चाइना जर्नल

चिनियाँले वैशाख पूर्णिमामा बुद्धजयन्ती नमनाउनुको रहस्य

अजय अलौकिक २३ वैशाख २०८० १२:२०
144
SHARES
चिनियाँले वैशाख पूर्णिमामा बुद्धजयन्ती नमनाउनुको रहस्य

नेपालसहित विश्वभर शुक्रबार भव्यतापूर्वक २५६७औँ बुद्धजयन्ती मनाइयो। नेपालमा वैशाख शुक्ल पूर्णिमाको तिथिमा बुद्धजयन्ती मनाइन्छ। साथै विश्वका धेरै भागमा पनि बुद्ध पूर्णिमा मनाउने चलन छ। सिद्धार्थ गौतम बुद्धको जन्म, ज्ञानप्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा पर्छ। यसै दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउँछन्। तथापि चीनमा भने पूर्णिमाअघि नै बुद्धजयन्ती मनाइन्छ। चीनमा एक साताअघि बुद्धजयन्ती मनाइसकेको छ। किन? यो प्रश्न स्वाभाविक छ।

चीनमा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण फरकफरक समयमा उल्लेख गरेको पाइएको छ। चीन बसाइका क्रममा यसबारे धेरैपछि मात्रै केही जानकारी लिन सकेको हुँ। अहिले तपाईँ छक्क पर्नुभएजस्तै म आजभन्दा ६-७ वर्षअघि पक्क परेको थिएँ। सन् २०१७ मा पहिलोपटक यस सम्बन्धमा केही थोरै जान्ने अवसर मिलेको थियो।

हुन त त्यस बेला पनि मलमास या पात्रोमा अनेकन् हुन्छन् नि, त्यसैकारण पो हो कि भन्ने लागेको थियो। फेरि यहाँ बुद्धजयन्तीको अवसर पारेर केही दिनअघि भव्य समारोह आयोजना गरिएको भन्ने ठानेको पनि थिएँ, सायद।

सन् १९५३ मा स्थापित द बुद्धिस्ट एसोसिएसन अफ चाइनाले पश्चिम बेइजिङमा अवस्थित पाताचुमा बुद्धजयन्तीका अवसरमा भव्य कार्यक्रम आयोजना गर्दै आएको छ। उक्त समारोहमा नेपालसहित भारत, श्रीलंका, थाइल्यान्ड, म्यान्मार, कम्बोडिया, भियतनाम, लाओसलगायतका राजदूतलाई आमन्त्रण गर्ने गरिएको छ। समारोहको रिपोर्टिङमा जाने अवसर मलाई मेरो कार्यालय चाइना रेडियो इन्टरनेसनल (सीआरआई) ले उपलब्ध गराएको थियो।

यस पाताचु बौद्ध धर्मावलम्बीका लागि पवित्र स्थल हो। यसै पाताचुमा अवस्थित लिङक्वाङ मन्दिरमा शाक्यमुनि बुद्धका दन्त अवशेष संरक्षित छन्। यो अमूल्य दन्तको अवलोकन यस्तै पावन अवसरमा मन्दिर समिति तथा बौद्ध संघले उपलब्ध गराउँदै आएको छ।

सो रिपोर्टिङका बेलामात्रै होइन, त्यसअघि र पछि पनि यहाँ जाने गरेको छु। हरेक नेपाली चाडबाडका बेला पुग्ने गरिएको यो पाताचुमा बुद्धको दन्त अवशेष संरक्षित छ भन्ने कुरा त्यहाँ उल्लेख गरिएको छ नै। तर सो दन्त अवशेष दर्शन गर्ने मौका भने हालसालै मात्र मिलेको हो।

महाज्ञानी, महातपस्वी, तथागत, भगवान् गौतम बुद्धको दन्त अवशेषलाई रञ्जना लिपिमा बौद्धसूत्र कुँदिएको सुनौलो स्वयम्भू आकारको स्तूपको गर्भभागमा सुनौलो कमल आकारीय दानीमा सजाइएको छ।

चिनियाँ श्रद्धालुसँगै लामो समय लाम लागेर मन्दिरभित्र गएर सो अवशेषको दर्शन अकथनीय छ। यसमाथि नेपालीको सान उँचो बनाउने बुद्धको अवशेषको अवलोकन मेरा लागि अति विशेष हुने नै भयो।

पच्चीस सय वर्षअघिको र महामानवको अवशेष हेर्न पाइनु चानचुने कुरा होइन। त्यसमाथि जानकारी भएर पनि हेर्न नपाइएको महत्त्वपूर्ण अवशेषलाई धेरै वर्षपछि अवलोकन दर्शन गर्ने मौका जो मिलेको थियो।

बुद्ध दन्त अवशेषको प्रसंगमा यो संसारमा चीनबाहेक श्रीलंकामा मात्र रहेको मानिन्छ। यसैले पनि यो लिङक्वाङ मन्दिर बौद्ध धर्मावलम्बीहरूका लागि एक महत्त्वपूर्ण पवित्र स्थल बनेकै छ। बौद्ध धर्मावलम्बीहरू मात्रै नभई भगवान् मानिने बुद्धका अस्थि अवशेष हेर्न जोकोही लालयित हुने नै भए।

यस्तै, बुद्ध, बुद्ध धर्म तथा नेपाली तत्त्व र नेपाल-चीनबीचको मित्रताका प्रतीक बेइजिङलगायत चीनभरि कहाँकहाँ छन् र के कति छन्, यो एउटा ठूलो खोजको विषय हो।
विदितै छ, गौतम बुद्धको औँलाको हड्डी अवशेष पल्लो सानसी प्रान्तको पाओची सहरमा अवस्थित फामन मन्दिरमा राखिएको छ। यसैगरी ल्याउनिङ प्रान्तको छाओयाङ सहरमा अवस्थित नर्थ प्यागोडामा पनि गौतम बुद्धका दुई अवशेष छन्, एक लेखमा उल्लेख छ।

छाओयाङ सहर ल्याउनिङ प्रान्तको सदरमुकाम सनयाङबाट ३०० किलोमिटर पश्चिममा अवस्थित छ। यो छाओयाङमा अवस्थित नर्थ प्यागोडा शाक्यमुनिका दुई हड्डी अवशेषका लागि प्रसिद्ध छ।

ऐतिहासिक अभिलेखअनुसार नर्थ प्यागोडा सुई राजवंश (इस्वी संवत् ५८१-६१८) मा सम्राट् वनको शासनकालमा पुनर्निर्माण गरिएको थियो। किंवदन्तीअनुसार बौद्धभक्त सम्राट् वनले शाक्यमुनिका अवशेषहरूको सानो थैली प्राप्त गरेका थिए र पवित्र अवशेष समाहित गर्न प्यागोडा निर्माण गराएका थिए।

यसैगरी चाइना डेलीको एक समाचारअनुसार शाक्यमुनिको खप्परको एउटा दुर्लभ टुक्रा च्याङसु प्रान्तको नानचिङको निउसोऊ पर्वतको एक मन्दिरमा राखिएको छ। सन् २००८ मा पुरातत्त्वविद्हरूले नानचिङ ग्रान्ड पाओअन मन्दिर उत्खननका क्रममा सोङ राजवंश (इस्वी संवत् ४२०-४७९) मा निर्माण गरिएको छाङआन मन्दिरको भग्नावशेषमा शाक्यमुनिको खप्परको एउटा हड्डी फेला परेको थियो।

बौद्ध अभिलेखअनुसार सम्राट् अशोकले बुद्धका अस्थि संकलन गरी ८४,००० भागमा बाँडेका थिए र ती प्रत्येकलाई प्यागोडा आकारको मन्दिरमा भण्डारण गरेका थिए। त्यसपछि उनले ती पवित्र अवशेष संसारका विभिन्न भागमा पठाएका थिए। तीमध्ये १९ वटा चीनमा रहेको अनुमान गरिएको छ।

चीनमा शाक्यमुनिका १९ अवशेषहरू कहाँकहाँ छन्?

शाक्यमुनिका १९ अस्थि अवशेषहरूलाई ६ स्थानमा वितरण गरिएको देखिन्छ। चिनियाँ अनलाइनअनुसार बेइजिङको लिङक्वाङ मन्दिर, युञ्च्यु मन्दिर, सान्सीको फामन मन्दिर, च्याङसुको कान्लु मन्दिर, चच्याङको सम्राट् अशोक मन्दिर र लइफङ प्यागोडामा पाइएको छ। यसको खोजअनुसन्धान जारी छ।

अब पूर्वउल्लिखित कुरातर्फ मोड्न चाहेँ। त्यो जिज्ञासा बाँकी छ। नेपालमा सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा मनाउने गरिन्छ। तर चीनमा किन फरक फरक दिनमा मनाइन्छ?

गौतम बुद्ध इपू ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका थिए। मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा बुद्धको जन्म भएको थियो। राजकुमार सिद्धार्थले दुःखबाट मानवजातिलाई छुट्कारा दिने हेतुले २९ वर्षको उमेरमा दरबारको सुखसयल त्यागेर तपस्या गर्न हिँडेका थिए। वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गरेका थिए।

अनि वैशाख शुक्ल पूर्णिमाकै दिन महापरिनिर्वाण भएको थियो। यसलाई हामीले मान्दै आएका छौँ। विश्वका अधिकांश बौद्ध धर्मावलम्बीका साथै बुद्धबारे धेरैथोरै जानकारी राख्नेले जानेको सत्य पनि यही हो। तर चीनसहित दक्षिण कोरिया र जापानमा भने बुद्धको जन्मतिथि, बुद्धत्व प्राप्त र महापरिनिर्वाणको तिथि फरक छ। यद्यपि चीनमा पनि केही सम्प्रदायले विश्वले मानिआएको चलन पछ्याउने गरेका छन्।

चिनियाँ चलनअनुसार शाक्यमुनि बुद्धको जन्मदिन चारौँ महिनाको आठौँ दिन हो। यसरी बुझौँ, अप्रिलको ८ औँ दिन बुद्धको जन्मदिवस हो। आठौँ दिन भन्नाले अष्टमी हुन आउँछ, पूर्णिमा होइन, यसरी चीनमा पूर्णिमाको दिन नभई चिनियाँ चन्द्र पात्रोअनुसार चार महिनाको आठौँ दिनमा बुद्धजयन्ती मानिन्छ।

यसैगरी भिक्षु बनेको दिन दोस्रो महिना अर्थात् फेब्रुअरीको ८ औँ दिन हो र ज्ञानप्राप्तिको दिन भने डिसेम्बर ८ मा रहेको छ। यसरी चिनियाँ पात्रोअनुसार जन्म, भिक्षु मार्गमा हिँडेको र बुद्धत्व प्राप्त गरेको दिन भने आठौँ दिनमा भएको देखिन्छ। निर्वाणको दिन भने फेब्रुअरी १५ तारिख मानेको पाइन्छ।

किन र कसरी प्रश्न उब्जिएका छन्, तर अनुत्तरित छ। चीनमा यही तालिकालाई १७०० वर्षअघिदेखि पछ्याउँदै आएको भनिन्छ। यो अर्को अनुसन्धानको विषय रह्यो। जब कि चीन कैयौँ शताब्दीदेखि बुद्ध धर्म र धर्मसम्बन्धितको संरक्षणकर्ता रूपमा उभिएको छ।

चिनियाँ भूमि बौद्ध धर्मका लागि उर्वरभूमि हो। गौतम बुद्धअघि पनि चिनियाँ भूमिमा गौतम बुद्धअघिका बुद्धहरू पुजिन्थ्यो भन्ने विश्वास गर्न सकिन्छ। गौतम बुद्धपछि जन्मिने भनिएका मैत्रेय बुद्धको विशाल मूर्ति पनि चीनका विभिन्न सहरमा चारपाँच सय वर्षअघि नै स्थापना गरी मान्दै आएको देख्न पाइन्छ।

एक कल्पमा हजारौँ बुद्धको जन्म हुने भनिएअनुसार चीनमा उहिलेदेखि बौद्ध धर्म रहेको अनुमान यसकारण पनि गर्न सकिन्छ। तसर्थ गौतम बुद्धको महापरिनिर्वाणपछि फेरि पनि चीनमा बौद्ध धर्मप्रतिको आस्था बढेको हुनसक्छ। गौतमबुद्धको उपदेश र प्राप्त ज्ञान आजपर्यन्त चीनमा प्रसार भइरहेको छ।

यसरी गौतम बुद्धको उपदेश, दर्शना प्राचीन कालदेखि चीन र नेपाललाई जोड्ने सेतु बनेको छ। पाँचौँ शताब्दीमा चिनियाँ भिक्षु फास्यानको नेपाल यात्रा र खोज, त्यसैलाई पछ्याउँदै सुवानचङको यात्रा त्यसै गरी पाँचौँ शताब्दीमै भिक्षु बुद्धभद्रको चीन यात्रा गौतम बुद्ध र बुद्ध धर्मसँग सम्बन्धित् छन्। यसैगरी, सातौँ शताब्दीमा तिब्बती राजा स्रङचङगम्पोसँग राजकुमारी भृकुटीको विवाह र तेह्रौँ शताब्दीमा कलाकार अरनिकोको कलाकारिता पनि बुद्ध धर्म र दर्शनसँग जोडिएका छन्।

गौतम बुद्धको जन्मतालिका फरक देखिए तापनि हामी यो निष्कर्षमा पुग्नसक्छौँ कि नदीनाला, पहाड र हिमालले जोडिएका दुई मित्रवत् छिमेकी देश बीचको सम्बन्ध विस्तारमा बुद्ध धर्म र बौद्ध दर्शनले उल्लेखनीय भूमिका खेलेको छ।

प्रकाशित: २३ वैशाख २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =