सिटीले ‘ट्रेबल’ जित्ने निश्चित थियो : पेप ग्वार्डिओला

हिमाल प्रेस २८ जेठ २०८० १०:३८
14
SHARES
सिटीले ‘ट्रेबल’ जित्ने निश्चित थियो : पेप ग्वार्डिओला

काठमाडौँ- इन्टर मिलानलाई हराउँदै शनिबार राति च्याम्पियन्स लिग विजेता बनेपछि म्यानचेस्टर सिटीले ‘ट्रेबल’ सपना पूरा गरेको छ। यसअघि यो सिजन इंग्लिस प्रिमियर लिग र एफए कप जितेको सिटीले इस्तानबुलमा च्याम्पियन्स लिग जितेपछि म्यानचेस्टर युनाइटेडको कीर्तिमान बराबर भएको भयो।

सिटीको सहरी प्रतिद्वन्द्वी युनाइटेडले सन् १९९९ मा दुई घरेलु तथा एक युरोपेलीगरी तीन उपाधि जितेको थियो। एकै सिजन तीन उपाधि जितलाई ‘ट्रेबल’ भनिने हो। सिटीलाई यो दुलर्भ सफलता दिलाउन रोड्रीको गोल पर्याप्त रह्यो।

टर्कीको राजधानी इस्तानबुलस्थित अटाटर्क रंगशालामा सिटीलाई पहिलो च्याम्पियन्स लिग उपाधि जिताएपछि प्रशिक्षक पेप ग्वार्डिओला स्वाभाविक रुपमा प्रसन्न देखिए। त्यहीबीचमा उनको सुरुवाती प्रतिक्रिया थियो, ‘यो सिजन सिटीले तीन उपाधि जित्ने निश्चित थियो।’

यो सफलतापछि आफू थकित, शान्त र सन्तुष्ट रहेको प्रतिक्रिया पनि ग्वार्डिओलाले दिए। ‘च्याम्पियन्स लिग जित्न सजिलो छैन। हामीलाई थाहा थियो, यो सिजन पनि सजिलै जितिँदैन भनेर। किनभने यहाँ हरेक विपक्षी कठिन हुन्छन्,’ ग्वार्डिओलाले भने, ‘आजकै खेल हेरौँ, पहिलो हाफमा हामीलाई साह्रै गाह्रो भयो। तर धैर्यपूर्वक खेल्दा गोल गर्न सकियो। धैर्य रहन सके जितिन्छ भनेर मैले खेलाडीहरुलाई भनेको थिएँ।’

च्याम्पियन्स लिग जित्न भाग्यको साथ पनि आवश्यक पर्ने ग्वार्डिओलाको धारणा छ। ‘अन्त्यमा एडरसनले लुकाकुको प्रहार बचाउन भाग्यको खेल थियो। यो प्रतियोगिता भाग्यको साथबिना जित्न सकिँदैन। आज हामीले राम्रो खेलेको हुँदै होइन। तर पनि जितियो। म अहिले आगामी सिजनबारे सोच्ने सक्ने स्थितिमा छैन। हामी सबैलाई विश्राम चाहिएको छ। त्यसपछि सबै कुरा शून्यबाट सुरु हुनेछन्,’ ग्वार्डिओलाले भने।

एलेक्स फर्गुसनले राखेको कीर्तिमान बराबर गर्नसक्दा गर्व मसुस भइरहेको पनि ग्वार्डिओलाले बताए। ‘एलेक्स फर्गुसनसँग एक ठाउँमा उभिन पाउनु ठूलो कुरा हो। उनले आज विहान मलाई मोबाइलमा सन्देश पठाएका थिए। उनको सन्देशले मलाई छोएको थियो,’ ग्वार्डिओलाले थपे।

सिटीले ग्वार्डिओलाको प्रशिक्षणमा पहिलो पटक च्याम्पियन्स लिग जितेको हो। सन् २०२१ मा फाइनलमा पुगे पनि सिटी च्याम्पियन बन्नबाट वञ्चित भएको थियो। बार्सिलोनालाई दुई पटक यो प्रतियोगिता जिताएका ग्वार्डिओला बायर्न म्युनिखसँग भने फाइनलसम्म पुग्न सकेका थिएनन्। सिटीलाई १२ औँ उपाधि जिताएका उनले क्लब व्यवस्थापनप्रति आभार प्रकट गरे। ‘अरु क्लबमा भएको भए च्याम्पियन्स लिग हार्दा नै बर्खास्तीमा परिसक्थेँ,’ ग्वार्डिओलाको भनाइ थियो।

अर्को सिजनको च्याम्पियन्स लिग फाइनल इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीमा हुँदैछ। यसबारे आफू जानकार रहेको र क्लब अध्यक्षसँग यो विषयमा बात पनि मारेको ग्वार्डिओलाले बताए। ‘कुरा के भयो भन्ने चाहिँ म अहिले सुनाउदिनँ। किनभने यो समय गम्भीर कुरा गर्ने होइन, खुसीयाली मनाउने हो। तर यति चाहिँ भन्छु, एकपटक च्याम्पियन्स लिग जित्ने अनि हराउने टिम हामी बन्ने छैनौँ। जे होस् अब सिटीले च्याम्पियन्स लिग कहिले जित्छ भनेर सोधिने छैन,’ ग्वार्डिओलाले भने।

च्याम्पियन्स लिग २०२१ को फाइनल खेल्न नपाएका रोड्रीले यसपालि निर्णायक बन्न पाउँदा खुसी लागेको बताए। पहिलो हाफमा सोचेजस्तो खेल्न नसके पनि दोस्रो हाफमा सुधार गरेको उनको भनाइ थियो। ‘साँच्चैभन्दा पहिलो हाफमा मैले खराब खेले। दोस्रो हाफमा धैर्य गरेर खेल्नुपर्छ भन्ने थाहा थियो। त्यसो गर्दा आखिरमा गोल गर्नसकेँ। हामी च्याम्पियन बन्यौँ भन्दा पत्यार लाग्न सकेको छैन,’ स्पेनका मिडफिल्डर रोड्रीको भनाइ थियो।

‘फाइनल खासमा यस्तै हुन्छ, पूरै तनावयुक्त। फेरि हाम्रो टिम युवा खेलाडीले भरिएको छ। कतिपय खेलाडी २१ र २३ वर्षबीचका छन्। यसकारण केहीहदसम्म आत्तिनु स्वाभाविक थियो। तर हामीले मेहनत गर्न छाड्नौँ। फेरि इन्टर एकदम बलियो टिम हो। इन्टरकोे रक्षापंक्ति र काउन्टर अट्याकको तारिफ गर्नैपर्छ,’ रोड्रीले भने।

यो सिजन सिटीको कप्तान भएर तीन उपाधि उचालेका एल्काई गुन्डोवानले अप्त्यारिलो अनुभव भोगेको प्रतिक्रिया दिए। ‘हामीले इतिहास बनाएका छौँ। यसको अनुभव बेग्लै छ। बयान गर्न सकिँदैन। यो खेल दुवै टिमका लागि सजिलो थिएन। सम्भवतः खेल जित्ने सम्भावना दुवै टिमका लागि बराबर थियो। तर आखिरमा हामी भाग्यमानी साबित भयौँ,’ गुन्डोवनको भनाइ थियो।

प्रकाशित: २८ जेठ २०८० १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =