काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमै पाउने वातावरण सरकारले बनाउनुपर्ने माग गरेका छन्।
आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा उनले उक्त माग गरेका हुन्। अहिले पनि पुरानै मानसिकताका आधारमा शिक्षा ऐनहरू बनिरहेकाले समयानुकुल बनाउनुपर्ने उनले बताए।
नेपाली विद्यार्थीको आवश्यकताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरू विदेश जाने क्रम बढेको उनको भनाइ थियो। उनले एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने बताए।
अध्यक्ष पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रियस्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताए। त्यस्तै राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताएकी छिन्। विदेश जाने क्रम रोक्न नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने उनको भनाइ थियो।
यस्तै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले नीतिगत रूपमा संघीय शिक्षा ऐन ल्याए पनि शिक्षाका समस्या समाधान नहुने बताए।
‘शिक्षा ऐन ल्याउँदैमा शिक्षाका समस्या समाधान हुँदैन। यसले शिक्षाको अधिकार बाँडफााडलाई केन्द्रमा राखेको छ। गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयको पाठ्यक्रमलाई समयानुकुल परिमार्जन गर्दै लान आवश्यक छ। नयाँ विश्वविद्यालय खोल्दैमा पनि विद्यार्थी नेपालमा अड्याउन सकिने अवस्था छैन,’ उनले भने।
अहिले शिक्षामा भएको लगानी बालुवामा पानी हाले सरह भएको उनको भनाइ छ।