट प्राप्त विवरणअनुसार एकाइले पालिकागत नियुक्तिपत्र वितरण गरेको छ। पालिकामा पुगेपछि सफल उम्मेदवारको वरीयताक्रमअनुसार विद्यालय छनोटको अवसर प्राप्त हुन्छ।

हेटौँडा उपमहानगरपालिकामा २० जना, थाहा नगरपालिकामा ३७ जना, भीमफेदी गाउँपालिकामा २४ जना, बागमती गाउँपालिकामा ३३ जना, कैलाश गाउँपालिकामा ४५ जना, बकैया गाउँपालिकामा ३६ जना, मनहरी गाउँपालिकामा २३ जना, राक्सिराङ गाउँपालिकामा ४० जना, इन्द्रसरोवर गाउँपालिकामा २१ र मकवानपुरगढी गाउँपालिकामा २५ जना शिक्षक  नियुक्त भएका छन्।

प्रकाशित: ३२ जेठ २०८० १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =