६५ वर्ष पहिले सन् १९५८ मा नेपालले अमेरिकालाई एकजोडी भोटे कुकुर उपहार दिएको थियो। अमेरिकाका ३४ औँ राष्ट्रपतिका रूपमा सन् १९५३-६१ सम्म ड्वाइट डेभिड आइजनआवर ह्वाइटहाउसमा थिए। आइजनआवरको राष्ट्रपति निर्वाचनको तयारी, उम्मेदवारी र चुनावी प्रचारप्रसारदेखि नै सहयोगीका रूपमा थोमस एड्विन स्टिफन्स जोडिएका थिए।
सन् १९५३ को २० जनवरीबाट राष्ट्रपति पद सम्हाल्दा ह्वाइटहाउसमा आफ्नो सहयोगी समूहभित्र आइजनआवरले स्टिफन्सलाई सेक्रेटरीमा नियुक्त गरेका थिए। सन् १९५३ को २० जनवरीमा सम्पन्न आइजनआवरको शपथ ग्रहण नेपाल अमेरिका सम्बन्धमा पनि महत्त्वपूर्ण छ। नेपालको प्रतिनिधिले औपचारिक रूपमा अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थिति जनाएको त्यही नै पहिलोपटक हो।
त्यतिबेला लन्डनमा हुने आवासीय राजदूत फ्रान्स र अमेरिकाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारीमा रहन्थे। राष्ट्रपति आइजनआवरका सहयोगी रहेका स्टिफन्स सन् १९५५ सम्म त्यही पदमा रहे। आइजनआवरले दोस्रो कार्यकालका राष्ट्रपतिको उम्मेदवारी दिँदा उनको निर्वाचन अभियानमा स्टिफन्स पुनः जोडिएका थिए। स्टिफन्स ह्वाइटहाउसमा राष्ट्रपति आइजनआवरको औपचारिक जिम्मेवारीमा नभए पनि रिपब्लिकन पार्टी र राष्ट्रपतिको नजिकको सहयोगीका रूपमा भने सधैँ जोडिएका थिए।
राष्ट्रपति आइजनआवरका उनै सहयोगी थोमस एड्विन स्टिफन्सले दिल्लीस्थित अमेरिकी राजदूत एल्सवर्थ बंकरलाई नेपाली भोटे कुकुर खोजिदिन आग्रह गरेका थिए। सन् १९५७ मा नेपालमा अमेरिकी राजदूतावास खुलेको थिएन। दिल्लीका लागि अमेरिकी राजदूत नेपालका लागि राजदूत हुन्थे।
सन् १९५१ मा हस्ताक्षर भएर नेपालमा कार्यान्वयन भएको अमेरिका सहायता परियोजना पोइन्ट फोर (चतुरलक्ष) कार्यक्रमअन्तर्गत अमेरिकी प्राविधिक टोली नेपालमा थियो। त्यसको नेतृत्व पल रोजले गरेका थिए। उनीहरूको कार्यालय रविभवनमा थियो। अमेरिकामा नेपालको राजदूतावास खुलिसकेको थिएन। संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग भने न्युयोर्कमा थियो। न्युयोर्कमा नेपालका स्थायी प्रतिनिधि हृषीकेश शाह थिए।
सन् १९५७ को सेप्टेम्बर १७ को बेलुका न्युयोर्कको सेन्ट्रलपार्कमा संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि शाहमाथि छुरा प्रहार र लुटपाट भएको थियो। सोही १९ सेप्टेम्बरको बिहान दिल्लीस्थित अमेरिकी दूतावासका प्रथम सचिव नेपाली राजदूतावास दिल्ली पुगेका थिए। उक्त घटनाप्रति अमेरिकी सरकारका तर्फबाट खेद प्रकट गर्न उनी पुगेका थिए।
त्यसै भेटमा नेपाली राजदूतावास दिल्लीका प्रथम सचिव भरतराज भण्डारीसँग उनले अमेरिकी राष्ट्रपतिका सेक्रेटरी थोमस एड्विन स्टिफन्सबाट राजदूत बंकरलाई एक जोडी नेपाली भोटे कुकुरका बारेमा एउटा व्यक्तिगत पत्र आएको जानकारी गराएका थिए। उनले ती कुकुरकाे मूल्य कति पर्छ र त्यसलाई केकसरी अमेरिका पुर्याउन सकिएला भन्ने जिज्ञासा राखेका थिए।
भण्डारीले यस विषयमा आफूले काठमाडौँमा बुझ्ने र त्यसपछि जवाफ दिने बताएका थिए। भण्डारीले दिल्लीबाट काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा अमेरिकी अधिकारीसँगको कुराकानी र कुकुरको माग भएको विषयमा जानकारी गराएका थिए। जवाफमा तत्कालीन परराष्ट्र सचिव नरप्रताप थापाले राष्ट्रपति आइजनआवरलाई कुकुर चाहिएको हो भने मूल्य नलिएर नेपालले एकजोडी कुकुर उपहार दिने कुरा उल्लेख गरेका थिए। नेपालले हिमाली जिल्लाबाट कुकुर काठमाडौँ मगाउने र त्यसपछि मात्र थप जानकारी उपलब्ध गराउने भन्दै जाडोको समयमा कुकुर लैजान सकिने उल्लेख गरेको थियो। (दिल्लीस्थित अमेरिकी दूतावास र नेपाली दूतावासका अधिकारीबीचको कुराकानीको अभिलेखमा आधारित।)
राष्ट्रपति आइजनआवरका सेक्रेटरीमार्फत भोटे कुकुर (त्यतिबेला नेपालमा त्यसलाई शेर्पा कुकुर भनी उल्लेख गरिएको थियो।) माग गरिएपछि नेपालले एक जोडी कुकुर खोजिदिएको थियो। कालो रङका ती कुकुरमा १० महिनाको भाले र ८ महिनाको पोथी थिए। तौल क्रमशः ६६ पाउन्ड र ४४ पाउन्ड थियो भने उचाइ सवा तीन फिट थियो।
सन् १९५७ सेप्टेम्बरको तेस्रो साता माग गरिएका एक जोडी कुकुर नेपालले सन् १९५८ को जनवरी पहिलो सातामा तयार गरी अमेरिका पठाएको थियो। ७ जनवरीका दिन नेपालबाट ती कुकुर विमानमा दिल्ली उडेका थिए। काठमाडौँमा ती कुकुर तत्कालीन परराष्ट्र सचिव नरप्रताप थापाले नेपालस्थित अमेरिकी सहायता परियोजना प्रमुख पल रोजलाई हस्तान्तरण गरेका थिए। नेपालबाट हिमाली भोटे कुकुर अमेरिका पठाएको सम्भवत: त्यही नै पहिलो घटना थियो। (दी लस एन्जल्स टाइम्स, ८ जनवरी १९५८)
दिल्ली पुगेपछि ती कुकुरलाई विमानस्थलबाट त्यहाँस्थित अमेरिकी दूतावासका राजनीतिक मामिला हेर्ने अधिकारी डगलस हेक (हेक पछि सन् १९७७ देखि १९८० सम्म नेपालका लागि अमेरिकी राजदूत थिए।) ले जिपमा राखी दूतावास पुर्याएका थिए। ती कुकुरलाई दिल्लीमा झन्डै ३ साता राखेपछि ३० जनवरीका दिन ब्रिटिस ओभरसिज कर्पोरेसनको विमानबाट लन्डन हुँदै न्युयोर्कतर्फ लगिएको थियो। दिल्लीदेखि न्युयोर्कसम्म लैजान विमान भाडाबापत ४६२ अमेरिकी डलर मूल्य खर्च गरिएको थियो। (दी न्युयोर्क टाइम्स, ३१ जनवरी १९५८)
ती कुकुर एनिमल कार्गो विमानबाट लन्डन हुँदै न्युयोर्क पुर्याइएको थियो। थोमस स्टिफन्सले मगाएका ती कुकुर ४ फेब्रुअरीका दिन उनका मित्र अमेरिकी उद्योगपति ह्यारी डार्वीले कन्सास सिटीमा बुझेका थिए। डार्वीले ती कुकुर आफूले आफ्ना मित्र स्टिफन्सका लागि अस्थायी रूपमा राखिदिएको उल्लेख गरेका थिए। (दी न्युयोर्क टाइम्स, ५ फेब्रुअरी १९५८)
अमेरिका पुगेका ती नेपाली भोटे कुकुरमा भालेको नाम भोटे र पोथीको नाम कान्छी राखिएको थियो। कन्सास सिटी पुगेको करिब १० दिनपछि १४ फेब्रुअरीमा पोथी कुकुरले तीनवटा बच्चा जन्माएकी थिई। बच्चा पाउँदासम्म ती कुकुरलाई मगाउने स्टिफन्सले लगेका थिएनन्। ती कन्सास सिटीमा डार्वी सँगै थिए। (दी न्युयोर्क टाइम्स, ५ फेब्रुअरी १९५८)
राष्ट्रपति आइजनआवरका सेक्रेटरीमार्फत कुकुर माग गरिएको थियो। नेपालबाट अमेरिकी राष्ट्रपतिका लागि कुकुर उपहार पठाइएको विषयले त्यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्रशस्त चर्चा पाएको थियो। ती कुकुर राष्ट्रपतिका लागि हुन् भन्ने बुझाइ नेपालसहित सञ्चारमाध्यमको थियो।
काठमाडौँमा नेपालको परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली राजदूतावासका अधिकारीले ती कुकुर राष्ट्रपति आइजनआवरका लागि उपहार पठाइएको हो भनी उल्लेख गरेका थिए। तर दिल्लीस्थित अमेरिकी दूतावासका अधिकारी हेकले भने ती कुकुर राष्ट्रपतिका लागि पठाइएको भन्ने मान्न इन्कार गरेका थिए।
उनले ती कुकुर राष्ट्रपति आइजनआवरले नभई उनका सेक्रेटरी थोमस स्टिफन्सले मगाएको भनी उल्लेख गरेका थिए। स्टिफन्सले तार पठाएर कुकुरको मूल्य सोधेको र त्यसको ढुवानी लागत आफूले व्यहोर्ने उल्लेख गरेको भनी हेकले बताएका थिए। नेपालबाट कुकुर पठाएको बारेमा वासिङ्टनमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीलाई समेत सञ्चारकर्मीले प्रश्न सोधेका थिए। ह्वाइटहाउसका प्रेस सेक्रेटरी जेम्स हागर्टीले राष्ट्रपतिका तर्फबाट ती कुकुरको माग नगरेको स्पष्ट पारेका थिए। (दी न्युयोर्क टाइम्स, २२ जनवरी १९५८ र किङस्पोर्ट टाइम्स, २३ जनवरी १९५८)
स्टिफन्समार्फत ती कुकुर माग गरेकाले नेपालले राष्ट्रपतिका लागि भनी ती कुकुर उपहार दिएको थियो। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस नपुगे पनि ती कुकुर अमेरिकी कन्सास सिटीमा थिए। त्यहाँ पुगेको केही दिनमा तीनवटा सन्तान जन्मिएकाले त्यहाँ अरू धेरै फैलिए होलान् भन्ने अनुमान गर्न सकिन्छ। ६५ वर्षपहिले अमेरिका पुगेका नेपालको हिमाली भोटे कुकुर अमेरिकाका कतिवटा राज्यसम्म कति परिमाणमा फैलिए होलान् यो खोजीको विषय छ।