बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह यही ६ मे मा हुँदैछ। उनको राज्याभिषेक समारोहमा सहभागी हुन नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद बिहीबार साँझ बेलायत जाँदैछन्। यसअघि उक्त राज्याभिषेक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल जाने तयारी थियो। स्वास्थ्य समस्याका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि परराष्ट्रमन्त्री साउद बेलायत जान लागेका हुन्।
नेपालका तर्फबाट बेलायतको राज्याभिषेक समारोहमा यसअघि दुईपल्ट सहभागिता जनाइएको थियो। नेपालले तेस्रोपटक बेलायतको राज्याभिषेक समारोहमा सहभागिता जनाउन लागेको हो। यहाँ दुईवटा राज्याभिषेक समारोहमा लन्डन पुगेका प्रतिनिधिमण्डलबारे चर्चा गरिएको छ। त्यस क्रममा नेपाल-ब्रिटिस सम्बन्धको इतिहास पनि खोतल्ने प्रयास गरिएको छ।
नेपाल-ब्रिटिस सम्बन्धको इतिहास
भारतमा इस्ट इन्डिया कम्पनीले शासन गर्न थालेपछि इस्ट इन्डिया कम्पनीमार्फत नेपाल र ब्रिटिस एकअर्काको सम्पर्कमा आइसकेका थिए। नेपाल-ब्रिटिस सम्बन्ध भने सन् १७९२ मार्च १ मा नेपाल र इस्ट इन्डियाबीच सम्पन्न वाणिज्य सन्धिबाट सुरु हुन्छ।
सन् १८०१ मा नेपालमा इस्ट इन्डिया कम्पनीको आवासीय प्रतिनिधि राख्ने सम्बन्धमा अर्को सन्धि भएको थियो। जसका आधारमा क्याप्टेन नक्स पहिलो प्रतिनिधिका रूपमा सोही वर्ष नेपाल आएर करिब एक वर्षसम्म बसेका थिए। त्यसपछिका केही वर्ष नेपालले ब्रिटिस प्रतिनिधि राख्न रुचाएन। सन् १८१४-१६ को नेपाल-अंग्रेज युद्धका क्रममा हस्ताक्षर भएको सुगौली सन्धिपछि भने निरन्तर रूपमा नेपालमा ब्रिटिस आवासीय प्रतिनिधि रहँदै आएका छन्।
नेपाल र ब्रिटिस सरकार औपचारिक रूपमा दौत्य सम्बन्धमा प्रवेश गरेको यहीबेलादेखि हो। अनि नेपालले समेत मित्रता र सद्भावस्वरूप ब्रिटिस शासकका जन्मदिन, निधन र राज्याभिषेकमा त्यसको हर्षबढाइँ, शोक एवं सम्मानमा तोप पड्काउने प्रचलन थालेको थियो।
ब्रिटेनमा नेपालको आवासीय नियोग स्थापना
सन् १९३४ मा नेपालले लन्डनमा पहिलो कूटनीतिक नियोग (लिगेसन) स्थापना गर्यो। त्यहाँको शासनसत्तामा जर्ज पञ्चम राजा थिए। त्यही बेलादेखि लन्डनमा नेपाल सरकारको आवासीय प्रतिनिधि (मिनिस्टर राजदूत) रहन थालेका थिए। त्यसपछि त्यहाँ हुने ब्रिटिस सरकार एवं शाही समारोहमा नेपाल सरकारका प्रतिनिधिका रूपमा तिनै मिनिस्टरले नै सहभागिता जनाउँथे। सन् १९३५ मा राजा जर्ज पञ्चमले शासनसत्ता सम्हालेको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको रजतजयन्ती समारोहदेखि नेपालका प्रतिनिधि प्रत्यक्ष रूपमा सहभागी हुन थालेका थिए।
सन् १९३६ को २० जनवरीमा राजा जर्ज पञ्चमको निधन भयो। उनको अन्त्येष्टि समारोहमा नेपाली राजदूत कृष्णशमशेर सहभागी भए।
राजा एडवार्ड आठौँ
जर्ज पञ्चमको निधनपछि २० जनवरी १९३६ मा ब्रिटिस शासनसत्ताको जिम्मेवारी उनका छोरा एडवार्ड आठौँले सम्हाले। राजकुमार हुँदा उनी सन् १९२१-२२ मा नेपालको तराईमा सिकार खेल्न थिए। चन्द्रशमशेरको कार्यकालमा नेपाल आएका उनलाई चितवनको ठोरी क्षेत्रमा सिकार खेल्ने व्यवस्था गरिएको थियो। उनी राजा हुनासाथ उनको राज्याभिषेक समारोहमा सहभागिता जनाउन ब्रिटिस सरकारका तर्फबाट नेपाललाई निमन्त्रणा आएको थियो। तर उनको औपचारिक राज्याभिषेक समारोह भएन। एडवार्ड आठौँले सोही ११ डिसेम्बरमा स्वेच्छिक रुपमा पदत्याग गरे। अमेरिकी महिलासँग विवाह गर्न उनले राजगद्दी त्याग गरेका थिए।
जर्ज छैटौँको राज्याभिषेकमा नेपाली प्रतिनिधिमण्डल
एडवार्ड आठौँले राजगद्दी त्याग गरेपछि ११ डिसेम्बर १९३६ मा उनका भाइ जर्ज छैटौँ बेलायतका नयाँ राजा घोषित भए। सन् १९३७ को मे १२ मा जर्ज छैटौँको राज्याभिषेक समारोह सम्पन्न भएको थियो। राजा जर्ज छैटौँको राज्याभिषेकका लागि पनि नेपाललाई निमन्त्रणा आएको थियो। निमन्त्रणा स्वीकार गर्दै नेपालले उच्चपदस्थ रोलवाला राणा अधिकारीलाई राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत पठाइएको थियो।
राजा त्रिभुवनलाई आएको उक्त निमन्त्रणामा उनले आफ्नो प्रतिनिधिका रूपमा आफ्ना भिनाजुसमेत रहेका कमान्डिङ जनरल केशरशमशेरको नेतृत्वमा एक प्रतिनिधिमण्डल बेलायत पठाएका थिए। केशरशमशेर त्यतिबेला अहिलेको परराष्ट्रमन्त्रीसरहको पद वैदेशिक मामिला विभागका डाइरेक्टर जनरल थिए। यसरी नेपालले पहिलोपटक बेलायती राजाको राज्याभिषेक समारोहमा प्रतिनिधिमण्डल लन्डन पठाएको थियो।
सन् १९३७ मा नेपालमा जुद्धशमशेर प्रधानमन्त्री थिए। केशरशमशेरको नेतृत्वमा लन्डन जाने प्रतिनिधिमण्डलका अन्य सदस्यमा जुद्धशमशेरका छोराहरू नारायणशमशेर र सुरेन्द्रशमशेर थिए। उनीहरूका साथमा सुब्बा नगेन्द्रमानसिंह पनि थिए। लन्डनमा सैनिक सहचारीको जिम्मेवारी सम्हाल्न कप्तान यज्ञबहादुर बस्न्यात क्षत्री पनि टोलीमा थिए। (गोरखापत्र २ अप्रिल १९३७)
केशरशमशेर नेतृत्वको प्रतिनिधिमण्डल सन् १९३७ को १ अप्रिलमा नेपालबाट प्रस्थान गरेको थियो। उनीहरू २६ अप्रिलमा लन्डन पुगेका थिए। (दी बम्बे क्रोनिकल, २७ अप्रिल १९३७)
केशरशमशेर नेतृत्वको प्रतिनिधिमण्डललाई अर्को एउटा महत्त्वपूर्ण कामसमेत दिइएको थियो। त्यो हो, नयाँ राजा जर्ज छैटौँलाई राजा त्रिभुवनका तर्फबाट नेपालले सर्वोच्च सम्मान ओजस्वी राजन्य तक्मा प्रदान गर्ने जिम्मेवारी। सन् १९३४ मा पहिलोपटक नेपालले उक्त तक्मा तत्कालीन बेलायती राजा जर्ज पञ्चमलाई प्रदान गरेको थियो।
२९ अप्रिलमा राजा जर्ज छैटौँलाई नेपालले आफ्नो सर्वोच्च सम्मान ओजस्वी राजन्यको तक्मा टक्र्याएको थियो। (इभिनिङ स्ट्यान्डर्ड, लन्डन २९ अप्रिल १९३७)
नेपाली प्रतिनिधिमण्डल मे १२ मा आयोजित राज्याभिषेक समारोहमा सहभागी भएर फर्किएको थियो। राज्याभिषेक समारोहमा नेपालको सहभागितबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ खबर सम्प्रेषण गरेका थिए। त्यहाँ जाने जनरल केशरशमशेर र अन्य कर्नेल नेपाली सेनाका थिए। जंगी पोसाकमा श्रीपेचसहित लन्डन पुगेका उनीहरुले त्यहीँ धेरैको ध्यान खिच्न सफल भएका थिए।
एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा नेपाली प्रतिनिधिमण्डल
सन् १९५२ को फेब्रुअरी ६ मा राजा जर्ज छैटौँको निधन भयो। उनका उत्तराधिकारी राजकुमारी एलिजाबेथ बेलायतको राष्ट्राध्यक्षका रूपमा सोही दिन नयाँ महारानी घोषित भइन्। उनको औपचारिक राज्याभिषेक समारोह सन् १९५३ को जुन २ मा सम्पन्न भयो। त्यस दिन नेपालसँग सम्बन्धित अर्को एउटा प्रसंग पनि छ। त्यो के हो भने लन्डनमा गुञ्जिएको नेपालको नाम संसारभर फैलन पुग्यो।
सर्वोच्च शिखर सगरमाथा हिमाल पहिलोपटक मानवले सफलतापूर्वक आरोहण गरेको घटना थियो त्यो। सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सर्वप्रथम सगरमाथाको चुचुरोमा पुगेका थिए। तर नेपालमा कसैलाई पनि यसको जानकारी दिइएको थिएन। यो घटना २ जुनसम्म गोप्य राखिएको थियो। यसबारे पहिलो जानकारी महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहबाट सार्वजनिक गरिएको थियो।
ब्रिटिस राजपरिवारको सोही राज्याभिषेक समारोहमा नेपालका तर्फबाट पहिलोपटक राजपरिवारका सदस्य सहभागी थिए। नेपालका तत्कालीन राजा त्रिभुवनको प्रतिनिधिका रूपमा अधिराजकुमार हिमालय र उनकी पत्नी अधिराजकुमारी प्रिन्सेप (गृह राज्यलक्ष्मी) ले सहभागिता जनाएका थिए। यो नेपालका तर्फबाट बेलायती राजपरिवारको राज्याभिषेक दोस्रोपटक सहभागिता हो। (दी लन्डन गजेट, २० नोभेम्बर १९५३) संयोग नै मान्नुपर्छ ब्रिटिस राजपरिवारको राज्याभिषेक समारोहमा सहभागिता जनाउने नेपालको राजपरिवारको त्यही पहिलो र अन्तिम अवसर बन्न पुग्यो।