काठमाडौँ- नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि ठूलो गद्दारी भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।
तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरू नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ? भन्दै उनले प्रश्न गरे। नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको उनको भनाइ थियो।
नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको उनले बताए। ‘भुटानी शरणार्थीसम्बन्धी मुद्दा केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो,’ उनले भने, ‘यो राष्ट्र बिरोधी कुकृत्य हो।’