प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने

हिमाल प्रेस २९ जेठ २०८० १५:२१ | Monday, June 12, 2023
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने

काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ। संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने र  त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो।

कार्यतालिकामा उजुरीकर्ताहरुसँग छलफलका लागि जेठ ३० गते बुधबार बिहान ११ बजेको समय तोकिएको छ। प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई गर्ने र सो प्रस्ताव अनुमोदन गर्ने लगायतका सचिवालयको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए।

‘उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराइ वा अन्य विधिबाट उजुरीको पुष्टियाइ, औचित्यता स्पष्ट पार्नका लागि आमन्त्रण गर्ने प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने र सुनुवाइ प्रक्रिया सम्पन्न गर्नेलगायतका विषयहरूका सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित ३१ गतेका दिन हामीले उजुरीकर्ताहरूसँग छलफल गरेर यो टुंगो लगाउने,’ उनले भने,’३२ गते प्रस्तावित व्यक्तिलाई बोलाउने र उहाँसँग छलफल गरिसकेपछि त्यसै दिन हामी निर्णय गर्न सक्छौँ।’

गत वैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो।  समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि २९ वटा उजुरी परेको र सो उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई दिइएको छ। संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २९ जेठ २०८० १५:२१ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast