प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन्। नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेज कुमाल नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा आफू रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
‘सानो संख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका छ। यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठूलो छ,’ उनले भने।
अल्पसंख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको उनले स्पष्ट पारे। सो भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाललगायत सहभागी थिए।



