सातौँ राणा प्रधानमन्त्री एवम् श्री ३ महाराज भीमशमशेरको निधन सन् १९३२ सेप्टेम्बर १ (१९८९ भदौ १७) को बेलुकी ९ बजेर ५ मिनेटमा भएको थियो। उनको निधन पित्तथैली सुन्निने कारणबाट भएको हो। नेपालमा उनको निधन शूलबाट भएको भनिन्छ। उनका नातिहरू सुवर्ण र महावीरशमशेरले त चन्द्रशमशेरका पाँच भाइ छोराले धनको बलमा उपचारमा संलग्न डाक्टरमार्फत षड्यन्त्र गरेको भनी मान्छन् भनेर पनि लेखिएको छ।
केहीले षड्यन्त्रका कथा बुन्दै जाँदा उनको उपचारमा संलग्न तिनै डाक्टरमार्फत मन्द विष दिइएकाले १० दिनमा निधन भयो पनि भनेका छन्। नेपालको शक्ति केन्द्र दरबारमा यस्ता अनेक षड्यन्त्र पनि भएकै छन्। भीमशमशेरको हकमा के भयो यसै भन्न सकिन्न। नेपालस्थित ब्रिटिस लिगेसनबाट जारी डेथ सर्टिफिकेटका आधारमा उनको निधन पित्तथैली सुन्निएकै कारण भएको स्पष्ट हुन्छ। यहाँ त्यति बेलाको नेपालमा उपचार व्यवस्था, उनको निधनको कारण र डेथ सर्टिफिकेटका बारेमा चर्चा गरिएको छ।
सोही वर्ष १० भदौमा वीरशमशेरका छोरा तत्कालीन जंगीलाठ धर्मशमशेरको कलकत्तामा निधन भएको थियो। त्यस खबरले भीमशमशेरलाई निकै आहत बनाएको थियो। १७ भदौका दिन भीमशमशेरको निधन भएको थियो। सोही २१ गतेको गोरखापत्र साप्ताहिकमा छापिएको समाचारमा १० दिनको शूलको व्यथाले अकस्मात् निधन भएको समाचार छापिएको थियो।
भीमशमशेरको निधनका सम्बन्धमा इतिहासकार पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तक श्री ३ हरूको तथ्य वृत्तान्त भाग-२ मा यसरी उल्लेख गरेका छन्–
श्री ३ भीमशमशेर भुजा खाँदा खुब पेटभरी खाने गर्दथे र खाइसक्नासाथ चुठ्ने अवसरमा घाँटीभित्र औँला हाली खाएको सबैझैँ वमन गरी झिक्ने गर्दथे। १९८९ भदौ १२ गते उनले त्यसैगरी भुजा खाएपछि वमन गर्दा वमन भएन। पेट फुलेझैँ भयो साथै उकुसमुकुस हुन थाल्यो। त्यतिबेला पक्षघातबाट थलिएका तेजशमशेरको उपचार गर्न भारतबाट डाक्टर इन्दु काठमाडौँ आएका थिए। उनै डाक्टरलाई देखाइएको थियो। डाक्टर इन्दु र सिद्धिमणिहरू भई महाराज! घाँटीबाट रबरको नली हाली ज्यूनार भएको खाना बाहिर झिक्न सकिन्छ भनेकाले उनको घाँटीबाट रबरको नली पेटसम्म पुग्ने गरी कोचेर सो नलीबाट मनतातो पानीसमेत हाले। पेटमा खाएको खाना त छँदै थियो। साथै रबरको नलीद्वारा हालेको मनतातो पानीसमेत पेटमै रह्यो। बाहिर झिक्न सकेनन्। आन्द्राको ठाउँठाउँमा प्वालसमेत पर्यो। श्री ३ भीमका नातिहरू सुवर्ण, महावीरहरूको भनाइ छ कि यी पचभैयाहरूकै धनको जोडले गर्दा निज डाक्टरहरूले करामत गरे। जे गरे तापनि भोलिपल्ट भदौ १३ गतेका दिनदेखि उनी ‘शूल’ भई बिरामी परे।
भीमशमशेरको निधन भएपछि नेपालस्थित ब्रिटिस लिगेसनका लिगेसन सर्जन मेजर एमपी अट्किन्सनले डेथ सर्टिफिकेट जारी गरेका थिए। उक्त डेथ सर्टिफिकेट नेपालस्थित ब्रिटिस लिगेसनबाट जारी भएको थियो। जसमा तलपट्टि नेपालस्थित ब्रिटिस एन्भ्वाय सीटी डाक्सको समेत हस्ताक्षर छ। उक्त सर्टिफिकेटमा भीमशमशेरको निधन एक्युट कोलिसिस्टाइटिस (acute cholecystitis) अर्थात् पित्तथैली सुन्निएका कारणबाट भएको भनेर डाक्टर एमपी अट्किन्सनले प्रमाणित गरेका छन्। ब्रिटिस लिगेसनबाट जारी भएको डेथ सर्टिफिकेटको एक प्रति एन्भ्वाय डाक्सले दिल्लीमा परराष्ट्र सचिव इवी हवेललाई पठाएका थिए।
के हो लिगेसन सर्जन?
नेपालमा रहने ब्रिटिस आवासीय प्रतिनिधिको कार्यालयलाई ब्रिटिस लिगेसन र प्रतिनिधिलाई ब्रिटिस एन्भ्वाय एट दी कोर्ट अफ नेपाल भनिन्थ्यो। ब्रिटिस लिगेसनमा एकजना चिकित्सकको दरबन्दी हुन्थ्यो। जसलाई लिगेसन सर्जन भनिन्थ्यो। ती लिगेसन सर्जनहरू आईएमएस (इन्डियन मेडिकल सर्भिस) बाट नियुक्त हुन्थे। सर्जनले ब्रिटिस लिगेसनका कर्मचारीका अतिरिक्त नेपाल सरकारको अनुरोधमा नेपालीको पनि उपचार गर्ने गर्दथे।
विशेषगरी श्री ५ एवं श्री ३ को परिवारमा कोही बिरामी पर्दा तिनले हेर्ने गर्दथे। नेपालमा अस्पताल खुलिसकेको थियो भने डाक्टरहरू पनि थिए। सन् १९३२ ताका नेपालमा वीरशमशेरको पालामा खुलेको वीर अस्पताल थियो। वीर अस्पतालमा महिला र पुरुष गरी अलगअलग विभाग थियो। चन्द्रशमशेरको समयमा खुलेको त्रिभुवनचन्द्र मिलिटरी हस्पताल थियो। त्यस्तै त्यतिबेला प्रधानमन्त्रीका लागि छुट्टै दरबारिया डाक्टरको व्यवस्था गरिएको हुन्थ्यो। दरबारिया डाक्टरका रूपमा केएल गुप्ता थिए। उनको सहायकका रूपमा डाक्टर सिद्धिमणि आचार्य दीक्षित खटिएका थिए।
नयाँदिल्लीस्थित राष्ट्रिय अभिलेखागारमा फेला परेको भीमशमशेरको निधनसम्बन्धी फाइलमा रहेको डेथ सर्टिफिकेट नेपालस्थित ब्रिटिस एन्भ्वाय सीटी डाक्सले नेपालबाट आफ्नो सरकारलाई पठाएका हुन्। त्यतिबेला इवी हवेल ब्रिटिस भारतका परराष्ट्र सचिव थिए। उनैलाई सम्बोधन गरी ब्रिटिस इन्भ्वायले नेपालबाट पठाएको पत्रमा उक्त डेथ सर्टिफिकेटसमेत संलग्न गरेका रहेछन्।
नेपालस्थित ब्रिटिस लिगेसनमा एन्भ्वायका रूपमा सीटी डाक्स थिए। लिगेसन सर्जनका रूपमा मेजर एमपी अट्किन्सन थिए। उनीभन्दा पहिलेका लिगेसन सर्जन लेफ्टिनेन्ट कर्नेल एफ स्टेभेन्सन ३ अगस्ट १९३१ देखि ८ महिना लामो बिदामा थिए। उनी बिदामा बस्दा सोही ११ अगस्टदेखि जिम्मेवारी सम्हाल्ने गरी नयाँ लिगेसन सर्जनका रूपमा मेजर एमपी अट्किन्सन आएका थिए। फेरि ३० सेप्टेम्बर १९३२ देखि जिम्मेवारी सम्हाल्न सर्जनका रूपमा कर्नेल सीए स्मिथ्स आएका थिए। (नयाँदिल्लीस्थित राष्ट्रिय अभिलेखागारमा रहेका ब्रिटिसकालीन दस्तावेजहरूका आधारमा।)
कसरी प्रधानमन्त्री बनेका थिए भीमशमशेर?
शताब्दी लामो राणा व्यवस्थामा जंगबहादुरकै समयमा प्रधानमन्त्री भएका बमबहादुरलाई गिन्ती नगर्ने हो भने जंगबहादुरदेखि मोहनशमशेर सम्मका ९ राणा प्रधानमन्त्रीमध्ये भीमशमशेर छैटौँ हुन्। राणाशासनमा बाउ र छोरा नै प्रधानमन्त्री हुनेमा भीमशमशेर र पद्मशमशेर अनि चन्द्रशमशेर र मोहनशमशेर पर्छन्। जंगबहादुरका कान्छा भाइ धीरशमशेरको छैटौँ पुत्रका रूपमा १९२२ वैशाख ६ (सन् १८६८ अप्रिल १६) मा भीमशमशेरको जन्म भएको थियो।
धीरशमशेरकी पत्नी केशरसिंह थापाकी बहिनीपट्टिबाट खड्गशमशेर, देवशमशेर, चन्द्रशमशेर र भीमशमशेरको जन्म भएको थियो। यी चार भाइमध्ये खड्गशमशेरबाहेकका अन्य तीनजना श्री ३ महाराज एवं प्रधानमन्त्री भए।
२१ नोभेम्बर सन् १८८५ को रात हिटीदरबारमा आफ्नै ठूलोबुवा तत्कालीन प्रधानमन्त्री महाराज रणोद्वीपसिंह कुँवरको हत्या गरेर शमशेर खलक (धीरशमशेरका सन्तान) ले सत्तारोहण गरेका थिए। रणोद्वीपसिंहको हत्या गर्नका लागि खड्गशमशेर र डम्बरशमशेरसँगै भीमशमशेरसमेत खटिएका थिए।
इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार रणोद्वीपसिंहमाथि सबैभन्दा पहिलो गोली डम्बरशमशेरले प्रहार गरेका थिए। उनले हानेको गोली सिंहको चिउँडोमा लाग्यो। दोस्रो गोली खड्गशमशेले हानेका थिए। त्यो गोली सिंहको छातीमा लाग्यो र उनी ढले। भीमशमशेरले हानेको अर्को गोली सिंहको भुँडीमा लागेको थियो। (श्री ३ हरूको तथ्य वृत्तान्त, भाग–२, पुरुषोत्तमशमशेर जबरा)
रणोद्वीपसिंहको हत्यापछि वीरशमशेर प्रधानमन्त्री एवं श्री ३ महाराज भए। त्यसपछि २० वर्षका भाइ भीमशमशेरलाई उत्तरतर्फका कमान्डिङ जनरलमा नियुक्त गरे। खड्गशमशेरको बहिर्गमनसँगै भीमशमशेर दक्षिणतर्फको कमान्डिङ जनरल भएका थिए। उनी रणशमशेरको निधनपछि पूर्वतर्फको कमान्डिङ जनरल भए। वीरशमशेरको निधनपछि देवशमशेर प्रधानमन्त्री हुँदा उनी जंगीलाठ भएका थिए। देवलाई पदच्युत गरी चन्द्रशमशेरले सत्तारोहण गरे।
चन्द्रशमशेर राणाकालमा सबैभन्दा लामो समय २९ वर्षसम्म प्रधानमन्त्री भएका थिए। २६ नोभेम्बर १९२९ मा उनको निधन भएपछि सोही दिन ६४ वर्षको उमेरमा भीमशमशेर श्री ३ महाराज एवं प्रधानमन्त्री भएका थिए। यिनका पाँच छोरा थिए। विवाहितापट्टिका जेठा छोरा पद्मशमशेर थिए। जो सन् १९४५-४८ सम्म प्रधानमन्त्री एवं श्री ३ महाराज भए। त्यस्तै भित्रिनीपट्टिका चार छोरामा हिरण्यशमशेर, प्रकाशशमशेर, रामशमशेर र यज्ञशमशेर थिए।