गलकोटमा घरमै सुत्केरी हुनेको संख्या शून्य

हिमाल प्रेस ७ जेठ २०८० ८:२३
4
SHARES
गलकोटमा घरमै सुत्केरी हुनेको संख्या शून्य

बागलुङ- पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको संख्या शून्य छ। नगरपालिकाले वडावडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्‍याएपछि ‘होमडेलिभरी’ हुनेको स‌ंख्या शून्यमा झरेको हो।

नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको संख्यामा कमी आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए।

सबैभन्दा विकट मानिने वडा नं १० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि ‘शून्य होमडेलिभरी’ हुन थालेको उनको भनाइ छ। पछिल्लो समय ग्रामीण क्षेत्रका महिला पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको संख्या घटेको उनी बताउँछन्।

उनले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई नगरपालिकाले चार हजार पाँच सय प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको बताए। ‘नगरप्रमुख मातृ तथा पोषण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले बनाएको मापदण्डअनुसार आठपटक स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ। गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसके बागलुङ वा अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उनले बताए।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले महिला पहिलो स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै उनीहरूलाई परामर्श दिने गरेको र सोहीअनुसार महिला सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताए। उनले आवश्यकताका आधारमा नगरपालिकाले दुर्गम स्थानमा बर्थिङ सेन्टर स्थापना गरेपछि स्थानीय गर्भवती महिलाले गाउँमै स्वास्थ्य परीक्षण गराउन पाएको र स्वास्थ्यकर्मीले समय–समयमा ‘होमडेलिभरी’का बारेमा जानकारी गराउने हुँदा नगरपालिकामा ‘होमडेलिभरी’ शून्य हुन पुगेको जानकारी दिए।

बर्थिङ सेन्टरकै कारण मातृ र शिशु मृत्युदर पनि शून्य भएको जनाइएको छ। दुई वर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा शिशुको मृत्यु हुने गरेको भए पनि अहिले त्यो समस्या नभएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए।

नगरपालिकाले २०७५ देखि ‘नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। गलकोट नगरपालिकामा ९ वटा बर्थिङ सेन्टर, सातवटा स्वास्थ्यचौकी, एउटा नगर अस्पताल, तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सहरी स्वास्थ्य केन्द्र रहेका छन्। पालिकाका सातवटै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको व्यवस्थापन गरिएको उनको भनाइ छ। -रासस

प्रकाशित: ७ जेठ २०८० ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =