नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा ‘जवाफदेहिता निगरानी समिति’को समर्थन

हिमाल प्रेस २८ वैशाख २०८० १८:४१ | Thursday, May 11, 2023
नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा ‘जवाफदेहिता निगरानी समिति’को समर्थन नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजिएको भन्दै सरकारलाई दबाब दिन नागरिक समाजले काठमाडौँमा गरेको प्रदर्शन। फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको छानबिनप्रति ‘जवाफदेहिता निगरानी समिति’ले समर्थन गरेको छ। समितिले बिहीबार विज्ञप्ति निकाल्दै छानबिन प्रक्रियाको स्वागत एवं समर्थन रहेको बताएको हो।

‘राजनीतिक एवं प्रशासनिक संलग्नता, संरक्षण एवं प्रभावमा ठूलो रकम ठगी गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने संगठित अपराधमा सक्रिय गिरोहविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ अगाडि बढाएको छानबिन तथा अनुसन्धान प्रक्रियालाई समिति हार्दिक स्वागत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नक्कली शरणार्थी प्रकरणले विगत लामो समयदेखि राजनीतिक संरक्षणमा मुलुकभित्र भ्रष्टाचार, संगठित अपराध र कुशासनको दुष्चक्र मौलाएको उजागर गरेको समितिले उल्लेख गरेको छ।

सत्ताको दुरुपयोग गरी नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने कार्य मानव तस्करी, ठगी र भ्रष्टाचारजन्य अपराध रहेको समितिको भनाइ छ।

सो कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले अगाडि बढाएको छानबिनले जनसमुदायमा कानुनी शासनप्रति आशा र विश्वास जागएको समितिले बताएको छ। ‘नक्कली भुटानी शरणार्थी प्रकरण ठगीसम्बन्धी अपराध मात्रै नभएर राज्यशक्तिको चरम दुरुपयोग, मानव तस्करी एवं देश र जनताविरुद्ध गरिएको निकृष्ट विश्वासघात एवं संगठित योजनाबद्ध अपराध हो,’ समितिले विज्ञप्तिमा भनेको छ।

उक्त प्रकरणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कुनै पनि राजनीतिक दबाब, प्रभाव वा चलखेलमा नफसी उच्च मनोबलका साथ स्वच्छ, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरिनुपर्ने समितिको माग छ। ‘कानुनी शासन, मानवअधिकार र न्याय प्रवद्र्धनतर्फका हरेक प्रयत्नलाई जवाफदेहिता निगरानी समिति खुलेर समर्थन गर्दछ,’ विज्ञप्तिमा थप भनिएको छ।

यस प्रकरणमा अन्तर्राष्ट्रिय चासोसमेत रहेकाले सरकारले र नेपाल प्रहरीले कानुनभन्दा माथि कोही नरहेको वास्तविकता स्थापित गर्नुपर्ने समितिको भनाइ छ।

‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’ [तस्बिरहरू]

प्रकाशित: २८ वैशाख २०८० १८:४१ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast