प्रेसलाई कसेर संघीयता संकुचन पार्ने षड्यन्त्र भइरहेको छ : गगन थापा

हिमाल प्रेस २१ माघ २०७९ १५:१३
4
SHARES
प्रेसलाई कसेर संघीयता संकुचन पार्ने षड्यन्त्र भइरहेको छ : गगन थापा फाइल तस्बिर

बारा– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन्। बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको उनको भनाइ छ। संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएका उल्लेख गर्दै उनले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे।

‘प्रेसमाथि दबाब दिएर संघीयतालाई संकुचन पार्ने र समाप्त पार्ने खेल भइरहेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका थापाले भने, ‘सबैले सजग र सचेत भई संघीयताको रक्षा गर्ने बेला आएको छ।’

कांग्रेसलाई कमजोर पार्नका निमित्त र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उनले जिकिर गरे।

नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, पूर्वकेन्द्रीय सदस्य गुरुराज बराल, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव, संविधानसभा सदस्य डा. शोभाकर पराजुली, युनियनका महासचिव दिलीप पौडेललगायतले प्रेसलाई अंकुश लगाउने कार्य सह्य नहुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =