प्रश्न असाञ्जको, चुनौती सबै स्वतन्त्र प्रेसको

ध्रुवहरि अधिकारी ११ जेठ २०८० १२:५२
98
SHARES
प्रश्न असाञ्जको, चुनौती सबै स्वतन्त्र प्रेसको

अमेरिकी राष्ट्रपति जो बाइडेन अष्ट्रेलियाको भ्रमणमा रहेको बेला पारेर ‘जुलियन असाञ्जलाई रिहा गर’ भन्ने अभियान सञ्चालन गरिने तय भएको थियो; तर बाइडेनले सिड्नीमा जापान,भारत र अष्ट्रेलियाका सरकारप्रमुखहरूसँग भेटेर शीर्षस्थ (क्वाड) वार्ताको कार्यक्रम रद्‌द भयो। परन्तु बेलायतको कारागारमा बन्दी बनाइएका पत्रकार जुलियन असाञ्जकी पत्नी स्टेला भने रोकिइनन्। उनी पूर्व-निर्धारित कार्यक्रमअनुसार आफ्ना पतिको जन्म भएको देशमा पहिलो पटक आइन्। र,अष्ट्रेलियाको सरकार,संसद् र प्रेस सबैलाई झक्झकाउने अठोटमा तलमाथि हुन दिइनन्। किनभने उनका पतिको लगातारको कारावास एकैसाथ प्रेस स्वतन्त्रताको उपहाससमेत हुन जाने कुरो उनलाई थाहा छ।

बुधवार सिड्नी नगरको केन्द्रमा रहेको हाइड पार्क असाञ्जको रिहाइका लागि प्रतिबद्ध पत्रकार र मानव अधिकारकर्मीहरूको भेलास्थल भयो। विगत १३ वर्षदेखि एक-न-एक प्रकारको बन्दीजीवन बिताउन बाध्य पारिएका असाञ्जलाई स्वदेश फिर्ता गराउन व्यग्र सयकडौँ मानिसको उपस्थिति थियो। असाञ्जका कथनको उद्धरण भएका पर्चा र नारा-अङ्‌कित तुलहरू बोकेका नरनारीहरू ‘असाञ्जलाई रिहा गर’ भन्ने सशक्त आवाजका साथ शहरका मुख्य-मुख्य भागहरूमा पुगेका थिए। त्यसअघि जनसमूहलाई सम्बोधन गर्ने क्रममा स्टेलाले भनिन्ः- तपाईंहरू सबै त्यस विश्वव्यापी आन्दोलनको अग्रपङ्तिमा हुनुहुन्छ जुन आन्दोलन न्यायप्राप्तिका लागि गरिँदै छ।’ असाञ्जका पिता जोहन शिप्टन छोराको रिहाइको समय नजिक आएको आशामा छन्। असाञ्जका भाइ गाब्रिएलको अपेक्षा पनि उस्तै छ।

जन-चेतनाको पक्ष

प्रेस स्वतन्त्रताका पक्षमा उठेको अन्तर्राष्ट्रिय आवाज अब एउटा टुङ्‌गोमा नपुगीकन रोकिँदैन भन्ने विश्वास निरन्तर बढ्दो छ। अपराध गर्नेहरूले छुट पाउने र ‘अपराध भयो / हुँदैछ है’ भनेर जनसाधारणलाई जानकारी दिएर सजाग गराउने (पत्रकार) चाहिँ दोषी ठहरिने प्रचलनको अन्त्य भएरै छोड्छ भन्ने जनधारणा प्रबल हुँदै गएको छ। अफगानिस्तान र इराकमा अनाहक युद्ध चर्काउने अमेरिकाका क्रमागत सरकारहरू दोषी नहुने तर त्यसका लागि गलत आधार तयार गरिँदै छ है भनेर जनजागरणका लागि काम गर्ने ‘विकिलिक्स्’ सञ्चालक जुलियन असाञ्जचाहिँ अमेरिकी प्रशासनका लागि ‘सुरक्षा जोखिम’ कहलिने? सिड्नीको र्‍यालीका वक्ताहरूले औँल्याएः- सुरक्षा जोखिम थियो/हो भने विकिलिक्स्‌बाट प्राप्त अमेरिकी कूटनीतिक दस्तावेजका आधारमा समाचार प्रकाशित गर्ने न्यूयोर्क टाइम्स लगायतका पाँचवटै अखबारका सम्पादकहरू किन थुनामा परेनन् ?

अनि, विकिलिक्स्‌लाई कूटनीतिक दस्तावेज उपलब्ध गराउने ब्य्राड्ली/चेल्सी म्यानिङ्लाई राष्ट्रपति ओबामाले के आधारमा कैद माफी दिए? उतिखेरका उप-राष्ट्रपति र अहिलेका राष्ट्रपति बाइडेनलाई यी सबै कुराको जानकारी छैन र ? कदाचित् प्रकाशनको कार्य अपराध हुँदो हो त अमेरिकी सम्पादकहरू दण्डित हुनुपर्ने हो, किन भएका छैनन्?

सिड्नीमा असाञ्जको पक्षमा भएको प्रदर्शनका क्रममा ‘आक्रामक विश्वशक्ति’ (बेलीजरेण्ट सुपरपावर) को ज्यादतीको विरोध अमेरिकी संसद्‌मै हुन थालेको घटना पनि चर्चाको विषय बन्यो। केही साताअघि मात्र अमेरिकी प्रतिनिधिसभाका ६ जना सदस्यले सामूहिक रूपमा अमेरिकी महान्याधिवक्ता मेरिक गारल्याण्डलाई संविधानको पहिलो संशोधनको कदर गर्दै असाञ्जविरुद्धका आरोपलाई निष्कृय गराउने आग्रह गरेका थिए। डेमोक्र्याटिक पार्टीका ती सदस्यहरूले असाञ्जलाई फौजदारी मुद्‌दाहरू सामना गर्न अमेरिका पठाइयोस् भनी बेलायत सरकारलाई गरेको अनुरोध अमेरिकाले फिर्ता गरोस् भन्ने माग पनि गरे।

स्मरणीय छ, सन् १९१७ को जासूसी कानून लगाएर दोषी ठहर्‍याइएको खण्डमा असाञ्जलाई अमेरिकामा १७५ वर्षसम्म कारावास हुन सक्ने अवस्था छ। अमेरिकाको दबाबमा बेलायतले पक्रेर अमेरिका सुपुर्दगी गर्ने भयका कारण असाञ्ज सन् २०१० देखि लण्डनमा ईक्वेडोरको दूतावासमा सात वर्ष शरण लिन पुगेको कुरा संसारले देखेको छ। यसप्रकारका दबाब सभ्य समाजले स्वीकार गर्ने कुरै आउँदैन। तसर्थ अमेरिकी धृष्टता निरन्तर आलोच्य भएको हो।

दोहोरो मापदण्ड

मेरिक गारल्याण्डलाई यसबीचमा अष्ट्रेलियाकै ४८ जना सांसद्को पनि खुलापत्र पुग्यो जसमा असाञ्जलाई लखेटिरहँदा विश्वभरमै ‘प्रेस स्वतन्त्रता’को विपक्षमा डरलाग्दो नजीर कायम हुने र अमेरिकाकै इज्जतमा धक्का पुग्ने कुराहरूको उल्लेख भएको छ। ४८ सांसद्‌मध्ये १३ जना सत्तारुढ लेबर पार्टीका सदस्य हुन्। यिनै घटना-विकासको आसपासमा प्रधानमन्त्री एन्थोनी अल्बेनिजीले पनि असाञ्जको मामिला वर्षौं लम्बिएकोमा सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। यस विषयमा विपक्षी दलका नेताहरूले पनि समान विचार पोखेका छन्। सांसद्हरूको सर्वदलीय टोलीले अमेरिकी राजदूत क्यारोलाइन केनेडीलाई भेटेरै ध्यानाकर्षण गराएका छन्। बाइडेन प्रशासनले असाञ्जको मामिलालाई कतिञ्जेल टङ्‌ग्याएर राख्न सक्छ? अमेरिकी अखबार ‘वाल स्ट्रीट जर्नल’ का संवाददातालाई मास्कोमा गिरफ्तार गरेको घटनामा चर्को स्वरले विरोध गर्ने वाशिङ्टन असाञ्जबारे बेग्लै मापदण्ड कसरी अपनाउन सक्छ? प्रश्नहरू पेचिला छन्।

असाञ्जको पक्षमा आवाज उठाउनु प्रकारान्तरले प्रेस स्वतन्त्रता कुनै मुलुकमा पनि कुण्ठित नहोस् भनेर चनाखो रहनु हो। लोकतान्त्रिक परिपाटीमा आबद्ध नेपालका सञ्चारकर्मीहरू पनि सावधान रहनुपर्ने समय छ। त्यसकारण असाञ्जको पक्षमा संस्थागत तवरले ऐक्यबद्धता जनाउन पत्रकार महासंघजस्ता निकायले तत्परता देखाउनु बुद्धिमानी हुनेछ।

प्रकाशित: ११ जेठ २०८० १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =