भारतीय संसद्‌मा राखिएको नयाँ नक्साबारे छिमेकीले बुझिसके : परराष्ट्रमन्त्री जयशंकर

हिमाल प्रेस २५ जेठ २०८० १९:१३
196
SHARES

काठमाडौँ- भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकरूले कुरा बुझिसकेको र यसमा अब कुनै समस्या नरहेको बताका छन्। उनले यसबारे नेपाल र बंगलादेशसँग विवाद नरहेको पनि बताए। भारतको नयाँ संसद् भवनभित्र भित्तामा राखिएको नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै विरोध भइरहेको छ।

भारतीय संसद् भवनमा राखिएको नयाँ नक्सालाई लिएर नेपालको संसद्‌मा समेत उठिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणमा यो विषय नउठाएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेको थियो।

भारतीय परराष्ट्रमन्त्री जयशंकरले यस विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको जानकारी बिहीबार दिएका हुन्। नरेन्द्र मोदीको नेतृत्वको सरकारको ९ वर्ष भएको अवसरमा परराष्ट्रमन्त्रीले  नयाँ नक्साको प्रसंग उठाएका थिए।

‘छिमेकी मुलुकहरूले यो विषय बुझिसकेका भन्ने मलाई लागेको छ । यसमा कुनै ठूलो कुरा छैन’, सञ्चारकर्मीको प्रश्नमा जयशंकरले भने, ‘मलाई जानकारी भएसम्म उनीहरूले यो विषयलाई बुझिसकेका छन्। तस्बिरको मुनि  सम्राट् अशोकको  समय उल्लेख छ। ’

भारतीय परराष्ट्रमन्त्रीले पाकिस्तानको विषय भने यसमा फरक रहेको पनि बताए। यस मामिलामा पाकिस्तानले बुझ्नेछ भन्ने आशासमेत नभएको बताए । ‘पाकिस्तानका विषयमा हामी स्पष्ट छौँ। यो खाली सरकारको मात्रै होइन, पूरै मुलुक र संसद्को स्ट्यान्ड हो। यसमा परिवर्तन गर्नेको गुन्जायस छैन।’

आफ्नो भूमि भारतीय नक्सामा देखेपछि बंगलादेशमा पनि विरोध भएको थियो। बंगलादेशले त नयाँदिल्लीस्थित आफ्नो नियोगलाई भारतीय परराष्ट्र मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ। बंगलादेश सरकारले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको औपचारिक जानकारी आमजनतालाई दिएको छ।

प्रकाशित: २५ जेठ २०८० १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =