काठमाडौँ- कैलालीको कैलारी गाउँपालिका बाढी प्रभावित क्षेत्र हो। विशेष गरेर मोहना नदीका कारण यो गाउँपालिकाले हरेक वर्ष बाढी झेल्नुपर्ने बाध्यता छ।
कैलारी गाउँपालिकाको प्रमुख नदीका रूपमा रहेको मोहनाले करिब १५ किलोमिटर लम्बाइ ओगटेको छ। १० किलोमिटरमा धुराहा, गुरही नदी तथा लिक्मा, कटैनी, सुर्मी र मुर्कुला नदी २० किलोमिटर क्षेत्रमा फैलिएका छन्। सानातिना छोडेर गाउँपालिकाले सूचीमा नै राखेका तालहरू ३० वटा छन् ।
कैलालीको सबैभन्दा बढी जनसंख्या रहेको यस गाउँपालिकाको कुल २३३ वर्ग किलोमिटर क्षेत्रमध्ये झण्डै ४३ किलोमिटर क्षेत्र नदीनालाले ओगटेको छ भने ३० वर्ग किलोमिटर क्षेत्र तालतलैयाले ओगटेको छ। नदीनाला र तालतलैयाले धेरै क्षेत्र ओगटेकाले पनि सजिलै अनुमान लाउन सकिन्छ कि यो गाउँपालिका बाढी र डुबानबाट प्रताडित छ।
गाउँपालिकाकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित रकम ६२ करोड ७५ लाख १५ हजार रुपैयाँमध्येबाट वन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड १५ लाख रुपैयाँ छुट्याएको छ।
संघ र प्रदेशबाहेक पछिल्लो तीन आर्थिक वर्षमा गाउँपालिकाकाले विपद् व्यवस्थापनमा मात्रै डेढ करोड बढी खर्च गरेको छ। वन वातावरण संरक्षण, नदी नियन्त्रण, जैविक तथा भौतिक तटबन्ध लगायतमा २०७८/०७९ र २०७७/०७८ मा चार करोड रूपैयाँ बढी खर्च भएको छ। तर उपलब्धि भने शून्यप्रायः छ।
हरेक वर्ष मोहना, धुराहा, गुरहीलगायत नदीमा आएको बाढीबाट ठूलो क्षति हुने गरेको छ। गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थाको सहयोगमा पूर्वसूचना प्रणालीको व्यवस्था गरेकाले मानवीय क्षति रोकिएको छ। तर बाढीले नदी तटीय क्षेत्रका घरै बगाउने भएकाले भौतिक सम्पत्तिको क्षति ठूलो हुने गरेको छ।
मोहना नदीले हरेक वर्ष धार परिर्वतन गर्ने भएकाले कृषियोग्य जमिन कटान र सम्भावित बाढीको पूर्वआकलन गर्न नसक्दा समस्या भएको स्थानीय बताउँछन्। मोहनपुर–३ का स्थानीय शीतलप्रसाद डगौरा उत्तरबाट आएको घुरा नदी र दक्षिणबाट आएको मोहना नदी एकैस्थानमा मिसिँदा वर्षातको समयमा मोहनपुर वस्तीसम्म डुबान हुने बताउँछन्। ‘मान्छे ओहोरदोहोर गर्न धेरै अप्ठ्यारो हुन्छ। झोलुंगे पुल नभएर। बालबच्चाको पढाइ पनि ३ महिना स्थगित हुन्छ। एकपटक बाढीका कारण डुंगा नचल्ने अवस्था हुँदा सुत्केरीको यही ज्यान गुमेको थियो।’
मोहना नदीले कैलारी गाउँपालिकाको वडा नम्बर ३ मोहनपुरमा सबैभन्दा बढी क्षति पुर्याउने गरेको छ। मोहनपुर भारतसँग सीमा जोडिएको छ।
वर्षातमा नदीमा बाढी आउँदा नेपालसँगको सम्पर्क नै विच्छेद हुन्छ र त्यहाँका स्थानीय भारतीय जंगलमा आश्रय लिन पुग्छन्। उच्च जोखिम रहेको जानकारी पाएर पनि गाउँपालिकाले मुक्तकमैयालगायतका सुकुमबासीलाई मोहना नदीको तटीय क्षेत्रमा नै बसोबासको व्यवस्था गर्दै आएको छ।
वैकल्पिक स्थान नभएकाले त्यसो गर्नु परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए। ‘अहिले पनि १६ घर परिवार टेन्टमा जंगलमा हामीले बसालेको अवस्था छ। गत वर्ष मात्रै यो गाउँपालिकामा एउटा झोलुंगे पुलसमेत बगाएर लगेको छ,’ उनले भने, ‘यो गाउँपालिकाको वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको वस्ती नै बगाएको थियो। अहिले हामीले उहाँहरूलाई जंगलमा बसोबासको व्यवस्था गरेका छौँ।’
खास गरी कैलारी गाउँपालिकाको मोहनपुर, शिवरत्नपुर, हौसलपुर, अनि त्यसपछि वडा नम्बर ५ को बैसपुरलगायतका ठाउँ बाढी प्रभावित क्षेत्र हो। ‘त्यहाँ वस्तीलाई अन्तै सार्नुपर्छ भनेर मैले जिल्लाको विपद् व्यवस्थापन समितिमा पनि कुरा राखेको थिएँ,’ उनी भन्छन्, ‘यो गाउँपालिकाको ५/६ वटा वस्ती एकदमै अप्ठ्यारो अवस्थामा छन्। खाली राहत दिने अवस्था मात्रै भएको छ।’
प्रत्येक वर्ष आएको बाढीका कारण गरिबी बढाएको भनेर गाउँपालिकाकाले मालपोत शुल्कमा ५० प्रतिशत मिनाहा दिएको छ। अध्यक्ष चौधरी चुरे मुहान भएका धेरै नदी र तीनको बहावको प्रकृति पनि परिर्वतन भइराख्ने भएकाले पूरै क्षेत्रमा नै तटबन्ध गर्नुपर्ने तर्क गर्छन्।
पछिल्लो समय असार–साउनमा नभई असोज–कात्तिकमा बाढी आउने गरेकाले काटिसकेको धान पनि भित्र्याउन नपाउने र घरभित्रको अन्न पनि डुबानका कारण क्षति पुगेपछि जोखिम प्रभावितहरूको आर्थिक अवस्था हरेक वर्ष शून्यमा पुग्ने गर्छ। मोहनालगायत चुरे मुहान भएर बग्ने नदीहरूले बर्सेनि ठूलो क्षति पुर्याउँदै आइरहेका बेला विज्ञहरूले चुरे मुहान भएर बग्ने नदीहरूले पुर्याउने क्षति न्यूनीकरणका लागि नदी बहावको प्रकृति र भौगोलिक अवस्थाको विश्लेषण गरी विपद् व्यवस्थापन योजना बनाउनुपर्ने सुझाव दिएका छन्।
विपद् विज्ञ डा.गंगालाल तुलाधरले मोहना नदी नियन्त्रणका लागि लगाइएको तटबन्धलगायतका कामहरू विज्ञानअनुसार हुन नसकेको टिप्पणी गरे। ‘सिभिल इन्जिनियरिङका विज्ञ, विपद् व्यवस्थापनका विज्ञहरू र भुगर्वविद्हरु पनि संलग्न भएर काम गर्ने कुराको अभाव भएको देखिन्छ,’ उनी भन्छन्, ‘विज्ञानमा आधारित विपद् जोखिम संवेदनशील पक्षलाई आत्मसात् गरेर अघि बढ्न सकिएन भने विकासको गति एकातिर जाने र विपद्को गति अर्कोतिर हुने एवं सम्पूर्ण रूपमा विकासका सबै संरचनाहरु ध्वस्त हुने वा हामी कहीँ पनि नपुग्ने हुन्छ।’
उनले मोहनामात्रै होइन अन्य सयौँ नदीहरूले यस्तो समस्या निम्त्याएको बताए। ‘मोहना जलाधार क्षेत्रमा भारी वर्षा भएको र वर्षा कम भएको बेलाको पानीको मापन गरेर स्थायी तटबन्ध वा दिगो समाधानका उपायहरू खोज्नुपर्ने हो,’ उनले भने, ‘तर त्यहाँ सरकारका साधन र स्रोतहरू धेरै नै खर्च भएको छ फेरि पनि परिणाम सकारात्मक आउन सकेको छैन।’
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले चुरे क्षेत्रको कमजोर संरचना वन विनाश, जलवायु परिर्वतनको असर तथा चुरेबाट बग्ने नदीको संरचना विश्लेषण गरेर मात्रै योजना बनाउँदा समस्याको दीर्घकालीन समाधान निकाल्न सकिने बताए।
‘मोहना नदी चुरेबाट बग्ने नदी भएको हुनाले यसले लिने धारको प्रकृति हेर्दा चुरेको संरचना हेर्नुपर्ने हुन्छ, चुरेबाट बग्ने नदीहरू नागबेली जसरी बग्छन्,’ उनले भने, ‘नदीको धार परिर्वतन हुनुमा जलाधार कति ठूलो छ भन्ने कुराले अर्थ राख्छ, मोहना नदीको जलाधार ठूलो छ। धेरैजसो नदी सिस्टमहरू मोहनामा गएर मिसिन्छन्।’
गोदाबरी, मछेलीलगायत साना नदीहरू पनि मोहना नदीमा गएर मिसिने भन्दै उनले वर्षायाममा खहरेखोलाहरू बढी खतरनाक हुने बताए। ती खहरेखोलाहरू एकैठाउँमा मिसिँदा त्यसले ढुंगा बालुवाहरू बढी ल्याउने भएकाले नदी तटीय क्षेत्रमा बनेका संरचनाहरूलाई चाप हुने र त्यहाँका संरचनाहरू पनि भत्काइदिने उनको भनाइ छ।
‘त्यसैले त्यस क्षेत्रमा नदी बहावको प्रकृति सुहाउँदो संरचनाको विकास नभएको हो कि भन्ने पनि देखिन्छ, नदीको धार परिर्वतनका कारण कृषिजन्य भूभागमा क्षति पुग्ने र वस्तीहरूलाई टापुको रुपमा निर्माण गरिदिने हुन्छ,’ उनी भन्छन्, ‘मोहना नदीको बहावको संरचना विश्लेषण गर्दा गोदावरीको नदी किनारमा बन्न लागेको प्रदेशको राजधानीको संरचना पनि जोखिममा पर्ने सम्भावना देखाएको छ।’
गाउँपालिकाले हौसलपुर र मोहनपुर जोड्ने मोहना नदीमा झोलुंगे पुल निर्माणका लागि संघीय सरकारसँग माग गरेको छ। स्थानीयले पनि पुल निर्माण गरिँदैछ भन्ने सुन्न थालेको धेरै भइसक्यो तर पुल निर्माणको काम थालनीसमेत भएको छैन।
उनीहरू हिउँदको समयमा काठको साँघु बनाएर मोहना नदी तर्ने गर्छन् । नदीमा पानीको बहाव बढेपछि जलमग्न हुन्छ अनि उनीहरूको नेपालसँगको सम्पर्क विच्छेद हुन्छ। मोहनपुरवासी भारतीय सीमा क्षेत्रको जंगलमा गएर ज्यान जोगाउन बाध्य हुने गर्छन्।
भारतको उत्तरप्रदेशसँग सीमा जोडिएको हौसलपुर र मोहनपुरलाई मोहना नदीले अलग बनाएको छ। मोहना नदीको कटानका कारण मोहनपुर एउटा भिन्नै टापुको रूपमा रहेको छ।
मनसुनको समयमा चुरे क्षेत्र मुहान रहेका नदीहरूमा बाढी आउँदा कैलालीमा हरेक वर्ष ठूलो क्षति हुने गरेको छ।