१४ दिनदेखि आमरण अनशन बसेकी बिनुलाई ज्यान मार्ने धम्की!

सुस्मिता बजगाईं ९ जेठ २०८० १९:२७
172
SHARES
१४ दिनदेखि आमरण अनशन बसेकी बिनुलाई ज्यान मार्ने धम्की! अनशनरत बिनु।

काठमाडौँ– सिरहाकी २९ वर्षीया बिनु यादव न्यायको माग गर्दै आमरण अनशनमा बसेको मंगलबार १४ दिन भयो। बलात्कार र घरेलु हिंसाबाट पीडित भएकाले दोषीमाथि कडा कारबाही हुनुपर्ने ६ बुँदे माग राखी उनी काठमाडौँको माइतीघरमा अनशन बसिरहेकी छन्।

बिनुले पूर्वपति प्रदीप कठायत र उनका आफन्तबाट यौनहिंसा भएको आरोप लगाउँदै आएकी छन्। कठायत रामेछापका हुन्। प्रदीप र बिनुबीच बीच सात वर्षअघि प्रेमविवाह भएको थियो।

पति नै पीडक बनेको भनेर उनले अदालत, न्यायाधीश, न्याय प्रशासन र विभिन्न संघसंस्था धाउन थालेको पाँच वर्ष बितेको छ। तर कहीँकतैबाट सहयोग नपाएको उनको गुनासो छ। उनी भन्छिन्, ‘न्याय नपाएपछि सडकमा आउन बाध्य भएकी हुँ।’

पूर्वपति प्रदीपसँगै रामेछापका तत्कालीन डीएसपी सुरज कार्की, रामेछाप जिल्ला अदालतमा न्यायाधीश बद्रीप्रसाद ओली, काकाससुरा पवन कठायतमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग बिनुको छ।

उनको पहिलो माग छ, ‘कालीमाटी प्रहरीलाई २०७५ सालमा म उपर भएको जबजरस्ती करणीको दिएको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन डीएसपी सुरज कार्की र प्रसूतिगृहमा गराइएको स्वास्थ्य परीक्षणका आधारमा अनुसन्धान गरी बलात्कारी प्रदीप कठायतलाई पनि कारबाही गरिपाऊँ।’

बलात्कारको हदम्याद कटाउन आफूमाथि विवाहको षड्यन्त्र गरी बेवारिसे बनाएको आरोप उनको छ। यस्तै इच्छाविपरीत सम्बन्ध विच्छेद गराएर न्यायबाट पनि वञ्चित हुनुपरेको उनले बताइन्।

काकाससुरा पवन कठायतले पटकपटक बलात्कार प्रयास गर्ने र यातना दिने गरेको उनको आरोप छ। आपराधिक क्रियाकलापबाट बच्न सुरुमा बिहे गर्ने अनि आफू बचेपछि सजिलै उन्मुक्ति पाउन सम्बन्ध विच्छेद गर्ने आरोप उनले पूर्वपति प्रदीपमाथि लगाएकी छन्।

‘पीडकले राजनीतिक पावर र पैसाको आडमा मलाई न्यायबाट वञ्चित गराइरहेको छ,’ उनी भन्छिन्, ‘अदालतमा हुने भनसुन अनि गलत गतिविधि रोक्न राज्यले कडा कदम चाल्नुपर्छ।’

बिनु पहिलोपटक अनशनमा बसेकी होइनन्। यसअघि कहिले वसन्तपुर त कहिले सर्वोच्च अदालत अगाडि नै उनले अनशनसहित विरोध प्रदर्शन गरिसकेकी छन्।

मंसिरमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा पनि सेतो पहिरनमा उनले सर्वोच्च अदालतको ढोकामा रातो रङ छ्यापेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थुनेको थियो।

‘सेतो रङमा शोक मनाउँदै भ्रूणहत्या गरिएका आफ्ना सन्तानको प्रतीकका रूपमा रातो रङ छ्यापेकी हुँ,’ उनी सुनाउँछिन्, ‘त्यतिखेर प्रहरीले पक्राउ गरी मलाई सात घण्टा थुनामा राखेको थियो।’

जबरजस्ती सम्बन्धविच्छेद गराइएको भन्दै उनले त्यसअघि न्यायाधीशकै अगाडि विषसेवन गरेकी थिइन्। इजलासमै विषसेवन गरेपछि उनलाई रामेछापबाट तुरुन्तै काठमाडौँ ल्याएर उपचार गरिएको थियो।

पीडकले उनलाई सहयोग गर्ने अभियन्तालाई समेत अनशनमै आएर ज्यान मार्ने धम्की दिइरहेको उनको भनाइ छ। ‘मलाई सहयोग र समर्थन गर्नेहरूलाई पीडकले ज्यान मार्ने धम्की दिइरहेका छन्,’ उनी भन्छिन्।

बिनुको आमरण अनशनमा विभिन्न सामाजिक अभियन्ता, कलाकारले समर्थन जनाएका छन्। बिनुलाई सहयोग गर्नेमध्ये एक हुन्, सामाजिक अभियन्ता रविना श्रेष्ठ। पीडकले आफूलाई धम्की दिएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पीडक पक्षबाट हामीलाई ज्यान मार्ने धम्की आइरहेको छ। पुलिसले पनि अनशन तोड नत्र जेल हाल्दिन्छु भन्छन्। पीडितलाई सहयोग, समर्थन गर्न नमिल्ने स्थिति बनाइएको छ।’

रामेछापको प्रहरी प्रशासन, वडा कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोगलगायत विभिन्न संघसंस्थाबाट आफूले आश्वासनमात्र पाएको बिनु बताउँछिन्।
‘उजुरीको फाइल लगिएको छ,’ उनी भन्छिन्, ‘तर अनुसन्धान गर्छु भनेर पीडकलाई बचाउने काममात्र भइरहेको छ।’

गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संसद्सम्म उनको मुद्दा पुगिसकेको अभियन्ता श्रेष्ठ बताउँछिन्। ‘गृह मन्त्रालयबाट उनको माग सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ उनी भन्छिन्।

०००

प्रदीप कठायतसँग प्रेम सम्बन्धमा रहँदा यादव गर्भवती भएकी थिइन्। उनी बच्चा जन्माउन चाहन्थिन्। तर गर्भमै समस्या देखिएकाले गर्भपतन गराउन बाध्य भइन्। खबरपछि प्रदीप काठमाडौँ आए।

अस्पतालबाट डिस्चार्ज गरी सिनामंगलस्थित एक गेस्ट हाउसमा लगे। अनि जबरजस्ती यौनसम्पर्क गरे। जसले गर्दा शल्यक्रिया गरेको घाउ फुट्यो। बिनु छट्पटाइन्। प्रदीप बेपत्ता भए। सम्पर्कमा आएनन्। त्यसपछि बिनुले कालीमाटीस्थित महानगरीय प्रहरी परिसरअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा बलात्कार आरोपमा उजुरी दिइन्।

उजुरीपछि सम्पर्कमा आएका प्रदीपले उजुरी फिर्ता लिन दबाब दिए। ‘मैले नमानेपछि ऊ आफ्नो मामा डीएसपी सुरज कार्की कोठामा आयो। पेस्तोल देखाउँदै उजुरी फिर्ता लिने धम्की दियो,’ उनी भन्छिन्। भाइलाई लागूऔषध मुद्दामा १० वर्ष जेल पठाइदिने धम्कीले डराएकी बिनुले प्रदीपसँग विवाह गर्ने आश्वासन पाएपछि उजुरी फिर्ता लिइन्।

भद्रकाली मन्दिरमा बिहे भयो। बिहेपछि प्रदीपका काका पवनले बिनुमाथि शारीरिक हिंसा गर्न थाले। ‘दाइजो ल्याउन भन्थे, केही भने परिवारै ममाथि खनिन्थ्यो,’ बिनु भन्छिन्, ‘ममाथि अत्याचार बढ्यो। घरमै बन्धक बनाइयो। मोबाइल खोसेर कसैसँग कुरा गर्न दिइएन।’

त्यतिमात्र नभई परिवारका सबै सदस्यले मिलेर जबरजस्ती आफ्नो गर्भपतन गराएको बिनुको आरोप छ। ‘उनीहरूले जबरजस्ती मेरो गर्भपतन गराए,’ उनी भन्छिन्, ‘नमान्दा हातखुट्टा बाँधेर पाँच गोली औषधि मुखमा हालिदिए र निल्न लगाए। औषधिले मेरो गर्भ खेर गयो।’

२०७७ असोजमा प्रदीपले पत्नीले आफूलाई मानसिक, शारीरिक, हिंसा र कष्ट दिएको भन्दै रामेछाप जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हाले। मुद्दा दुई वर्ष चल्यो। जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सफाइ दियो। अदालतले एकपक्षीय रूपमा सम्बन्ध विच्छेद गराइदिएको बिनुको आरोप छ। यतिखेर नै हुन् उनले विष सेवन गरेकी। त्यस फैसलाविरुद्ध गत असार १६ मा उच्च अदालत पाटनमा पुनरावेदन दिएकी छन्। उनको मुद्दा विचाराधीन छ।

अनेक यातना अदालती प्रक्रियापछि पनि आफूले न्याय नपाएकाले आमरण अनशन बस्न बाध्य भएको उनी बताउँछिन्। ‘शरीरले साथ दिँदासम्म सत्यका लागि लड्नेछु,’ उनी भन्छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =