जोसे मौउरिन्होलाई परबाटै हेरे ठिक। त्यसो गर्दा उनी असल लाग्न सक्छन्। तर उनीसँग आमनेसामने भए, अनुभव खराब हुनसक्छ। उनी यस्तै छन्। अझ भन्दा ‘क्लासिक’। ‘क्लासिक जोसे’ उनलाई मन पराउनेले दिएको नाम हो यो।
मौउरिन्हो अजिब छन्। अनेक अभिव्यक्ति दिइरहन्छन्। जसले हामीलाई मुस्कुराउन बाध्य बनाउँछ। हालै उनले टोटनहमका अध्यक्ष डानियल लेभीको आलोचना गरे। पूर्वक्लबका अध्यक्षमाथि त्यस्तो निर्मम आलोचना मौउरिन्होबाहेक अरूले गर्न सक्दैनन्।
मौउरिन्होको मुख मात्र होइन मस्तिष्क पनि तेज चल्छ। विपक्षीअनुसारको रणनीति बनाउन उनी सिपालु छन्। हुन त यो भनिरहने कुरै होइन। युरोपा लिग सेमिफाइनलकै दोस्रो लेग सम्झिऊँ न। बायर्न लेभरकुजनलाई एएस रोमाले असाध्यै दिक्क लगाएकै हो। त्यो खेलमा रोमालाई गोल गर्नु नै थिएन। नत्र किन लेभरकुजनको पोस्टमा एकपल्ट मात्र प्रहार गर्थ्याे?
मौउरिन्हो झगडा गरिरहन्छन्। जित्न नसकिने लडाइँमा पनि सहभागी भइरहन्छन्। विपक्षीलाई उकासिरहन्छन्। मौउरिन्होले बुधबार राति युरोपा फाइनलमा पनि यसै गरे। तर उनको टिमले भने खराब खेल्यो।
सेभियालाई हराउँदै युरोपा जितेको भए, रोमाका लागि युरोपेली क्लब फुटबलमा यो सबैभन्दा ठूलो सफलता हुने थियो। यो सफलता रोमा समर्थकले आउँदा धेरै वर्षमा किन बिर्सिन्थे र? रोमको यो क्लबको इतिहासमा मौउरिन्होको स्थान स्वतः बलियो भइहाल्थ्यो। हुन त मौउरिन्होलाई रोमाका समर्थक असाध्यै सम्मान गर्छन्। युरोपामा भोगेको असफलताले यो तथ्य तत्काल परिवर्तन हुनेवाला छैन।
मौउरिन्हो आफ्ना पूर्वक्लबहरुमा पनि उत्तिकै प्रिय थिए। तर ती क्लबबाट उनको बर्हिमगन भने सकारात्मक ढंगमा हुन सकेको होइन। रियल म्याड्रिड वा चेल्सी (दोस्रो बसाइ) छाड्दा उनी र समर्थकबीच एक हदसम्म दूरी स्थापित भएकै हो। मौउरिन्होको यो विगत विचार गर्ने रोमा समर्थक पनि पक्कै होलान्।
युरोपामा सर्वाधिक सफल क्लब हो, सेभिया। यसपालि मौउरिन्होको चुनौतीले पनि सेभिया रोकिएन। सन् २००६ पछि सात पटक युरोपा फाइनल खेलेको सेभिया ती सबैमा विजयी भएको छ। यसको सन्देश हो, युरोपामा सेभिया नरोकिने शक्ति बनेको छ। तर यदि रोमाले सामान्य शैलीमा खेलेको भए सेभिया रोकिन्थ्यो कि?
फाइनल हारेपछि पत्रकार सम्मेलनमा मौउरिन्हो आक्रोशित मुद्रामा प्रस्तुत भए। पत्रकार सम्मेलनमा आक्रोश पोख्ने पहिलो प्रशिक्षक होइनन्, मौउरिन्हो। कालोलाई सेतो दाबी गर्ने, मैदानमा अनावश्यक रुपमा अरुमाथि जाइलाग्ने, हारपछि रेफ्रीको आलोचना गर्ने पहिलो प्रशिक्षक पनि उनी होइनन्।
मौउरिन्हो शून्यवादी हुन्। उनी प्रत्येक खेल जित्न चाहन्छन्। केवल खेल मात्र। उनी न त समाजकाे मन जित्न चाहन्छन्, न त उनलाई भलाद्मी नै बन्नु छ। उनी मात्र होइनन्, उनका सबै सहायक र खेलाडीहरु रेफ्रीका प्रत्येक निर्णयसँग असहमति राख्छन्। कतिसम्म भने आफ्नै पक्षमा निर्णय आए पनि रेफ्रीलाई दबाब दिन छाड्दैनन्। फ्रिकिक पाएका बेला विपक्षी खेलाडीलाई पहेलो कार्ड दिन दबाब दिन्छन्। रोमाको बेन्च हरेक खेलमा आक्रामक देखिन्छ। यसको प्रमाण हो, बेन्चका सदस्यलाई यो सिजन देखाइएको १३ रातो कार्ड।
रोमाको बेन्च आक्रामक हुनु फगत संयोग होइन। यो त रणनीति हो। ताकि रेफ्रीलाई दबाबमा राख्न सकियोस्। यसो अरु क्लबले पनि गर्छन्। रोमासँग भिडेको सेभिया पनि चोखो थिएन। तर सेभियाको बेन्चमा बसेकाहरुको हाउभाउ हेर्दा लाग्थ्यो, उनीहरु रोमालाई प्रतिक्रिया दिइरहेका छन्।
आधुनिक फुटबल यस्तो भइसक्यो कि, पराजित टिमका प्रशिक्षक, खेलाडी, समर्थक हारको कारण रेफ्रीलाई बनाउँछन्। यसकारण पनि रेफ्रीको काम झन् झन् कठिन बन्दै गइरहेको छ। जब मैदानमा दुवै टिमका खेलाडी ठग्न मात्र खोज्छन् भने रेफ्री त स्वतः अप्ठयारोमा पर्छन् नै। पुस्कास ऐरिनामा पनि यस्तै दृश्य देखिए।
जब निर्धारित समय सकिएपछि आतिरिक्त समय सुरु भयो, तब रोमा फरक रणनीतिमा देखियो। अब रोमाका खेलाडी थोरै धेकिलिँदैमा घाइते भएको बहाना गर्न थाले। यहीबीचमा मौउरिन्होले पहेलो कार्ड पाए। हुन त खेल सुरु हुन साथ गरिएको अनुमान थियो, मौउरिन्होले पटक पटक रेफ्रीसँग कचकच गर्ने नै छन्। जसले गर्दा उनलाई कार्ड देखाइनेछ।
फाइनल कुल १४६ मिनेट चल्यो। यो लामो खेल थियो। तर समर्थकका ‘पैसा असुल’ खेल थिएन। समर्थकलाई यसो लाग्नुको केही अर्थ थिएन। गोन्जालो मोन्टिएलको प्रहार गोलमा परिणत भएसँगै सेभिया च्याम्पियन घोषित भयो। मोन्टियल यिनै खेलाडी हुन्, जसले विश्वकप २०२२ मा अर्जेन्टिनाको निर्णायक पेनाल्टी प्रहार गरेका थिए।
खेलको सुरुवाततिर फर्कने हो भने, रोमा सकारात्मक लयमा थियो। पाउलो डिबालाले पहिलो हाफको ३५ औँ मिनेटमा गोल गर्दै रोमालाई अघि बढाएका थिए। धेरैलाई लागेको थियो, डिबाला पहिलो एघारमा हुनेछैनन्। किनभने उनी पूर्ण रुपमा फिट भइसकेको जानकारी दिइएको थिएन। ‘प्रि–म्याच कन्फ्रेन्स’ मा मौउरिन्होलाई डिबालाको फिटनेसबारे सोधिएको थियो। जवाफमा उनले डिबाला सम्भवतः २० मिनेट खेल्नका लागि मात्र तयार रहेको बताएका थिए।
मौउरिन्होको यो पुरानै बानी हो, आफ्नो टिमबारे सही जानकारी नदिने। डिबालाको हकमा पनि मौउरिन्होले गफ दिएको हुनसक्छ। किनभने डिबाला पहिलो एघारमा त परे नै, सुरुवाती गोल पनि गरे। उनी दोस्रो हाफको ६३ औँ मिनेटमा मात्र मैदानबाट निस्किएका थिए।
डिबालाले मैदान छाड्दै गर्दा खेल १–१ को बराबरीमा पुगिसकेको थियो। जियानलुका मान्सिनीले ५५ औँ मिनेटमा आत्मघाती गोल गरेपछि सेभिया बराबरीको स्थितिमा आइपुगेको थियो। आत्मघाती गोलको सहयोगमा खेल बराबरीमा पुर्याए पनि सेभियाको आक्रामकतामा शंका गर्ने ठाउँ थिएन। सेमिफाइनलमा लभेरकुजनलाई दिक्क बनाए पनि सेभिया भने दिक्क मान्ने मुडमा थिएन। यो खेलमा मौउरिन्होले जस्तो रणनीति बनाएका थिए, यसले फेरि उही प्रश्न उब्जाएको थियो। के मौउरिन्होको रणनीति सही थियो? कतिपय रणनीति सही हुँदाहुँदै पनि नतिजा निस्किँदैन। तर यहाँ मौउरिहन्होले आफ्नो कमजोरीलाई बढी महत्त्व दिएका थिए।
जब खेल सकियो, तब मौउरिन्हो आफ्ना खेलाडीसँगै लामबद्ध भए। विजेता सेभियाका लागि ताली बजाए। त्यसपछि बिस्तारै अलग्गिए। युरोपेली फुटबल महासंघ (यूईएफए) का अध्यक्ष अलेक्जान्डर केफेरिनसँग अंकमाल गरे। उपविजेताको पदक लिए। पछि घाँटीबाट पदक हटाए। र दर्शकदिर्घामा रहेका एक किशोरलाई त्यो पदक दिए। अनि ड्रेसिङ रुमतिर लागे।