प्रिमियर कपमा यूएई र ओमानको जित

हिमाल प्रेस १० वैशाख २०८० १७:४७
8
SHARES
प्रिमियर कपमा यूएई र ओमानको जित

काठमाडौँ- एसीसी प्रिमियर कपमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान विजयी भएका छन्। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यूएईले सिंगापुरलाई २०१ रनले पन्छायो। मूलपानीमा भने ओमानले मलेसियामाथि आठ विकेटको जित हात पार्‍यो।

प्रिमियर कपमा यूएईले दोस्रो खेल जितेको हो। कुवेतलाई पराजित गरेर प्रिमियर कपमा विजयी सुरुवात गरेको यूएई गत शुक्रबार हङकङसँग हारेको थियो। तीन खेलबाट चार अंक बटुलेको यूएई समूह ‘बी’ को दोस्रो स्थानमा छ। शीर्षस्थानमा हङकङ छ। अपराजित हङकङसँग चार अंक छ र रनरेटमा यूएईभन्दा अघि रहँदै शीर्षस्थानमा रहेको हो।

मलेसियालाई पराजित गरेको ओमान चार अंक जम्मा गरेर समूह बी को दोस्रो स्थानमा छ। पहिलो स्थान नेपालले ओगटेको छ। अपराजित नेपालले दुई खेल र ओमानले तीन खेलबाट चार–चार अंक बटुलेका छन्। मलेसिया तीन खेलबाट दुई अंक जम्मा गर्दै तेस्रो स्थानमा छ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ४७१ रनको योगफल तयार पारेको थियो। कीर्तिपुरको मैदानमा बनेको यो सर्वाधिक ठूलो योगफल हो। यूएईका लागि वृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले शतक प्रहार गरेका थिए। विशाल योगफल पछ्याएको सिंगापुरले नौ विकेटको क्षतिमा २७० रन बनाउन सक्यो।

अरविन्दले १३३ बल सामना गरेर १७४ रन जोडेका थिए। जसमा सात छक्का र १७ चौका सम्मिलित थिए। उनको करियरको यो तेस्रो शतक हो। उनले नामिबियाविरुद्ध ११५ रन, अमेरिकाविरुद्ध १०२ रन बनाएका थिए।

विजयी टिमका कप्तान तथा ओपनर वासिमले १६ छक्का र नौ चौकाको मद्दतमा १६० रन बनाए। उनले करियरको दोस्रो शतक प्रहार गरेका हुन्। यसअघि उनले नेपालमै लिग–२ अन्तगर्तको शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ११९ रन बनाएको।

सिंगापुरका लागि मनप्रित सिंह र थिलीपान ओमाइदुराई अर्धशतक बनाए। मनप्रितले ६४ बलमा ६६ र ओमाइदुराईले ५६ बलमा ५२ रन जोडे। त्यसैगरी कप्तान अरित्रा दत्त र सुरेन्द्रन चन्द्रमोहनले ३८–३८ रनको योगदान गरे।

बलिङतर्फ सिंगापुरका आयान अफ्जाल खान, कार्थिक मोइयाप्पान र संचित शर्माले दुई–दुई विकेट हात पारे। त्यसैगरी जुनैद सिद्दिकी, रोहन मुस्ताफा र जाहुर खानको नाममा एक–एक विकट रह्यो।

मलेसियालाई पराजित गर्न ओमानले सन्तुलित गर्‍यो। मलेसियाले निर्धारित ५० ओभरमा २२७ रन बनाउँदा ओमानका कप्तान जिशान मक्सुदले ३५ रन खर्चिएर चार विकेट लिए। ओमानले ४१.४ ओभरमा दुई विकेट मात्र गुमाएर लक्ष्य पूरा गरेको थियो।

ओमानको जितमा जतिन्दर सिंहले अविजित शतक बनाए बने काश्याप प्रजापति र मक्सुदले अर्धशतकको योगदान गरे। जतिन्दरले १११ बलमा १०१ रन बनाउँदा एक छक्का र १२ चौका प्रहार गरे। प्रजापतिको नाममा ६६ रन रह्यो। ६९ बल सामना गरेका उनले एक छक्का र नौ चौका हिर्काए। नटआउट रहेका कप्तान मक्सुदले ५८ बलमा ५२ रन बटुले।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाका विरनदीप सिंहले बनाएको ९४ रन सर्वाधिक ठूलो स्कोर रह्यो। १४४ बल सामना गर्दा ओपनर सिंहले १३ चौका प्रहार गरे। त्यसैगरी मध्यक्रमका मोहम्मद श्याहादतले ५५ रन बनाउँदा मोहम्मद आमिरले २० र सैयद अजिजले १८ रनको योगदान गरे। बाँकी ब्याट्सम्यानले भने उल्लेखनीय योगदान गर्न सकेनन्।

प्रकाशित: १० वैशाख २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =