इटहरी- इटहरी उपमहानगरपालिकाको क्षेत्रभित्र धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद अझै सुल्झिएको छैन। आइतबार दिउँसो मेयर साम्पाङले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकार भित्र राखिएको बोर्ड युवा संघ इटहरीले हटाएको थियो।
युवा संघले बोर्ड हटाएपछि मेयर साम्पाङले समाजिक सञ्जालमार्फत कारबाही गर्ने उजुरी दिने प्रतिक्रिया दिएका थिए। त्यसपछि इटहरी उपमहानगरपालिकाले बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही गर्न नसक्ने बताउँदै जिल्ला प्रशासनमा पत्र पठाएको छ।
इटहरीका मेयर हेमकर्ण पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पत्र लेख्दै बोर्ड हटाएको विषयमा युवा संघ इटहरीमा आबद्ध कोही कसैलाई कारबाही नगर्न माग गरेका छन्। ‘यदि कारबाही गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना धरानका मेयर साम्पाङ र कारबाही गर्ने निकायले बेर्होनुपर्नेछ,’ पत्रमा भनिएको छ।
जिल्ला प्रशासनलाई पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पनि पठाइएको छ। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवम् सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पनि बोधार्थ पठाइएको छ।
सीमा विवादलाई वार्तामार्फत समाधान गर्न इटहरीका मेयर पौडेलले धरानका मेयर साम्पाङलाई आग्रह समेत गरेका छन्। ‘संवेदनशील र गम्भीर विषयलाई अन्तरपालिकाको साझा समस्याहरू आपसी संवाद, सहमति र सहकार्यबाट गर्न इटहरी तयार छ,’ पौडेलले भनेका छन्।
उनले २०१० साल भन्दा अगाडिबाट इटहरीकोे सीमासेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न सुझाउँदै इटहरी र धरानका नागरिकबीच कुनै पनि किसिमको कलह, द्वन्द्व, द्धैष, बैमनश्यता र मतभेद सिर्जना हुने किसिमका कार्य नगर्न/नगराउन आग्रह गरेका छन्। मेयर पौडेलले धरानका मेयर साम्पाङलाई धैर्य भएर अगाडि बढ्न समेत सुझाव दिएका छन्।
सीमासम्बन्धी हेर्ने सम्बन्धित निकायसँगको सहकार्यमा वार्तामार्फत समाधान गर्न आग्रह गर्दै पौडेलले यसलाई जिम्मेवार व्यक्ति र अन्य नागरिकहरूलाई पनि धैर्य हुन आग्रह गरेका छन्।