एसीसी प्रिमियर कप

मैदानबाट उठेन त्रिपाल, फाइनल मंगलबार पनि जारी रहने

हिमाल प्रेस १८ वैशाख २०८० १५:५६
54
SHARES
मैदानबाट उठेन त्रिपाल, फाइनल मंगलबार पनि जारी रहने

काठमाडौँ- झरी नरोकिएपछि एसीसी प्रिमियर कपको फाइनल सोमबार नसकिने निश्चित भएको छ। अब बाँकी खेल मंगलबार हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा दिउँसो ३ः३० बजेसम्म पनि झरी नरोकिएपछि नेपाल र संयुक्त अरब इमिरेट्स यूएई रिजर्भ डे (मंगलबार) का दिन आमनेसामने हुने भएका हुन्।

खेल स्थगित हुँदा यूएई २७.३ ओभरमा १०६/९ को स्थितिमा छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मंगलबार ठ्याक्कै यही स्थितिबाट खेल सुरु हुनेछ।

एसोसिएट क्रिकेटका दुई प्रतिद्वन्द्वीबीचको खेल झरीका कारण दुई पटक रोकिएको थियो। बिहान १०ः२५ मा खेल रोकिँदा यूएई १६ औँ ओभरमा ६०-५ को स्थितिमा थियो। करिब २५ मिनेटपछि खेलाडी मैदानमा फर्किए। तर ११ः५० मा झरी फर्किएपछि पिच दोस्रो पटक छोपियो। त्यसपछि झरीले पिचलाई छोप्न लगाइएको त्रिपाल उठाउने मौका दिएन।

टस जितेर बलिङको निर्णय गरेको नेपालले सुरुबाटै यूएईलाई दबाबमा राख्यो। नेपाली बलरहरू चम्किएको खेलमा ललित राजवंशीले पाँच रन खर्चिएर तीन विकेट हात पारेका थिए। खासमा उनी ह्याट्रिक नजिक थिए। २८ औँ ओभरको दोस्रो बलमा आशिफ खानको विकेट लिएका ललितले तेस्रो बलमा जाहुर खानलाई आउट गरेका थिए।  झरीका कारण ललितले चाैथाे बल गर्नै पाएनन्।

त्यसअघि नेपालले चौथो ओभरमा पहिलो विकेट लिएको थियो। दोस्रो ओभर बलिङ गर्न फर्किएका सोमपाल कामीले ओपनर मोहम्मद वासिमलाई ललित राजवंशीमार्फत क्याच गराए। वासिमले ११ रन मात्र बनाउन सके। त्यसपछि यूएईले लगातार विकेट गुमाइरह्यो। पाँचौँ ओभरमा भृत्य अरबिन्द (८) र नवौँ ओभरमा अर्का ओपनर आर्यन लक्रा (१३) आउट भए। यी दुवैको विकेट करण केसीलेले लिए।

त्यसअघि भीम शार्कीले आठौँ ओभरमा क्याच छाडेपछि लाक्राले जीवनदान पाएका थिए। तर लाक्राको पुनर्जीवनले धेरै समय निरन्तरता पाएन। नवौँ ओभरको पहिलो बलमै उनलाई करण केसीले आरिफ शेखमार्फत क्याच आउट गराए।

विकेट लिनेको सूचीमा ललित १० औँ ओभरमा थपिए। उनले आफ्नो दोस्रो बलिङ ओभरको पहिलो बलमै रमिज शाहजादलाई पभेलियन फर्काइदिए। पाँच बलमा एक रन बनाएका शाजादलाई गुल्शन झाले क्याच आउट गरेका थिए।

१० ओभरको समाप्तिमा ३५/४ को स्थितिमा रहेको यूएईलाई रोहन मुस्ताफा र आशिफ खानको जोडीले सम्हाल्ने अनुमान गरिएको थियो। तर मुस्ताफा दुई रनमै समेटिए। उनी सन्दीप लामिछानेको बलिङको सिकार बने। आशिफ खानले भने ४६ रन बनाए। उनी २८ औँ ओभरमा ललितको बलमा पभेलियन फर्किए।

प्रकाशित: १८ वैशाख २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =