ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

हिमाल प्रेस २८ जेठ २०८० १५:२५
36
SHARES
ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन्। संसद् बैठकमा बोल्दै  उनले प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसँग सम्बन्धित मुद्दा परेकाले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

प्रधानमन्त्रीलाई जेठ ३० गते सर्वोच्च अदालतमा हाजिर हुन भनेर तारेखपर्चा काटिएपछि पदमा बसिरहनुको औचित्य नरहेको शाहीले बताए। उनले भने, ‘म यहाँ सोध्न चाहन्छु, ३० गते प्रधानमन्त्रीज्यू अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएर जानुहुन्छ?’

शाहीले देशले अपराध गरेको नभई व्यक्तिले अपराध गरेकाले राजीनामा दिनुपर्ने बताए।

उनले भने, ‘त्यही भएर म सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ। नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन।’

माओवादी सांसद माधव सापकोटाले शाहीको भनाइको प्रतिवाद गर्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

उनले भने छन्, ‘प्रधानमन्त्रीलाई उहाँले एकोहोरो गैरराजनीतिक तरिकाका साथ लेखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँको भनाइलाई संसद्को रेकर्डबाट हटाइयाेस्।’ सभामुख देवराज घिमिरेल दुवै सांसदले उठाएको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।

प्रकाशित: २८ जेठ २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =