च्याम्पियन्स लिग फाइनल : जोसिलो म्यानचेस्टर सिटी, थकित इन्टर मिलान

हिमाल प्रेस २६ जेठ २०८० १३:५२
56
SHARES
च्याम्पियन्स लिग फाइनल : जोसिलो म्यानचेस्टर सिटी, थकित इन्टर मिलान

छ साताअघि इन्टर मिलानका रक्षक मिलान स्क्रिनियार अस्पतालको बेडमा थिए। ‘स्पाइनल सर्जरी’ पछि उनी आराम गरिरहेका थिए। मार्चको दोस्रो साताबाट नखेलेका उनी हालै अभ्यासमा फर्किएका छन्। सम्भवतः उनी च्याम्पियन्स लिग फाइनल खेल्ने इन्टरको टिममा पर्नेछन्। पहिलो एघारमा नभए पनि उनी बेन्चमा भने हुने सम्भावना छ।

आगामी शनिबारको च्याम्पियन्स लिग फाइनल इन्टरका लागि १३ वर्षयताकै सर्वाधिक महत्त्वपूर्ण खेल हो। यो खेलमा स्क्रिनियार जस्ता बलिया रक्षकको साथ इन्टरलाई चाहिन्छ नै। स्क्रिनियार मात्र होइन हेनरिक मिखितार्यनको उपस्थिति पनि इन्टरका लागि आवश्यक छ। जो तीन साता मैदानबाहिर रहे। उनी एसी मिलानविरूद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएका थिए।

अर्मेनियाली मिडफिल्डर मिखितार्यनले दोस्रो लेगको ४४ औँ मिनेटमा मैदान छाडेका थिए। उनको तिघ्रामा समस्या देखिएको थियो। जब उनी मैदानबाहिर आए, त्यहीबेलाबाट उनको उपचार सुरू भयो। खेल सकिएपछि इन्टरको पूरै टिम खुसीयाली मनाउँदा पनि मिखितार्यनको उपचार चलिरह्यो। मिखितार्यन अझसम्म सामूहिक अभ्यासमा सामेल भइसकेका छैनन्। तर उनले फाइनल खेल्ने सम्भावना उच्च छ। त्यो पनि पहिलो एघारमै रहेर।

फाइनल इस्तानबुलको आटटर्क रंगशालामा हुँदैछ। इंग्ल्यान्डको म्यानचेस्टर सिटीलाई सम्भावित विजेताका रूपमा हेरिँदैछ। यसको बलियो कारण हुन्, एर्लिङ हालान्ड। जो आधुनिक फुटबल इन्जिनियरिङको देन हुन्। हालान्डलाई बहुउपयोगी यन्त्र मान्दा फरक पर्दैन। खेलभर नथाकी दौडिन्छन्, गोल गर्छन्। उनी बिरलै रोकिन्छन्।

सिटी कस्तो टिम हो? यसको जवाफ दिँदा हालान्डलाई सम्झिए पुग्छ। तर इन्टर भने बिलकुल फरक खालको छ। स्क्रिनियार र मिखितार्यन जस्ता खेलाडीको बाहुल्य भएको। समग्रमा इन्टर थाक्दै गएको टिम हो। जसका खेलाडी क्षमताभन्दा माथिल्लो स्तरको प्रदर्शन गर्ने प्रयास गरिरहेका छन्। अधिकांश खेलाडीको हातखुट्टामा ब्यान्डेज छ। तर ब्यान्डेजले उनीहरूको आत्मविश्वासलाई भने घटाएकाे छैन।

कमजोर टिम भएका क्लब खासै धेरै च्याम्पियन्स लिगको फाइनलमा पुग्ने गरेका छैनन्। सन् २००२ मा बायर्न लेभरकुजन, केही वर्षपछि मोनाको, २०१९ मा टोटनहम। उदाहरण धेरै छैनन्। सायद अहिलेको इन्टर त्यही सूचीमा पर्छ। भलै समृद्ध विगत भएको क्लब हो, इन्टर।

इन्टर सिरी ‘ए’ मा सबैभन्दा धेरै पाका खेलाडी भएको टिम हो। स्ट्राइकर एडिन जेको ३७ वर्षका भए। रक्षक फ्रान्सिस्को एकेरबी ३५ वर्षका छन्। अर्को रोचक तथ्य, टिमका लगभग आधा खेलाडीका लागि च्याम्पियन्स लिग फाइनल इन्टरको जर्सीमा अन्तिम खेल हुनसक्छ। स्क्रिनियारसँगै ११ खेलाडीको सम्झौता यही जुनमा सकिँदैछ। एकैपटक यत्तिका खेलाडी बाहिरिएपछि इन्टरले नयाँ सिजनका लागि टिम पुनः निर्माण गर्नुपर्नेछ।

उसो त टिम पुनः निर्माण इन्टरका लागि सबैभन्दा ठूलो चिन्ता होइन। ठूलो चिन्ता त ऋण हो।

सन् २०१६ मा चीनको सुनिङ समूह इन्टरमा प्रवेश गरेको थियो, ७० प्रतिशत सेयर खरिद गरेर। त्यति सेयरका लागि सुनिङले तीन करोड ७० लाख अमेरिकी डर तिरेको थियो। चीनका ठूला व्यापारिक समूहमध्येको एक सुनिङले इन्टरको बहुमत सेयर खरिद गर्नुको संकेत थियो, युरोपेली क्लब फुटबलमा चिनियाँहरूको आक्रामक प्रवेश। यो प्रवेशलाई चिनियाँ सरकारको समर्थन थियो। फलतः हौसिएका चिनियाँले इन्टर मात्र होइन एसी मिलानको पनि स्वामित्व लिए।

सुनिङको व्यवस्थापनमा इन्टरले मैदानी सफलता हासिल गरेको छ। तर सफलताको मोल सस्तो छैन। आजको दिनमा इन्टर इटालीमै सबैभन्दा धेरै ऋण बोकेको क्लब हो। पछिल्लो लेखा विवरण अनुसार इन्टरको नाममा ९३ करोड अमेरिकी डलर बराबरको दायित्व छ। त्यसमाथि घाटाको पीडा त छँदैछ।

नयाँ व्यवस्थापन समूहले इन्टरमा कायापलट गर्ने लोभ देखाइयो। अभ्यासस्थल पुनरूत्थान गर्ने भनियो। खेलाडी बजारमा भारी खर्च गर्ने योजना त छँदै थियो। जे जति खेलाडी भित्रिए, तिनको बलमा इन्टर सफल नभएको भने होइन। सन् २०२१ मा इन्टर सिरी ए च्याम्पियन नै बन्यो। जबकि एक दशक भइसकेको थियो, इन्टरले लिग नजितेको।

लिग जिताएका एन्टोनियो कोन्टे बाहिरिए, उनलाई सिमाने इन्जाघीले प्रतिस्थापन गरे। इन्जाघीको प्रशिक्षणमा इन्टरले लगातार दुई सिजन कोपा इटालिया जितेको छ। च्याम्पियन्स लिग छुटाएको छैन। गत सिजन इन्टर अन्तिम १६ सम्म पुगेको थियो। यसपालि त फाइनल नै भइगयो।

सुनिङको व्यवस्थापनमा इन्टरले मैदानी सफलता हासिल गरेको छ। तर सफलताको मोल सस्तो छैन। आजको दिनमा इन्टर इटालीमै सबैभन्दा धेरै ऋण बोकेको क्लब हो। पछिल्लो लेखा विवरण अनुसार इन्टरको नाममा ९३ करोड अमेरिकी डलर बराबरको दायित्व छ। त्यसमाथि घाटाको पीडा त छँदैछ। दुई वर्षमा इन्टरले ४३ करोड अमेरिकी डलर घाटा व्यहोरिसकेको छ।

इन्टरको खराब वित्तीय अवस्थालाई युरोपेली फुटबल महासंघ यूईएफएले नजरअन्दाज गरेको छैन। वित्तीय अनुशासन पालना नगरेको भन्दै यूईएफएले गत वर्ष इन्टरलाई ४३ लाख अमेरिकी डलर जरिबाना तिराएको थियो। अनुशासन कायम नभए इन्टरलाई फेरि दुई करोड ८० लाख अमेरिकी डलर तिराइने चेतावनी यूईएफएले दिएको छ।

इन्टर कसरी आर्थिक संकटमा फस्यो? यसका धेरै कारण छन्। एउटा कारण त कोभिड–१९ महामारीले ल्याएको प्रभाव हो। त्यही बेला सुनिङ आफैँ पनि आर्थिक समस्यामा फस्यो। चिनियाँ बजारमा उसको व्यापार घट्यो। फेरि चीन सरकारले पनि युरोपियन फुटबलमा लगानी गरेका निजी कम्पनीहरूलाई वास्ता गर्न छाड्यो।

असाध्यै अप्ठ्यारोमा परेको सुनिङलाई सन् २०२१ मा चीन सरकारले साढे एक अर्ब बराबरको ऋण दियो। त्यही वर्ष सुनिङले आफ्नो चिनियाँ क्लब बन्द गर्‍यो। जसले सन् २०२० मा मात्र चिनियाँ सुपर लिग जितेको थियो। कुनैबेला फाबियो कापेलो प्रशिक्षक रहेको जियाङसु एफसी बन्द गर्दा सुनिङले सुनाएको निर्णय थियो, ‘अब पारम्परिक व्यापारमै केन्द्रित हुने।’

आर्थिक अवस्था नसुध्रिएसम्म इन्टरमा खर्च घटाइरहने सुनिङको योजना छ। कोन्टेले इन्टर छाड्नुको कारण पनि खर्च कटौती नै थियो। उपाधि जित्न योगदान गरेका कयौँ खेलाडी बिक्री गरिने भएपछि कोन्टेले आक्रोशित हुँदै राजीनामा दिएका थिए। त्यसबेला बिक्री भएका रोमेलु लुकाकु यो सिजन इन्टरमै छन्। उनी चेल्सीबाट ऋण स्थान्तरणमा फर्किएका हुन्। लुकाकुसँगै बिक्री गरिएको अचरफ हाकिमी चाहिँ पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेलिरहेका छन्।

सुनिङले इन्टरमा गरेको लगानी बढाउन ऋण लिएको छ। अमेरिकी सहर क्यालिफोर्नियाको ओएकट्री क्यापिटले सुनिङलाई २९ करोड ४० लाख अमेरिकी डलर दिएको हो। ऋण बढ्दै जाँँदा आम्दानी भने घट्दै गएको छ।

आर्थिक अवस्था नसुध्रिएसम्म इन्टरमा खर्च घटाइरहने सुनिङको योजना छ। कोन्टेले इन्टर छाड्नुको कारण पनि खर्च कटौती नै थियो। उपाधि जित्न योगदान गरेका कयौँ खेलाडी बिक्री गरिने भएपछि कोन्टेले आक्रोशित हुँदै राजीनामा दिएका थिए।

यो सिजन कयौँ सिजन इन्टरले प्रयोजकबिनाको जर्सी लगाएर खेलेको छ। जबकि जर्सीको अघिल्लो भागमा प्रायोजकको नाम राखिदिएवापत क्लहरूले करोडौँ आम्दानी गर्छन्। उसो त इन्टरले पनि प्रायोजक नपाएको होइन। ‘क्रिप्टोकरेन्सी’ कम्पनी डिजिटलबिट्सले इन्टरलाई जुन, २०२६ सम्ममा आठ करोड अमेरिकी डलर तिर्ने सम्झौता थियो। तर सम्झौताको पालना नभएपछि इन्टर जर्सीबाट डिभिजटलबिट्सको नाम झिक्न बाध्य भएको हो।

शनिबार भने इन्टरको जर्सीमा ‘पारामाउन्ट प्लस’ हुनेछ। अमेरिकामा च्याम्पियन्स लिग र सिरी ए प्रशरण गर्ने यो कम्पनीले इन्टरसँग हालै मात्र सम्झौता गरेको हो। इन्टरले आगामी सिजन पनि ‘पारामाउन्ट प्लस’ लाई आफ्नो जर्सीमा राख्नेछ। यसवापत ४५ लाख अमेरिकी डर प्राप्त गर्नेछ।

तर यति पैसाले इन्टरको आर्थिक समस्या सुल्झिने अवस्था छैन। किनभने इन्टरले तिर्नुपर्ने रकम ३७ करोड ५० लाख रहेको बताइन्छ। हुन त इन्टरले च्याम्पियन्स लिगबाट राम्रै आम्दानी गर्नेछ। तर ऋण तिर्न पुग्दो हुनेछैन। यस्तोमा इन्टरसँग भएको विकल्प हो, खेलाडी बिक्री।

एसी मिलान खरिद गर्दा लागेको ऋण तिर्न नसकेपछि चिनियाँ समूह क्लब बिक्री गर्न बाध्य भएको थियो। इन्टर पनि आउँदा दिनमा त्यही स्थितिमा पुग्नसक्छ। ‘ओकट्रीसँग लिएको ऋणको ब्याजदर असाध्यै धेरै छ। यसरी त इन्टरले ऋण तिर्नै सक्दैन। फेरि अध्यक्ष स्टिभन झाङले चीनबाट पैसा ल्याएर ऋण तिर्न सक्ने अवस्था पनि छैन। त्यसकारण अन्ततः झाङले ओकट्रीलाई क्लब बुझाउनेछन्,’ इन्टरका पूर्वनिर्देशक एर्नेस्टो पाओलिल्लोले भनेका थिए।

ओकट्री भने इन्टरको व्यवस्थापन जिम्मा लिने योजना तत्कालका लागि नरहेको बताउँछ। ‘हामी आफ्ना साझेदारहरूसँगको सम्बन्धलाई जोड दिन्छौँ। इन्टरको जिम्मा लिने योजना छैन। तर भविष्य कसले देखेको छ र?’ ओकट्रीका प्रबन्ध निर्देशक अलेहान्द्रो कानो भन्छन्।

अहिलेको अप्ठ्यारो स्थिति पार लगाउन सुनिङले ओकट्रीबाट लिएको ऋण तिर्ने भाका सार्न खोजेको बताइँदैछ। सँगसँगै सुनिङ अर्को विकल्पमा पनि गम्भीर छ। त्यो हो, क्लब बिक्री। भलै झाङ इन्टर बिक्रीमा नरहेको बताउँछन्। बजारमा चलेका हल्ला चिर्न उनले गत अप्रिल र अक्टोबरमा विज्ञप्ति नै निकालेका थिए।

तर यहाँ भुल्न नहुने तथ्य के छ भने, इन्टरले सम्भावित बिक्री प्रक्रियालाई अघि बढाउन रेने इन्भेस्टमेन्ट बैंकलाई एजेन्ट तोकेको छ। जसले चेल्सी बिक्रीको प्रक्रिया सम्हालेको थियो। ग्लेजर परिवारलाई म्यानचेस्टर युनाइटेडको बिक्री प्रक्रियामा सहयोग गरिरहेको बैंक पनि रेने नै हो।

कयौँ समूहले इन्टर खरिदमा चासो देखाइरहेका छन्। ती चासो राख्ने धेरैजसो समूह अमेरिकी हुन्। उनीहरूका प्रतिनिधिलाई इन्टरको भ्रमण गराउने काम पनि भइरहेकै छ। तर हालसम्म बिक्रीबारे औपचारिक छलफल भने भइसकेको छैन। यसको कारण हो, मूल्य। सुनिङले इन्टरको मूल्य एक अर्ब २० करोड अमेरिकी डलर राखेको छ। रेडबर्ड क्यापिटल पार्टनरले मिलानलाई ठ्याक्कै यति नै रकममा खरिद गरेको थियो। तर इन्टरको वर्तमान अवस्थाका कारण कोही पनि सुनिङले राखेको मोल तिर्न तयार छैनन्।

आर्थिक संकट भए पनि इन्टर आफूलाई बलियो ढंगमा प्रस्तुत गरिरहेकै छ। नाम चलेका खेलाडीका लागि इन्टर अझै पनि आकर्षक गन्तव्य हो। अरू त अरू विश्वकप जितेका स्ट्राइकर लाउटारो मार्टिनेजले पनि इन्टर छाड्न मानेनन्, जबकि उनलाई धनी क्लबहरूले स्थान्तरणको प्रस्ताव राखेको थिए। उनले म्यानचेस्टर युनाइटेडको प्रस्ताव पनि अस्वीकार गरे।

इन्टर पनि आफ्ना स्टार खेलाडी बेचेर आर्थिक रूपमा कमजोर भएको सन्देश दिन चाहँदैन। तर इन्टरको यो रणनीति लामोसमय टिक्ने खालको छैन। इन्टरको आर्थिक स्थिति यति बिग्रिएको छ कि नयाँ रंगशालाको डिजाइन पनि उधारोमा गराइरहेको छ। इन्टरले नयाँ रंगशाला मिलानसँग मिलेर निर्माण गर्न लागेको हो। जुन हालको रंगशाला सानसिरोबाट धेरै टाढा छैन।

इन्टरसँग दिर्घकालीन योजना बनाउने सुविधा छैन। न त वर्तमान नै बलियो छ। यस्तो लाग्छ, इन्टर च्याम्पियन्स लिग फाइनल बुढो घुँडामा ‘टेपिङ’ गरेर खेल्न लागेको छ। च्याम्पियन्स लिग जितिहाले इन्टरका लागि ठूलो राहत हुनेछ। जसले केही समयकै लागि भए पनि इन्टरको समस्यालाई छायामा पार्नेछ।

प्रकाशित: २६ जेठ २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =