‘छाउपडी प्रथा अन्त्य’को सन्देश बोकेर सगरमाथाको चुचुरोमा

हिमाल प्रेस १६ जेठ २०८० ९:४५ | Tuesday, May 30, 2023
‘छाउपडी प्रथा अन्त्य’को सन्देश बोकेर सगरमाथाको चुचुरोमा

बझाङ- साइपाल गाउँपालिका–४ धुलीकी संगीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। २६ वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरेकी हुन्।

सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरेकी थिइन्। बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन्।

उनी जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन्। वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए। ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ,’ उनी भन्छिन्।
‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन्।

रोकायाले २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल ९सात हजार ३१ मिटर० आरोहणको प्रयास गरेकी थिइन्। टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए। तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन्। साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो।

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन। ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन,’ उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्‍यो।’

मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो। उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न संघसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे।’

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताए। सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख खर्च लागेको उनले बताइन्। रासस

प्रकाशित: १६ जेठ २०८० ९:४५ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast