फ्लाई दुबईमा देखिएको समस्या के हो? यस्ताे अवस्थामा देखिन्छ विमानमा आगो

हिमाल प्रेस १२ वैशाख २०८० १७:३२
10
SHARES
फ्लाई दुबईमा देखिएको समस्या के हो? यस्ताे अवस्थामा देखिन्छ विमानमा आगो फाइल तस्बिर।

काठमाडौँ- सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानको इन्जिनमा खराबी देखियो।

विमानस्थलबाट उडान गरेलगत्तै एफजेड ५७६ उडान नम्बरको बोइङ ७३७–८०० विमानको इन्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो। सो सन्दर्भमा विभिन्न हल्लाहरू आइरहेका छन्।

नियामक निकाय नागरिक उड्डयन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे औपचारिक जानकारी गराएका छैनन्। दुबईको ‘गभर्मेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले ट्वीटरमार्फत विमानमा चरा ठोक्किएको दाबी गरेको छ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा नठोक्किएको दाबी गर्दै दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्क्रिय बनाएको छ।

विमानमा आगो देखिने अवस्था

लामो समय विमानको मर्मतसम्बन्धी काम गरेका इन्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको विमानको घटना सामान्य प्राविधिक समस्या मात्रै भएको बताए। यस किसिमको घटना विगतमा पनि हुने गरेको उनको अनुभव छ। ‘फ्लाई दुबईको विमानमा भएकोजस्तो घटना सामान्य हो,’ उनले भने, ‘यसमा आत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेका थिए।’
विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिएको उनको भनाइ थियो।

तर, फ्लाई दुबईको विमानमा भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आएको घटना भएकाले अनुसन्धान नगरी थप बोल्न नमिल्ने श्रेष्ठको भनाइ छ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार कुनै पनि विमानमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ।

त्यसअनुरूप ‘चेकलिस्ट फलो गरिन्छ। त्यसपछि सबै सामान्य भएपछि मात्रै अपरेटिङ गरिन्छ। ‘विमानको इन्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ,’ ती पाइलटले भने, ‘यदि चरा छिरेको रहेछ भने पनि त्यो आगो भएर बाहिर निस्कन्छ। पाइलटले सबै उपकरण जाँच गरेर ठिक छ भनेपछि मात्रै विमान उडाउने निर्णय लिइन्छ।’

निगमका ती वरिष्ठ पाइलटका अनुसार विमानको इन्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ। पहिलो चरा वा कुनै पनि सामान इन्जिनभित्र पसेमा, अर्को विमानको इन्जिनको ‘कम्प्रेसर स्टल’ भएर वा इन्जिनकै प्राविधिक समस्या भएर।

इन्जिनियर श्रेष्ठ इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आएको देखिने बताउँछन्।

उनका अनुसार विमानको इन्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोटको आवाज आउँछ। ‘सानो कागजमात्रै पनि इन्जिनमा परेमा पड्किन्छ।

कम्प्रेसरबाट हावा आवश्यकताअनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ,’ श्रेष्ठले भने, ‘विमान उड्नेवित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा विमान ‘थर्थराउछ’ र पूरै हल्लिन्छ।’

यस्तो अवस्थामा इन्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने श्रेष्ठको भनाइ छ। हावा र इन्धनको अनुपात नमिलेका कारण पनि विष्फोटको आवाज आउने विज्ञहरूको भनाइ छ।

विज्ञका अनुसार विमानको इन्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ। आगोले नै इन्जिनलाई ऊर्जा दिनु सामान्य कुरा हो।सोमबारको घटनामा विमानका सबै इन्डिकेटरले सामान्य अवस्था देखाएकाले विमान गन्तव्यतिर लगिएको थियो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को म्यानुअलअनुसार सोमबारको घटनाको अनुसन्धान हुनुपर्ने जानकारहरूको भनाइ छ।

-सिबी अधिकारी (रासस)

प्रकाशित: १२ वैशाख २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =