छायामा प्रदेश

आफैँलाई नबुझेको गण्डकी

विजय नेपाल २८ जेठ २०८० १५:४८
12
SHARES
आफैँलाई नबुझेको गण्डकी तस्बिरः रासस

गण्डकीको गरिबीको स्तर अन्य प्रदेशको तुलनामा कम छ। प्रदेशको आर्थिक वृद्धिदर ३.७४ प्रतिशत छ। चालु आवको चैतसम्म गण्डकीको ९ प्रतिशत (अर्थात् ४ अर्ब ८२ अर्ब) कुल गार्हस्थ उत्पादन छ। विगतमा ३ खर्ब ८ अर्ब थियो। गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ। गण्डकी हिमालदेखि मधेशसम्म फैलिएको प्रदेश हो। कृषिजन्य उत्पादनका साथै ऊर्जा, खनिज, पर्यटन र जडीबुटी यहाँका मुख्य स्रोत हुन्। गण्डकी प्रदेशमा यति धेरै सम्भावना छन्। तर स्थानीय, प्रदेश र संघीय सरकारले महत्त्व नदिँदा यतिबेला गण्डकी कस्तूरी मृगले सुगन्ध खोजेजसरी भौँतारिरहेको अवस्थामा छ।

यतिसम्म कि यहाँका ढुंगा पनि विशेष महत्त्वका छन्। गत माघमा कालीगण्डकी नदीबाट शिला उत्खनन गरिएको विषयले सर्वत्र चर्चा पायो। म्याग्दीको बेनीस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएका १६ टन र १८ टनका दुई शिला भारतको अयोध्या पठाइएको छ। अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन पवित्र कालीगण्डकीबाट यसरी शिला लगिएको हो।

भनिन्छ, कालीगण्डकी र दामोदरकुण्डका बालुवाको कणमा सुन पाइन्छ। सनातनीहरूले यहाँको शालिग्रामलाई पूजा गर्दै आएको प्राचीनकालदेखि हो। कालीगण्डकी सभ्यताले पनि यस क्षेत्रको पहिचान दिलाएको छ। संसारमा अन्यत्र नपाइने यस्तो सम्पदाबारे जानकार भएर पनि प्रचारप्रसार हुन सकेको छैन। सरकार पनि यिनको खोजीनिती गर्ने, प्रशोधन गर्ने, बजारीकरण गर्ने योजनामा देखिँदैन। यति मात्रै होइन ऊर्जा र जडीबुटीमा प्रदेश धनी छ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेल भन्छन्, ‘गण्डकीको शक्ति र सामर्थ्य अलि बढी ऊर्जामा छ। अर्को भनेको मिनरल्स (खनिज) हो। यहाँको हर्बल मेडिसिनलाई उपयोग गर्न सक्यौँ भने गण्डकीमा वार्षिक औषधिमा खर्च हुने २० अर्ब रुपैयाँ जोगिनेछ।’  बुटवलदेखि नारायणगढ सडकखण्ड स्तरोन्नतिको निर्माण पूरा भएपछि नवलपुर औद्योगिक करिडोरका रूपमा परिणत हुनेछ तथा पोखरादेखि काठमाडौँको बाटो सुधार भएपछि मधेशतिर तर्सिएको व्यापारिक समूहले पृथ्वी राजमार्गको करिडोरमा लगानी गर्ने आशा उनको छ। ‘गण्डकीमा केही छैन भन्नु भूगोल र स्रोत नबुझेर बेतुकको तर्क गर्नु हो,’ उनी भन्छन्।

प्रदेश गौरवका आयोजना अलमलमा

गण्डकीको प्रथम पञ्चवर्षीय योजना (२०७६/७७-२०८०/८१) ले पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव विकास र सुशासन गरी ७ क्षेत्रलाई समृद्धिका संवाहक मानेको छ। गण्डकी सरकारको आफ्नै बजेट र अन्य क्षेत्रबाट स्रोत जुटाई कार्यान्वयन गर्न १३ प्रदेश गौरवका आयोजना छनोट गरेको छ। प्रदेश सदरमुकाम पोखरादेखि स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माण आयोजना, एकीकृत प्रदेश प्रशासनिक केन्द्रको निर्माण आयोजना, मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ आयोजना, गण्डकी गाई फार्म तथा दुग्ध विकास आयोजना, स्याउमा आत्मनिर्भर हुने आयोजना गौरवका आयोजना हुन्।

घरबास (होमस्टे) विस्तार र सुदृढीकरण आयोजना, नवलपुरको लोकाहाखोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण आयोजना, गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन आयोजना, गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना र सञ्चालन आयोजना, प्रदेश क्रिकेट मैदान निर्माण आयोजना, सूचना प्रविधि पार्क निर्माण आयोजना, प्रदेश प्रहरी तालिम केन्द्रको निर्माण आयोजना र ई-गभर्नेन्स आयोजना हुुन्।

प्रदेशले पाँचवटा प्रदेश गौरवका आयोजनाका लागि भने नेपाल सरकारसँग स्रोत मागेको छ। ती आयोजना पोखरा, डेडगाउँ, दुम्कीबास, त्रिवेणी सडक निर्माण आयोजना, उत्तरगंगा जलाशययुक्त विद्युत् आयोजना, फेवातालको संरक्षण र सौन्दर्यकरण आयोजना, कास्की र तनहुँको बीचमा पर्ने तल्लो पुडिटार क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण आयोजना र मुटु, मृर्गौला र क्यान्सरको एकीकृत प्रदेश अस्पताल निर्माण आयोजना हुन्। तीमध्ये कतिपयको जग्गा प्राप्ति हुँदैछ भने कतिपय निर्माणाधीन छन्।

नेपाल सरकारबाट १५ औँ पञ्चवर्षीय योजना अवधिमा निर्माण गर्न दुई प्रदेश गौरवका आयोजना छनोट गरिएका छन्। जस्तै : पृथ्वी लोकमार्ग र सिद्धार्थ लोकमार्गको स्तरवृद्धि आयोजना। त्यस्तै गण्डकी प्रदेशमा निजी क्षेत्रले निर्माण गर्ने गरी प्रदेश गौरवका तीन आयोजना छनोट गरिएका छन्। जस्तै : वीरेठाँटी मुक्तिनाथ केबलकार निर्माण आयोजना, बुद्ध मण्डला निर्माण आयोजना र फूलबारी काहुँडाँडा केबलकार निर्माण आयोजना। यी आयोजनाले त्यति गति लिन सकेको पाइँदैन।

गण्डकीका विशेषता

११ जिल्ला समेटेको गण्डकीको कुल क्षेत्रफल २१ हजार ९७४ वर्ग किमि छ। गण्डकीले नेपालको कुल क्षेत्रफलको १४.६७ प्रतिशत क्षेत्रफल ओगटेको छ। अग्लो भूभाग धौलागिरि हिमाल (८१६७ मिटर) र होचो भूभाग नवलपुरको त्रिवेणी सुस्तासम्म फैलिएको छ। गण्डकीमा कुल ८५ स्थानीय तह छन्। तीमध्ये पोखरा महानगरपालिका १, नगरपालिका २६, गाउँपालिका ५८ र ७ सय ५९ वडा छन्। १८ प्रतिनिधिसभा र ३६ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र छन्।

यहाँका प्रमुख ११ नदीहरू त्रिशूलीको आंशिक जलाधार, बूढीगण्डकी, मर्स्याङ्दी, दरौँदी, सेती, मादी, मर्दी, मोदी, म्याग्दी खोला, कालीगण्डकी, बडीगाड हुन्। फेवा, बेगनास, रुपा, तिलिचो, दामोदरकुण्ड गण्डकीका प्रमुख ताल हुन्। अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे, मनास्लु, गणेश हिमाल गण्डकीमै पर्छन्। मनकामना मन्दिर, गोरखनाथ, गोरखा दरबार, तालबाराही, विन्ध्यवासिनी, भीमसेन, अकलादेवी, बागलुङ कालिका भगवती मन्दिर, मुक्तिनाथ मन्दिर, मौलाकालिका मन्दिर, देवघाट प्रमुख धार्मिक एवम् सांस्कृतिक हुन्।

नेपाल आउने करिब ४० प्रतिशत विदेशी पर्यटक पोखरा भ्रमणमा आउँछन्। उनीहरूको आकर्षण फेवाताल, पाताले छाँगो, डेभिड फल्स, चमेरो गुफा, महेन्द्र गुफा, सराङकोट, शान्ति स्तूप, माटेपानी गुम्बा, घान्द्रुक, घोरेपानी पुनहिल ट्रेक, अन्नपूर्ण बेस क्याम्प ट्रेक, मर्दी हिमाल ट्रेक, बन्दीपुर, कुश्मा बन्जीजम्म, हिमचुली पिक, तालबाराही मन्दिर, अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम, अस्ट्रेलियन बेस क्याम्प लगायतमा हुन्छन्।

पोखरा उपत्यकाका ताल क्लस्टरअन्तर्गतका विभिन्न ताल रामसारमा सूचीकृत भइसकेका छन्। गण्डकीमा मुख्य जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका प्रजातिमा यार्सागुम्बा, सतुवा, तेजपात, चिराइतो, कुरिलो, कुटकी, मजिठो, जटामसी, टिपुर, सेतकचिनी, सतुवा, नीरमसी, पाँचऔँले, लौठसल्ला, वन लसुन हुन्।

गण्डकीको कुल क्षेत्रफलको ३७.८ प्रतिशत वन क्षेत्रले ढाकेको छ। झाडी बुट्यान क्षेत्र ९.६ प्रतिशत छ। गण्डकी प्रदेशभर ८ लाख ६१ हजार हेक्टर वनको संरक्षण भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ।

तथ्यांकमा गण्डकी

चालु आवको हालसम्म गण्डकीमा दर्ता भएका उद्योगको संख्या ७० हजार ३० वटा छ। वाणिज्य (व्यापार) संख्या ६७ हजार १९८ छ। चालु आवको आठ महिनामा गण्डकीमा सडक क्षेत्रमा उच्च प्रगति छ। कालोपत्रे ७५ किमि, ग्राभेल ६९ किमि र कच्ची सडक ५५ किमि निर्माण गरिएको छ।

यातायात व्यवस्था कार्यालय गण्डकीमा चालु आवको ८ महिनासम्म २३ हजार १७० गाडी दर्ता भएका छन्। जसबाट कुल २ अर्ब १८ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गत आव २०७८/७९ मा यातायातबाटै १ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुदमा गण्डकी अब्बल मानिन्छ। गण्डकीको पर्यटन क्षेत्रमा झण्डै २० अर्ब लगानी भएको छ। पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिपरेको छ। तीन विश्वविद्यालय रहेको गण्डकीमा १७ आंगिक क्याम्पस, ८३ सामुदायिक क्याम्पस, ५२ निजी क्याम्पस छन्। प्रदेशमा कुल ४ हजार १६ विद्यालय सञ्चालित गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अधिकृत ऋषिराज बास्तोलाले जानकारी दिए।

गण्डकी प्रदेश दूध, मासु, अण्डा, आलुमा आत्मनिर्भर छ। गण्डकीले गत आव २०७८/७९ मा १० लाख २१ हजार ६७० मेट्रिक टन खाद्यान्न बाली उत्पादन गर्‍यो। ३ लाख ७३ हजार ४४२ हेक्टर क्षेत्रफलमा उक्त परिणामको उत्पादन भएको हो।

यहाँका प्रमुख बाली धान, मकै, गहुँ, कोदो, फापर हुन्। गत वर्ष २४ हजार २८४ हेक्टरमा २ लाख ९९ हजार ८४४ मेट्रिक टन ताजा तरकारी उत्पादन भएको थियो। आलुमात्रै २ लाख ८१ हजार १५५ मेट्रिक टन उत्पादन भएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सूचना अधिकारी ज्योति क्षेत्रीले जानकारी दिइन्।

लमजुङ नेपालमै धेरै जलविद्युत आयोजना हुने दोस्रो जिल्ला चिनिन्छ। यहाँ ७ वटा हाइड्रो सञ्चालित छन्। ५ वटा निर्माणाधीन र ४ प्रस्तावित छन् ।

गण्डकीलाई खेलकुदको हब मानिन्छ। यहाँ दैनिकजसो कुनै न कुनै प्रतियोगिता भइरहन्छ । २ वर्षअघि दक्षिण एसियाली खेलकुद (साग) का विभिन्न खेल खेलाएको गण्डकीले गत वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्‍यो।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार गण्डकीमा चालु आवको चैतसम्म बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्गका) बाट ३ खर्ब ५१ अर्ब ९२ करोड प्रदेशमा कर्जा लगानी भएको छ।

गण्डकीले आगामी आवको नीति तथा कार्यक्रम पारित गरिसकेको छ। १ असारमा बजेट सार्वजनिक तयारीमा रहेको गण्डकीले यसपालि भने चालु आवको तुलनामा बजेट आकार घटाउने जनाएको छ। चालु आवमा गण्डकीले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो।

असमानताको खाडलमा प्रदेश

प्रकाशित: २८ जेठ २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =