चुके लुकाकु, राेकिएन सिटी

हिमाल प्रेस २८ जेठ २०८० ९:४३
24
SHARES
चुके लुकाकु, राेकिएन सिटी

काठमाडौँ- रोमेलु लुकाकु पहिलो एघारमा थिएनन्। इन्टर मिलानले सोचेको हुनुपर्छ, दोस्रो हाफमा मैदानमा छिरेर उनले च्याम्पियन्स लिग फाइनलको वेग परिवर्तन गर्नेछन्। उनले दोस्रो हाफ त खेले, तर फिलिपो इन्जाघीले चाहे अनुसारको खेल्न सकेनन्। असाध्यै खराब खेले। उनले अपेक्षा गरे अनुसारको खेल नदेखाएपछि इन्टरले म्यानचेस्टर सिटीलाई रोक्न सकेन।

लुकाकु बेन्चमा रहँदा अग्रपंक्ति एडेन जेकोले सम्हालिरहेका थिए। लुकाकुको सट्टा जेको पहिलो एघारमा पर्नु असामान्य थिएन। किनभने भने अग्रपंक्ति र मिडफिल्डलाई जेको लुकाकुलेभन्दा राम्रोसँग जोड्न सक्छन्।

यति हुँदाहुँदै पनि लुकाकुमाथि इन्टर समर्थकको विश्वास भने थियो। यसको एक कारण त उनले सिरी सिरी ‘ए’ सकिन लाग्दा देखाएको लय पनि हो। पछिल्ला पाँच खेलमा उनले पाँच गोल नै गरेका थिए। यसकारण इन्जाघीको योजना थियो, जब सिटी थाक्छ तब गोल लयमा रहेका लुकाकुलाई मैदान छिराउने।

तर इन्जाघीको यो निर्णय घातक साबित भयो। किनभने जेको निस्किएपछि सिटीले इन्टरमाथि दबाब बढायो। जेकोले जस्तो बल होल्ड गर्न चुकिरहे लुकाकु। न त उनले भनेजस्तो ‘टच’ लिनसके। जब इन्टर गोल गर्न हतारिएको थियो, तब उनले साथी खेलाडीहरुलाई साथ नै दिन सकेनन्।

सिटीका रोड्रीले ६८ औँ मिनेटमा गोल गरे। उनले गोल गरेको एक मिनेट पनि नबित्दै इन्टरले आक्रमण बुनेको थियो। तर फेडेरिको डिमार्कोको हेडर सिटीको क्रसबारमा लाग्यो। बालख हुँदै इन्टरको समर्थक बनेका डिमार्को बराबरी गोल फर्काउन प्रतिबद्ध थियो। उनकै कारण फेरि एउटा मुभ बन्यो। तर आखिरमा लुकाकुका कारण खेर गयो।

खेल उत्तरार्द्धमा पुग्दा लुकाकु आक्रामक इन्टरको केन्द्र बने। रोबिन गोसेन्सले क्रस गर्दा उनी ठ्याक्कै ६ यार्ड बक्सभित्र थिए। क्रसबाट आएको बललाई उनले हेडर पनि गरे। उनको हेडर सिटीका गोलरक्षक एडरसनको घुँडामा लाग्यो।

‘सधैँ गोल गर्न सकिँदैन। कहिलेकाहिँ बल नै विपक्षीको गोलपोस्टमा छिर्दै छिर्दैन। राेमेलुको त्यो हेडर कसरी बचाए भनेर एडरसनलाई नै थाहा छैन होला,’ हारपछि इन्टरका अर्का स्ट्राइकर लाउटारो मार्टिनेजले भने, ‘जे होस् हामीले सिटीलाई अप्ठ्यारो पारेकै हो। हामीले गोलका अवसर पनि सिर्जना गरेको हो, तर गोल गर्न सकिएन। हामीले गोल गर्न नसक्नु नै सिटी विजयी हुनुको कारण बन्यो।’

मार्टिनेजकै लागि पनि यो खेल सिर्बन लायकको रह्यो। जबकि उनी इन्टरका सबैभन्दा भरपर्दा खेलाडी हुन्। च्याम्पियन्स लिग फाइनलमा सिटीसँग भिड्नअघि १२ मध्ये ११ खेलमा इन्टर विजयी हुँदा मार्टिनेजको भूमिका अहम थियो।

सिरी ‘ए’ का ३८ खेलमा २१ गोल गरेका मार्टिनेजले इस्तानबुलमा त्यही लय दोहोर्‍याउन सकेनन्। भलै उनले गोलका केही मौका भने पाएका थिए।

हारे पनि इन्टरको प्रदर्शन तारिफयोग्य रह्यो। समग्र टिमको प्रदर्शनको मूल्यांकन गर्ने हो भने, इन्टरले अपेक्षा गरिएभन्दा राम्रो खेलेको हो। एकसेएक स्टारले भरिएको सिटीविरुद्ध इन्टर निरीह बन्ने अनुमान थियो। तर इन्जाघी नेतृत्वको इटालेली टिमले बहादुरीपूर्वक खेल्यो।

सिरी ‘ए’ मा उतारचडाव भोगेको इन्टरले च्याम्पियन्स लिगमा भने नसोचेको यात्रा गरेकै हो। बार्सिलोना र बायर्न म्युनिख जस्ता बलिया टिम रहेको समूहबाट अघि बढेको इन्टर पोर्चुगलका दुई क्लब बेनफिका र पोर्टो अनि प्रतिद्वन्द्वी एसी मिलानलाई पन्छाउँदै फाइनलसम्म पुगेको थियो।

आर्थिक संकटसँग जुधिरहेको इन्टरलाई युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा पुर्‍याउन सक्दा इन्जाघी प्रसन्न देखिए। भलै खेलाडी बजारमा जति भन्यो त्यति खर्च गर्नसक्ने सिटीसँग भिड्दा पछि पर्नुपर्‍यो।

‘हारे पनि म सबै खेलाडीको प्रदर्शनबाट खुसी छु। उनीहरुले तारिफयोग्य खेल देखाए। म यी खेलाडीलाई अरु खेलाडीसँग साट्न चाहन्नँ। मैले यो कुरा उनीहरुलाई हिजो नै भनेको थियो। उनीहरुक कत्तिको प्रतिबद्ध छन् भन्ने कुरा आज मैदानमा देखियो। हामीले सिटीलाई हराउन हरसम्भव कोसिस गरेकै हो,’ इन्जाघीले भने।

प्रकाशित: २८ जेठ २०८० ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =