हरियोखर्क अस्पतालमा आइलिन एन्ड बेट्टी सेन्टर सञ्‍चालन भएपछि कुष्ठरोगीको उपचारमा सहज

हिमाल प्रेस २७ जेठ २०८० ९:३३
4
SHARES
हरियोखर्क अस्पतालमा आइलिन एन्ड बेट्टी सेन्टर सञ्‍चालन भएपछि कुष्ठरोगीको उपचारमा सहज

पोखरा– इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एन्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ। कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

कुष्ठरोग प्रभावितको स्वास्थ्य समस्या तथा उपचारका लागि तत्कालीन बेलायती नागरिक आइलिन लज र बेट्टी बेलीको स्मरणमा ०१४ सालमा नयाँ गाउँमा निर्माण गरिएको हरियोखर्क अस्पतालमा सञ्चालन गरिएको यस भवनमा ३० शय्या छन्। यससँगै अस्पतालमा १ सय शय्यामा कुष्ठरोगका बिरामीको उपचार हुने बताइन्छ।

हरियोखर्क अस्पतालमा छाला तथा कुष्ठरोग, मेरुदण्ड पक्षघात, कानसम्बन्धी रोगहरूको निदान, हाडजोर्नी, शारीरिक पुनःस्थापना सेवालगायतका उपचार सेवा प्रदान गर्दै आएको छ। आइलिन एन्ड बेट्टी सेन्टर भवन २ करोड ७४ लाख ४९ हजार रुपैयाँ लगायतमा निर्माण गरिएको आइएनएफका स्वास्थ्य सेवा निर्देशक डा. अरुणकुमार बुढाको भनाइ छ।

उनका अनुसार भवनमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड ५० लाख, आइएनएफ युकेको १ करोड १ लाख १२ हजार र आइएनएफ क्यानाडको २३ लाख ३७ हजार ७०४ लगानी भएको छ।

सुविधासम्पन्न नयाँ भवन निर्माण र शय्या वृद्धि भएसँगै बिरामीको उपचारमा सुविधा पुग्ने अस्पतालले जनाएको छ। आइएनएफले ००९ देखि नेपालका गरिब तथा सुविधाबाट वञ्चित नागरिकको जीवनमा सहजता ल्याउने उद्देश्यले विपन्न र विकट समुदायमा स्वास्थ्य तथा विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आइएनएफले पोखरा, बाँके र सुर्खेतमा अवस्थित आफ्ना ३ अस्पतालमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। हाल हरियोखर्क अस्पताल कुष्ठरोगको उपचारका लागि पर्यायवाची बनेको छ। हरियोखर्क अस्पताललाई अपांगतामा आधारित पाँच सय शय्याको विशिष्ट अस्पालको रूपमा विकास गर्दै लैजाने भावी कार्यक्रम रहेको बताइन्छ।

आइएनएफले शून्य कुष्ठरोग रणनीतिसमेत सार्वजनिक गरेको छ।

आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्णरूपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणनीतिक योजना तयार गरेको बताए।

सरकारको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको अध्यक्ष तिमोथीको भनाइ छ। नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न उनीहरूलाई पुनःस्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पुर्‍याउन आइएनएफले योगदान गरेको छ। -रासस

प्रकाशित: २७ जेठ २०८० ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =