जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

हिमाल प्रेस २५ जेठ २०८० १५:०२
2
SHARE
जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो जुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलोमा मार्सीधान रोप्दै किसानसँग चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थी। तस्बिर : विजय रावत/रासस

जुम्ला- जुम्लाका किसानले मार्सीधान रोपाइँ सुरु गरेका छन्। यतिबेला यहाँका किसान बिहानदेखि रातिसम्मै खेतमा व्यस्त हुन थालेका छन्। जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठीचौर गाउँपालिकाका स्थानीय राज्यलक्ष्मी देवकोटाले बताइन्।

पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि मार्सी धान रोपाइँप्रति किसानको आकर्षण झनबढेको छ। जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि यसको खेति बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताए।

जिल्लाका एक नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मार्सी धाने रोपाइँ भइरहेको छ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुन्छ। सोमध्ये १ हजार २ सय हेक्टरमा मार्सी धान खेती हुने गरेको छ। गत वर्षको असोजमा आएको बाढीपहिरोका कारण सिञ्जा गाउँपालिकाको धान रोपाइँ गर्ने ४२ वटा कुलोमा क्षति पुगेको थियो।

गाउँपालिकाको लगानी र स्थानीयको श्रमदानमा २८ वटा कुलो पुनर्निर्माण भई सञ्चालनमा आएपछि सिञ्जाका अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए।

शेरा खेतमा रोपाइँ सकियो

जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ सकिएको छ। परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान शेरा खेतमा बुधबार रोपिएको हो।

चन्दनाथ बाबाले भारतको काश्मिरबाट ल्याएर खेती सुरु गरिएको मार्सी धानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताए।

प्रत्येक वर्षको जेठ १४ गते रोपाइँ हुँदै आएकोमा सो खेतमा योे वर्ष बीउको अभावले रोपाइँ ढिलो भएको हो। ‘चन्दननाथ बाबाको शेरा जिउलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउन मार्सी धान रोप्ने गरिन्छ,’ उनले भने। जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ।

जुम्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सी धान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने प्रचलन हराउन थालेको यहाँका स्थानीयको भनाइ छ।

परम्परागत रूपमा रोपाइँ हुँदै आएको शेरा खेतमा यो वर्ष २२ भारी खेतमा रोपाइँ गरिएको छ। तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिका–८ र ९ बाट बीउ ल्याएर रोपाइँ गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले बताएको छ।

मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो। समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्न प्रदेश सरकारले प्रथामिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताए।

मार्सी धान संरक्षण गर्न गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम बिनियोजन गर्ने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्। संघीय सरकारले आगामी आबको बजेटमा जुम्ली मार्सी धानको ब्राण्डिङ गर्ने उल्लेख गरेको छ। रासस

प्रकाशित: २५ जेठ २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =